बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक : सन्न्यास फिर्ता लिएर फर्किएका क्युबाका खेलाडीले रचे इतिहास

बुधबार, २३ साउन २०८१, १२ : ३६
बुधबार, २३ साउन २०८१

काठमाडौँ । क्युबाका चर्चित कुस्ती खेलाडी हुन्, मिजाइन लोपेज । उमेरले उनी ४२ औँ वर्ष प्रवेशको सङ्घारमा छन् । यी पहलवान निकै निकै ठुलो उद्देश्य बोकेर फ्रान्सको पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिकमा सहभागी भएका थिए ।

बलियो आत्मविश्वास बोकेका क्युबाका यी कुस्ती खेलाडी अन्ततः आफ्नो लक्ष्यमा सफल पनि भएका छन् । उनले पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेर ओलम्पिक खेलकुदको इतिहासमा रचेका छन् । उनी लगातार पाँच वटा ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेका छन् ।

पेरिस ओलम्पिकमा उनले पुरुषतर्फको ग्रिको–रोमन स्पर्धाको एक सय ३० केजी तौल समूहमा स्वर्ण पदक चुमेका हुन् । उक्त स्पर्धामा चिलीका यास्मिन एकोस्टाले रजत तथा इरानका आमिन मिरजादेह र चीनका मेङ लिङझीले कांस्य जिते ।

ऐतिहासिक स्वर्ण पदक जितेपछि उनले आफ्नो जुत्ता म्याटमै छाडिदिएका थिए । त्यसपछि उनले घोषणा गरे, ‘आजदेखि मैले ग्रिको–रोमन कुस्ती प्रतियोगिताबाट सन्न्यास लिएको छु ।’ यसअघि कुनै पनि खेलाडीले लगातार पाँच वटा ओलम्पिकमा स्वर्ण पदक जित्न सकेको थिएन ।

यसअघि लोपेजसँगै एथलेटिक्सका कार्ल लुइस, पौडीको फाइनल फेल्प्स, पौडीकै केटी लेडेकी, डिस्कस थ्रोका अल ओर्टर, क्यानोइङका पर्ल एल्वस्ट्रोम र कुस्तीका काओरी इकोले संयुक्त रूपमा लगातार चार–चार पटक ओलम्पिकमा स्वर्ण पदक जितेका थिए ।

लोपेजले यसअघि नै सक्रिय खेल जीवनबाट सन्न्यास लिएका थिए । सन्न्यास लिएको तीन वर्षपछि उनी पुनः सक्रिय खेल जीवनमा फर्किएका थिए । लोपेजले हालसम्म ओलम्पिकमा कुल २३ वटा भिडन्त गरेका छन् । त्यसमध्ये केवल एक खेलमा उनी पराजित भएका छन् ।

लोपेज सन् २००४ मा सम्पन्न एथेन्स ओलम्पिकको क्वार्टर फाइनलमा पराजित भएका थिए । उनले सन् २००८ मा सम्पन्न बेइजिङ ओलम्पिकमा पहिलो पटक स्वर्ण जितेका थिए । त्यसपछि उनले सन् २०१२ को लन्डन ओलम्पिक, सन् २०१६ को रियो ओलम्पिक र सन् २०२० को जापान ओलम्पिकमा स्वर्ण पदक चुमेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप