सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षा

कक्षा १० र १२ को नतिजामा सुदूरपश्चिम प्रदेश सधैँ पछाडि

शिक्षण सिकाइमाथि नै प्रश्न
बुधबार, २३ साउन २०८१, १४ : ३०
बुधबार, २३ साउन २०८१

काठमाडौँ । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर देखिएको छ । परीक्षा दिएकामध्ये ६० प्रतिशत विद्यार्थीको नतिजा ‘नन ग्रेडेड’ (एनजी) आएको छ ।

सुदूरपश्चिम प्रदेशबाट ३५ हजार ६२८ जनाले १२ कक्षाको परीक्षा दिएका थिए, जसमा १४ हजार ४६ जनामात्रै ‘ग्रेडेड’ अर्थात पास भएका छन् । २१ हजार ५८२ जना अर्थात् ६०.५७ प्रतिशत विद्यार्थीको नतिजा ‘एनजी’ आएको हो ।

बोर्डको तथ्याङ्क अनुसार सुदूरपश्चिमबाट ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थी सङ्ख्या १२१ जनामात्रै छ । जबकि देशभरबाट नौ हजार ५९१ विद्यार्थीले उक्त जीपीए ल्याएका छन् ।

३.६१ देखि ४.० जीपीए सबैभन्दा कम कर्णाली देखिएको छ । कर्णालीबाट २४ जनाले मात्रै उक्त जीपीए ल्याएका छन् । कर्णालीमा परीक्षा दिने विद्यार्थी नै कम भएकाले जीपीए पनि कम देखिएको हो ।

त्यसपछि मधेस प्रदेशमा २५० जना, गण्डकी प्रदेशमा ५४४ जना, कोशी प्रदेशमा ८५६ जना, लुम्बिनी प्रदेशमा १०४४ जना र सबैभन्दा बढी बागमती प्रदेशबाट ६ हजार ७५२ जनाले ३.६१ देखि ४.० जीपीए ल्याएका छन् ।

यसअघि कक्षा १० को नतिजामा समेत सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको थियो । परीक्षा दिएकामध्ये ३१ प्रतिशतले मात्रै ग्रेड प्राप्त गरेका थिए ।

१२ कक्षाको नतिजामा ५२.९१ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् भने ४७.१ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

कक्षा १२ मा तीन लाख ९० हजार ८६८ जनाले परीक्षा दिएकोमा दुई लाख तीन हजार ८४७ जना पास भएका छन् भने एक लाख ८७ हजार २१ जनाको नतिजा एनजी आएको छ ।

सुदूरपश्चिमपछि शिक्षण सिकाइमा कर्णाली कमजोर देखिएको छ । कर्णालीमा परीक्षा दिएकामध्ये ५९.२४ प्रतिशत विद्यार्थी फेल भएका छन् । कर्णालीमा २५ हजार ९२० जनाले परीक्षा दिएकोमा १५ हजार ३५७ जना फेल भएका हुन् ।

त्यसपछि कोशी प्रदेश कमजोर देखिएको छ । कोशीमा परीक्षा दिएकामध्ये ५५.६१ प्रतिशत फेल भएका छन् । त्यसपछि मधेसमा ५३.७४ प्रतिशत, लुम्बिनी प्रदेशमा ५२.२४ प्रतिशत, गण्डकीमा ४६.१९ र बागमतीमा ३२.८१ प्रतिशत फेल भएका छन् ।

बागमतीमा एक लाख १६ हजार २६२ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७८ हजार ११६ जना पास भएका छन् ।  

कक्षा १२ मा तीन लाख ९० हजार ८६८ जनाले परीक्षा दिएकोमा दुई लाख तीन हजार ८४७ जना पास भएका छन् भने एक लाख ८७ हजार २१ जनाको नतिजा एनजी आएको छ ।

कक्षा १२ को नतिजामा पास र फेल भएका विद्यार्थीको प्रदेशगत विवरण । (प्रतिशतमा)

1

  • एसईईको नतिजामा समेत सुदूरपश्चिम कमजोर

यसअघि गत असार १३ गते सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षाको नतिजामा समेत सुदूरपश्चिम प्रदेशको नतिजा निकै कमजोर देखिएको थियो ।

२०७९ सालको एसईईको नतिजामा सबैभन्दा कमजोर सुदूरपश्चिम नै देखिएको हो । नतिजाअनुसार कोशी प्रदेशबाट सहभागी कुल ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ जना परीक्षार्थी अनुत्तीर्ण भएका थिए ।

यसैगरी मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक्षार्थीमध्ये ४२ हजार २८६ जना, बागमती प्रदेशबाट ९९ हजार ८७२ जना परीक्षार्थीमध्ये ३३ हजार ८४३ जना अनुत्तीर्ण भएका थिए ।

गण्डकी प्रदेशबाट कुल ४० हजार ५२६ जना परीक्षार्थीमध्ये २० हजार २७५ जना, लुम्बिनीबाट ८० हजार ३२७ जना परीक्षार्थीमध्ये ४९ हजार २२४ जना फेल भएका थिए ।

कर्णालीबाट ३५ हजार ३४ जना परीक्षार्थीमध्ये २० हजार ३८० जना र सुदूरपश्चिमबाट ५३ हजार ४४६ जनामध्ये ३६ हजार ४१० जना अनुत्तीर्ण भएका थिए ।

एसईईको नतिजामा ३.६० देखि ४.० जीपीए ल्याउने विद्यार्थीमा समेत प्रदेशगत रूपमा सुदूरपश्चिम र कर्णाली कमजोर देखिएका छन् । कणालीबाट ४४१ जनाले मात्रै ३.६० देखि ४.० जीपीए ल्याएका थिए । सुदूरपश्चिमबाट ७९०, लुम्बिनीबाट तीन हजार २९०, गण्डकीबाट दुई हजार ९६९, बागमतीबाट १५ हजार ७६६, मधेस प्रदेशबाट तीन हजार ९५७ र कोशी प्रदेशबाट तीन हजार ९९६ जनाले ३.६० देखि ४.० जीपीए ल्याएका थिए ।

२०८० सालको एसईई नतिताको प्रदेशगत विवरण । (प्रतिशतमा)

2

  • किन भयो सुदूरपश्चिममा सिकाइ कमजोर ?

सुदूरपश्चिमको नतिजा कमजोर हुनुमा विभिन्न कारण छन् । नेपाल सरकारका पूर्वसचिव तथा भाषा आयोगका पूर्वअध्यक्ष डाक्टर लवदेव अवस्थीले राज्य प्रणालीको ध्यान नपुगेको बताए ।

‘राज्य प्रणालीको ध्यान पुगेन । शिक्षकको ध्यान पुगेन । हाम्रो ध्यान पुगेन । कक्षा कोठामा पठनपाठन हुनुपर्ने कुरा नै भएन । कक्षा कोठामा सहभागिता भएन । कतिपय ठाउँमा शिक्षक पुगेनन् । पुगेको ठाउँमा पनि पठनपाठन राम्रोसँग भएन,’ उनले भने ।

विकट क्षेत्रहरू भएकाले सबैको पहुँच तथा खबरदारी समेत नपुगेको उनको भनाइ छ । राज्य प्रणालीको प्राथमिकतामा समेत पर्न नसक्दा नतिजा कमजोर हुने गरेको उनको भनाइ छ । नतिजा सुधारका लागि स्थानीयसमेत जागरूक हुन नसकेको उनले बताए ।

अवस्थीका अनुसार सामाजिक सूचक र गरिबीका कारण समेत शिक्षाको नतिजा कमजोर देखिएको हो । ‘जुन क्षेत्रको सामाजिक सूचक राम्रो छ, त्यो क्षेत्रमा गरिबी छैन । जहाँ राम्रो छैन, त्यहाँ गरिबी व्याप्त छ । गरिबी हुनु भनेको पठनपाठनको दुरावस्था हुनु हो । यसको चक्र निरन्तर जारी रहन्छ,’ उनले भने ।  

‘भवन बनाउने, भौतिक पूर्वाधार बनाउने कुरा धेरै भयो । जबसम्म शिक्षक र विद्यार्थीलाई जोड्न सक्दैनौँ, तबसम्म केही हुँदैन,’ उनले भने ।

यसका लागि शिक्षक र सिकाइलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । शिक्षकलाई प्राथमिकता नराखिए यसको समाधान सम्भव नहुने उनको भनाइ छ ।

शिक्षकले किन पढाउन सकेनन् ? शिक्षकलाई के चाहियो ? त्यो विषयमा ध्यान दिन सकिएको बताउँदै त्यसका लागि सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने उनले बताए ।

‘भवन बनाउने, भौतिक पूर्वाधार बनाउने कुरा धेरै भयो । जबसम्म शिक्षक र विद्यार्थीलाई जोड्न सक्दैनौँ, तबसम्म केही हुँदैन,’ उनले भने ।

कक्षा १० र १२ को मात्र नभइ यसले उच्च शिक्षामा समेत कमजोर नतिजा देखाइरहेको बताउँदै अवस्थीले प्रदेशमै शिक्षाको समग्र अवस्था देखाउने बताए ।

माध्यमिक शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई छ । तर, सुक्ष्म तहको नीति निर्माण अधिकार स्थानीय तहलाई छैन । शिक्षक नियुक्त गर्ने, व्यवस्थापन गर्ने, पाठ्यक्रम तयार पार्नेजस्ता कार्य संघीय सरकारले नै गर्दै आएकाले यसको दायित्व संघीय सरकारकै हुने उनको भनाइ छ ।

अर्को कुरा मानसिकताका कारण समेत समस्या भइरहेको बताए । सुदूरपश्चिमको मान्छे आफैँमा पनि हीनताबोध रहेको बताउँदै त्यसले समेत असर गरिरहेको उनले बताए ।

‘म त सुदूरपश्चिमको हो मलाई केही पनि आउँदैन भन्ने मनसाय हुन्छ । पछाडि परेको भन्ने मानसिक रोगले समेत पछाडि परेको छ,’ उनले भने ।

‘शिक्षकहरूलाई तालिम दिने कार्यक्रम छ । त्यो तालिम सम्बन्धित ठाउँमा फोकस गरेर जान सकिने अवस्था छ । त्यस्तै अन्य केही कार्यक्रम छन्, जसले कमजोर नतिजालाई सुधार गर्न सकिन्छ,’ प्रवक्ता दाहालले भने ।

राज्यले कर्मचारी खटाउँदा समेत त्यही किसिमले खटाउँछ । राज्य प्रणालीको दृष्टिकोण समेत त्यस्तो खालको नरहेको अवस्थीको भनाइ छ । अब नतिजा सुधारका लागि समतामूलक ढङ्गबाट सोच्नुपर्ने उनले बताए । सबै प्रदेशमा एउटै दृष्टिकोणबाट सोच्दा र काम गर्दा नतिजामा सुधार गर्न नसकिने उनले प्रस्ट पारे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सह–सचिव केशव प्रसाद दाहालले नतिजा कमजोर देखिएको क्षेत्रका लागि भनेर छुट्टै कार्यक्रम नभएको बताए ।

देशभर नै समग्र एउटै प्रकृतिको शिक्षण सिकाइ कार्यक्रम लागू हुने गरेको बताउँदै उनले लक्षित क्षेत्रका लागि छुट्टै कार्यक्रम भने नरहेको बताए । नतिजा सुधारका लागि के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

‘शिक्षकहरूलाई तालिम दिने कार्यक्रम छ । त्यो तालिम सम्बन्धित ठाउँमा फोकस गरेर जान सकिने अवस्था छ । त्यस्तै अन्य केही कार्यक्रम छन्, जसले कमजोर नतिजालाई सुधार गर्न सकिन्छ,’ प्रवक्ता दाहालले भने ।

नतिजा कमजोर हुनुको कारण र यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले अध्ययन गर्न लागेको उनको भनाइ छ । नतिजाको विश्लेषण गरेपछि छलफल गरेर अगाडि बढ्ने उनले बताए ।

यसअघि कक्षा १० को नतिजा सार्वजनिक हुँदा शिक्षा मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले गम्भीर समीक्षा गरिने बताएका थिए । त्यसपछि मन्त्रालय, बोर्ड र सरोकारवाला निकायबिच पटकपटक छलफल भएको छ । कमजोर नतिजा देखिएको क्षेत्र तथा विषयलाई सुधार गर्ने उपायमा समेत मन्त्रालयले छलफल थालेको प्रवक्ता दाहालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप