बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सरोकार

अस्पतालमा लाइन व्यवस्थापनको अवस्था कहाँ पुग्यो ?

सेवाग्राही भन्छन्– अस्पतालको सिस्टम छैन, दुःख दिने काम भइरहेको छ
बुधबार, २३ साउन २०८१, १६ : ०७
बुधबार, २३ साउन २०८१

काठमाडौँ । दोलाखाकी मेनुका साताको दुई पटक आफ्नो पतिलाई लिएर राजधानीस्थित वीर अस्पताल पुग्ने गर्छिन् । उनका पति मिर्गौलाका बिरामी हुन् । वीर अस्पतालमा साताको दुई पटक डाइलासिस गराउन जानुपर्ने तर त्यहाँको सेवा भने प्रभावकारी नभएको मेनुकाको भनाइ छ ।

menuka

सरकारले विपन्न नागरिकलाई मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सस, स्पाइनल कर्ड इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमिया रोगको उपचारका लागि एक लाख रुपैयाँ सहयोगस्वरुप दिन्छ । सोही रकमबाट मेनुकाले आफ्नो पतिको मिर्गौला उपचार गराउँदै आएकी छन् ।

तर सरकारी अनुदान पाएर उपचारका लागि जाँदा अनेक झन्झट रहने मेनुकाको गुनासो छ । ‘वडाबाट सुविधा पाएका छौँ,’ उनले रातोपाटीसँग भनिन्, ‘हामीलाई दुःख दिने काम भइरहेको छ । माथिबाट छाप लगाएर आइज भन्छन्, एउटा कोठाबाट अर्को कोठा पठाउँछन्, उठ्न नसक्ने बिरामी लिएर कहाँकहाँ जानु ?’

मेनुकाले अस्पतालले दिएको समयमा डाइलासिस पनि नहुने बताइन् । ‘दिएको समयमा डाइलासिस हुँदैन । ११ बजेको समय दिए पनि १२ बजेपछि मात्रै डाइलासिस हुन्छ,’ उनले भनिन्, ‘साँझ घर जान समस्या हुन्छ । समय एउटै हुनुपर्छ ।’

maiya paudyal

वीर अस्पताल परिसरमा भेटिएकी ७० वर्षीय मैया पौडेलले छोरीलाई लाइनमा बसाएर आफू उपचारका लागि कुरिरहेको बताइन् । ‘सुगर जँचाउन आएको, छोरी लाइन बस्दैछ,’ उनले भनिन्, ‘मुटु जाँच, प्रेसर जाँच, दम जाँच गराउन आएको छु । मैलेमात्र होइन, लामो लाइनमा बस्दा अरूले पनि दुःख पाएका छन् ।’

सुदूरपश्चिमको कञ्चनपुर जिल्लाका हर्क बहादुर खाती पनि वीर अस्पतालमा उपचारका लागि तीन सातादेखि धाइरहेका छन् । उनी सुगर, कलेजो लगायतको उपचार गराउन आएका हुन् । ‘मान्छेको धेरै चाप छ, पालो पाउन मुस्किल नै हुन्छ,’ उनले भने, ‘जानेको मान्छेलाई कर्मचारीले सहज गरिदिन्छन् । उनीहरूलाई ठिक छ । हामीजस्तो वृद्धलाई उपचार गराउन समस्या छ । कुन दिन कुनको पालो हो भन्ने थाहा हुँदैन । धेरै ठाउँमा जानु पर्छ । बिरामी मान्छेलाई कठिनाइ छ ।’

chandrakala devkota

निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा भेटिएकी सिन्धुलीकी चन्द्रकला देवकोटाले अस्पतालमा कुनै सिस्टम नरहेको गुनासो गरिन् । गाउँमै विशेषज्ञ चिकित्सक भइदिएको भए यसरी सहरमा आफूहरूले दुःख पाउनु नपर्ने उनको भनाइ छ ।

निजामती कर्मचारी अस्पतालमै भेटिएका प्रदीप कुमार देवकोटाले उपचार महँगो भएको गुनासो गरे । ‘यो कमाउने ठाउँ रहेछ,’ उनले भने, ‘सामान्य उपचार गर्नका लागि २० देखि ५० हजार रुपैयाँ आवश्यक पर्छ ।’

amrit

अर्का सेवाग्राही अमृत भट्टराईले उपचारका लागि टिकट लिनै समस्या रहेको बताए । ‘टिकट काट्न लामो लाइन हुन्छ,’ उनले भने, ‘काउन्टर ४ वटा भए पनि एउटामात्रै खुल्छ । दुई वटा लाइन हुन्छ । ओभर ल्याप हुन्छ ।’

उनी ल्याब परीक्षणका लागि रगत जाँच गर्न जाँदा रसायन नरहेकाले परीक्षण ढिला हुने जवाफ पाएको बताउँछन् ।

beer

  • अस्पतालमा लाइन व्यवस्थापनको अवस्था कहाँ पुग्यो ?

स्वास्थ्य सेवा सुधारका लागि ९ बुँदे पत्र संघीय अस्पतालहरूलाई पठाइ भिड व्यवस्थापनको योजना अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । सेवाग्राहीको चाप न्यूनीकरण गर्न अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न, ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ अनुसार सेवा लागु गर्न, अस्पतालमा शय्या नपाइने अवस्थालाई अन्त्य गर्न व्यवस्थापकीय पक्ष बलियो बनाउन लगायत ९ बुँदे पत्र संघीय अस्पतालहरूलाई पठाइएको सचिवालय सदस्य दुर्गा घिमिरेले बताए ।

beer (3)

मन्त्रीले संघीय अस्पताललाई साउन ४ गते नौ बुँदे निर्देशन दिएका थिए । यही विषयमा साउन ११ गते देशभरका विभिन्न अस्पतालका प्रमुखसँग मन्त्रीले भर्चुअल छलफलसमेत गरेको घिमिरेको भनाइ छ ।

घिमिरेले अस्पतालहरूलाई स्वास्थ्य क्षेत्रमा सुधार गरेका विभिन्न पक्षलाई लिखित जानकारी गराउन आग्रहसमेत गरेको र ८ देखि १० अस्पतालले अपडेट पठाइरहेको बताए । केही अस्पतालले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरेको, केही अस्पतालमा विस्तारित सेवा लागु गरेको, चिकित्सकको राउन्ड, बिरामी भर्ना, डिस्चार्जमा समय व्यवस्थापन गरी सहजीकरण सुरु गरिएको उनको भनाइ छ ।

भिड व्यवस्थापनका लागि काम सुरु गरेको, काउन्टर थप गरेको, टोकन प्रणाली लागु गरेको, अनलाइन टिकट व्यवस्थापन गरेको, विद्युतीय भुक्तानी प्रणाली व्यवस्थित गरेको, अस्पतालको सेवा सम्बन्धी जानकारी प्राप्त गर्न कार्य सुरु गरेको र अस्पतालमा सोधपुछ तथा गुनासो सुन्ने कक्ष व्यवस्थित गरेको सचिवालय सदस्य घिमिरेको दाबी छ ।

यता अस्पतालले भने साधन स्रोत, भौतिक संरचना र जनशक्ति कम रहेको भन्दै यस्ता विषयलाई दीर्घकालीन योजना अन्तर्गत थप छलफल गरेर कार्यान्वयनमा जानुपर्ने देखिएको बताउने गरेका छन् ।

स्वास्थ्य क्षेत्र सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना तयार भइरहेको घिमिरेले बताए । अल्पकालीन र दीर्घकालीन योजनामा स्वास्थ्य बीमा, जनशक्ति, भौतिक संरचना लगायत विभिन्न विषय समेटिने घिमिरेले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप