अकुपङ्क्चर थेरापीको प्रभाव : सुईको वास्तविक अनुभूति
अकुपङ्क्चर थेरापीको इतिहास हजारौँ वर्ष पुरानो हो, जसमा विशेष अकुपङ्क्चर बिन्दुहरूमा सुई लगाएर र ‘मोक्सा’ उपचारमार्फत रोगको रोकथाम गर्ने उद्देश्य राखिन्छ ।
डब्लुएचओका अनुसार, एक सयभन्दा बढी रोगमा अकुपङ्क्चर उपचार राम्रो हुन्छ । तथ्याङ्क अनुसार आजको दिनसम्म एलर्जिक राइनाइटिस, टाउको दुखाइ, उच्च रक्तचाप, घुँडा दुखाइ, गर्धन दुखाइ, डिप्रेसन, माइग्रेन, महिलामा हुने महिनावारी समस्या, ढाड तथा कम्मरको दुखाइ, आमवात, प्यारालाइसिस, साइटिका, अप्रेसनपछि हुने दुखाइ, निसन्तान, बाँझोपनजस्ता २८ रोगमा अकुपङ्क्चर चिकित्सा पूर्ण लाभदायी हुने प्रमाणित भएको छ ।
त्यस्तै, ६३ रोगमा प्रमाणित भइनसकेको तर लाभदायी भएको र कुनै पनि प्याथीले ठिक नभएका नौवटा रोगमा अकुपङ्क्चर गर्दा मात्र केही रूपमा लक्षण कम भएको भन्ने भेटिन्छ । धेरै बिरामी अकुपङ्क्चरको उपचार प्रयास गर्न चाहन्छन्, तर सुई लगाउन डराउँछन् ।
सुई
अधिकांश बिरामीका लागि डाक्टरले विशेष बिन्दुहरूमा सुई लगाएर बिन्दुहरूको उत्तेजना गर्ने गर्छन्, जसमा विभिन्न तरिका (जस्तै : सुईलाई उठाउनु, घुसाउनु, मोड्नु, घुमाउनु) प्रयोग गरिन्छ, यसैलाई सामान्यतः अकुपङ्क्चर उपचार भनिन्छ ।
अक्सर बिरामीले सुई लगाउँदा छालामा अमिलोपन, झन्झनाहट, छाला फुल्ने, सुन्निने, भारीपना जस्ता अनुभव गर्छन् । केही व्यक्तिमा कमिलाको हिँडाइ वा टोकाइ तथा खुजलीजस्ता अनुभूति पनि हुन सक्छन् । साथै केही व्यक्तिले मांसपेशीको खिचाइ, कम्पनजस्ता प्रतिक्रिया पनि अनुभव गर्न सक्छन् । यी अनुभूतिलाई चिनियाँ उपचार पद्धतिको भाषामा ‘डी सेई’ भनिन्छ, जुन सुई लगाउँदा आउने सामान्य प्रतिक्रिया हो । चिनियाँ उपचार पद्धति अनुसार यो अनुभव नहुने हो भने चिकित्सा लाभदायी नहुने भन्ने पनि बुझिन्छ ।
सुई लगाउँदा दुखाइ धेरै हुँदैन । प्रायः छालालाई छेड्ने बेलामा मात्र ‘कमिलाले टोकेको’ जस्तो दुखाइ महसुस हुन्छ, तर यो दुखाइ सामान्यतया छिटै हराउँछ, सुई छालामा पसेको महसुस नगर्दै हराउँछ, त्यसैले अधिकांश बिरामीले दुखाइलाई विशेष रूपमा अनुभव गर्दैनन् ।
कुनै कुनै बिरामीले अलि धेरै दुखाइ अनुभव गर्छन्, जसको मुख्य कारण यी हुन् सक्छन् :
१) गलत आसनका कारण हुने दुखाइ : सुई लगाउँदा बिरामीको आसनमा परिवर्तन हुने तथा यताउति चल्नाले धेरै दुखाइ अनुभव हुन सक्छ ।
२) सुई लगाउँदा अधिक समय लगाउनु : छालामा केही लचिलोपन हुने भएकाले सुई छालामा छिटो प्रवेश गर्न सक्छ र दुखाइ हुँदैन । कहिलेकाहीँ सुईले छाला छेड्न अधिक समय लगाउँदा दुखाइ बढी हुने गर्छ ।
३) अत्यधिक मानसिक तनाव : अत्यधिक तनावले मांसपेशीको संकुचनलाई उत्प्रेरित गर्न सक्छ, जसले दुखाइ बढाउँछ ।
४) रौँको छिद्रमा सुई लगाउनु : रौँको छिद्रमा धेरै तन्तुहरू हुने भएकाले सुईले ती छिद्रलाई छोएका बेलामा दुखाइ बढी हुन्छ ।
५) रक्तनलीमा सुई लगाउनु : रक्तनलीलाई छोएका बेलामा दुखाइ हुन्छ र कहिलेकाहीँ रगत पनि अधिक मात्रामा निस्किन्छ ।
प्रारम्भिक अकुपङ्क्चरका लागि सुझाव :
डाक्टरका लागि
१) बिरामीलाई आरामदायी र स्थिर स्थितिमा राख्नुपर्छ ।
२) अनुभवी र कौशलयुक्त सुई लगाउने तरिका प्रयोग गर्नुपर्छ ।
- बिरामीका लागि
१) दक्ष अकुपङ्क्चर जनशक्तिसँग मात्र चिकित्सा गराउनुपर्छ, डाक्टरलाई विश्वास गर्नुपर्छ र शारीरिक र मानसिक रूपमा आरामदायी हुनुपर्छ ।
२) सुई लगाउने बेला आसनमा स्थिर रहनुपर्छ ।
अकुपङ्क्चर गर्दा प्रयोग गरिने सुई एकदम मसिनो र शरीरमा प्रयोग गर्नका लागि नै बनाइएको हुन्छ, जसले गर्दा अधिकांश व्यक्तिले सुई लगाउँदा महत्त्वपूर्ण दुखाइ अनुभव गर्दैनन् । यो उपचार प्रयास गर्न नडराउनुहोस् । अत्यधिक दुखाइ अनुभव हुन्छ भने तुरुन्तै डाक्टरसँग सल्लाह गर्नुहोस् ।
(लेखक अकुपङ्क्चर चिकित्सक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो
-
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?
-
कर्णाली याक्सबाट एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा
-
सूर्यदर्शन सहकारीको ऋण उठाउन समिति गठन