बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बंगलादेशको आन्दोलनलाई नेपालका विद्यार्थी नेताले कसरी हेरेका छन् ?

बुधबार, २३ साउन २०८१, १६ : ०८
बुधबार, २३ साउन २०८१

काठमाडौँ । सरकारी जागिरमा आरक्षण प्रणालीको विरोध गर्दै बंगलादेशमा दुई महिनादेखि जारी विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भइन् । सन् २००९ देखि लगातार सत्तामा रहेकी हसिनाले विद्यार्थीका सामान्य मागलाई सम्बोधन नगरी दमनमार्फत आन्दोलनलाई तह लगाउन खोज्दा ठुलो मूल्य चुकाउनु पर्‍यो ।

अन्ततः उनको सत्तामात्र गुमेन, देश नै छाडेर भागिन् । तीन सयभन्दा बढी विद्यार्थीले अनाहकमा ज्यान गुमाएका छन् । पछिल्लो विद्यार्थी आन्दोलनमाथि विवेकको राजनीति गर्न नसक्दा हसिना युगको दुःखद् अन्त्य भएको टिप्पणी भइरहेको छ ।

बंगलादेशमा भएको विद्यार्थी आन्दोलन र त्यसको परिणामको प्रभाव बिस्तारै नेपालमा पनि पर्न सक्नेतर्फ सरकार र राज्य सञ्चालनमा बसेकालाई नेपालका विद्यार्थी नेताहरूले सचेत गराएका छन् ।

बंगलादेशमा भइरहेको विद्यार्थी आन्दोलन, हसिना युगको अन्त्य र नेपालमा त्यसको प्रभावबारे प्रमुख विद्यार्थी संगठनले कसरी हेरेका छन् ? सोही विषयमा रातोपाटीले नेविसंघका सभापति दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र एकीकृत  समाजवादी निकट अनेरास्ववियूकी अध्यक्ष आरती लामासँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीहरूसँग गरिएको कुराकानीको सम्पादित अंशः

शासकले आफ्नो चिहान आफैँ खने : दुजाङ शेर्पा

बंगलादेश स्वतन्त्र भएको ४० वर्ष भइसक्यो । ३० वर्षभन्दा बढी शेख हसिनाका परिवार तथा स्वतन्त्रताको लडाइँमा सहयोग गरेका योद्धाका परिवारलाई मात्रै सरकारी आरक्षण दिएको थियो । सोही विषयमा शान्तिपूर्ण ढंगले त्यहाँका विद्यार्थीले आन्दोलन गर्दा प्रहरीले दमन गर्‍यो । विद्यार्थीको मागलाई जसरी नजरअन्दाज गरियो, शासकले आफ्नो चिहान आफैँ खनेको हो ।

नेपालमा भन्दा बढी हिंसात्मक आन्दोलन बंगलादेशमा हुन्छ । त्यहाँको सरकारले विपक्षीलाई एकदम दबाएर राखेको थियो । त्यहाँको विद्यार्थीको समर्थनमा हामीले वक्तव्य पनि निकालेका थियौँ । नेपालमा पनि हामीले जायज माग उठाएका थियौँ । सरकारले समयमै ध्यान पुर्‍याउन सकेन भने खतरा यहाँ पनि हुन सक्छ ।

अर्थतन्त्र सुधार्न राम्रो काम गरिन्, विद्यार्थीको सामान्य मागमा चुकिन् : समिक बडाल

बंगलादेशको विद्यार्थी आन्दोलनले युवा लक्षित मुद्दाहरूमा राज्य समवेदनशील भएन भने दक्षिण एशियाका युवाहरू कसरी जाग्छन् भन्ने सन्देश दिएको छ ।

तर पछिल्लो समय ४० वर्षभन्दा बढी आरक्षणको नाममा शेख हसिनाले जसरी विवेक पुर्‍याउन सकिनन्, त्यसमा दरार पैदा भयो । त्यसका विरुद्ध विद्यार्थीले शान्तिपूर्ण ढङ्गले आन्दोलन अगाडि बढाइरहेको थियो । तर हसिनाले विद्यार्थी आन्दोलनलाई आतङ्ककारीको संज्ञा दिएर दमन गरिन्, त्यसले आन्दोलन चर्कियो ।

समयमै आन्दोलनको माग चिन्नुपर्छ भन्ने सन्देश यसले दिएको छ । यद्यपि सङ्कटग्रस्त आर्थतन्त्रलाई अहिलेको अवस्थासम्म ल्याउनमा लोकतान्त्रिक पार्टीको सकारात्मक योगदान छ । तर जति काम गर्नुपर्ने हो, त्यो गर्न नसक्दा यो स्थिति आयो । त्यो स्थिति नेपालमा नहोस् भन्नका लागि सरकार र राजनीतिक दलहरू सचेत हुनुपर्छ ।

विद्यार्थीको सामान्य माग बेवास्ता गर्दा दुःखद् परिणाम : पञ्चा सिंह

बंगलादेशको सरकारले विद्यार्थीलाई परेका समस्यामा बेलैमा सहजीकरण गर्न नगर्दा सत्ता नै गुमाउनुपर्‍यो । शासन सत्तामा बसेकाले नागरिकका आवाजलाई बेलैमा सम्बोधन गर्न गुर्नपर्छ भन्ने सन्देश यसले दिएको छ ।

सुशासन, पारदर्शी र जनतालाई सर्भिस डेलिभरी दिन नसके नेपालमा पनि त्यस्तो नहोला भन्न सकिँदैन । विद्यार्थीको सामान्य मागमा सरकारले बेवास्ता गर्दा हसिनालाई ठुलो धक्का लागेको छ ।

बंगलादेशको विद्यार्थी आन्दोलनले गतिलो झापड दिएको छ :  आरती लामा

हामीले बंगलादेशको विद्यार्थी आन्दोलनमा ऐक्यबद्धता नै जनाएका थियौँ । हसिना सरकार ढल्नु नै पर्ने भन्ने थियो, ढल्यो । त्यहाँको विद्यार्थी आन्दोलनले सबैलाई उत्साहित बनाएको छ । पछिल्लो समय विद्यार्थी संगठन आवश्यक छैन, आन्दोलनको औचित्य छैन भन्ने गरिन्थ्यो । बंगलादेशको विद्यार्थी आन्दोलनले गतिलो झापड दिएको छ । विद्यार्थी शक्ति के हो ? विद्यार्थीले के चाहन्छ भन्ने सन्देश बंगलादेशको विद्यार्थी आन्दोलनले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप