बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले के गर्दैछ ?

बुधबार, २३ साउन २०८१, १० : ३८
बुधबार, २३ साउन २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रमा विभिन्न कार्य गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रहरूमा नियमित अनुसन्धान, बिरामीको खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गरिरहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँग सहकार्य र समन्वयमा द्रुत प्रतिकार्य टोली परिचालनसमेत गरेको जनाएको छ । देशभरका १४४ अस्पतालमा झाडापखालाका बिरामीको नियमित रूपमा हैजाको निगरानी भइरहेको मन्त्रालयको भनाइ छ ।

जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानी गरिरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले एउटै टोलबाट एक हप्ताभित्रमा ५ जनाभन्दा बढी झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था गरेको छ ।

गोदावरी नगरपालिकामा, पुनर्स्थापना केन्द्रका सदस्यहरूका लागि पानी शुद्धीकरण गर्ने पदार्थ सहयोग गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ललितपुर महानगरपालिकामा हैजा सङ्क्रमण पत्ता लागेपछि समुदायका सदस्यहरूलाई हात सफाइ र पानीको गुणस्तर परीक्षण सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।

मन्त्रालयले आगामी योजनामा केन्द्र, प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाइ खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य गर्ने निकायसँगको समन्वयमा जोखिम पहिचान तथा रोकथाम सम्बन्धी कार्य अघि बढाउने योजना बनाएको छ ।

यससँगै, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको सुदृढीकरणका लागि सरोकारवाला निकायहरू बिच एकीकृत समन्वय तथा सहकार्य गरिरहेको छ । राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० पनि बनाई आवश्यक कार्यहरू गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकार्यः

  •       प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य र समन्वयमा काम भइरहेको,
  •       केन्द्र, प्रदेश तथा स्थानीय तहका द्रुत प्रतिकार्य टोली परिचालन भएको,
  •       नियमित केस अनुसन्धान भइरहेको,
  •       प्रभावित क्षेत्रमा थप बिरामीहरूको सक्रिय खोजी भइरहेको,
  •       केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी भइरहेको,
  •       स्वास्थ्य शिक्षाका सामग्री तयार गरी प्रसारण गरिएको ।

निगरानीः

  •       झाडापखालाको बिरामीहरूको १४४ अस्पतालहरूमा नियमित रुपमा हैजाको निगरानी भइरहेको,
  •       जिल्ला, स्थानीय तह तहमार्फत खानेपानी गुणस्तर निगरानी सम्बन्धी कार्य भइरहेको,
  •       एउटै टोलबाट एक हप्ता भित्रमा ५ जना भन्दा बढि झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर १११५मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था भएको,
  • जनचेतना तथा सरसफाइ सम्बन्धी क्रियाकलापः
  •       बिरामी देखिएका स्थानहरूमा खानेपानीको नमुना जाँच कार्य भइरहेको,
  •       खानेपानीको शुद्धीकरण तथा व्यक्तिगत सरसफाइ सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको,
  •       प्रभावित स्थानमा वितरण हुने खानेपानीको शुद्धीकरण कार्य भइरहेको,

सचेतना गतिविधिहरूः

  •       फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत वास र हैजासँग सम्बन्धित सन्देशहरूको नियमित प्रसारण,
  •       काठमाडौँ महानगरपालिका, वडा नम्बर ११, १२, र १३ का वडाका निर्वाचित सदस्यहरू र समुदायको विपद् व्यवस्थापन समितिका लागि हैजा रोकथाम र नियन्त्रण सम्बन्धी अभिमुखीकरण, जसमा हैजा प्रकोप रोकथाम र व्यवस्थापनमा उनीहरूको योगदानबारे छलफल,
  •       काठमाडौँ महानगरपालिका, वडा नम्बर १२ स्थित श्री सरस्वती निकेतन माध्यमिक विद्यालय र वडा नम्बर १३ स्थित जनप्रभात माध्यमिक विद्यालयका युवाहरूका लागि वास र हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण,
  •       अभिमुखीकरणको क्रममा हैजा रोकथाम कार्य योजनाहरू तयार गरी अहिले लागु गरिँदैछ, जसमा क्लोरिन समाधानको तयारी र सामूहिक क्लोरिनेसन विधिहरू समावेश छन्,

प्रतिक्रिया गतिविधिहरूः

  •       खानेपानी गुणस्तर प्रभावकारी बनाउने कार्य गर्न निर्देशन,
  •       विज्ञ सम्मिलित छलफल बैठक सञ्चालन गरी केस र खानेपानी निगरानी, केस व्यवस्थापन र रोकथाम तथा नियन्त्रणका क्रियाकलाप प्रभावकारी बनाउन निर्देशन,
  •       गोदावरी नगरपालिकाः गोदावरी नगरपालिका, वडा नं १४ मा पुनर्स्थापना केन्द्रका सदस्यहरूका लागि ब्लीचिङ पाउडर र एफआरसी परीक्षण विधिहरू प्रयोग गरेर १% क्लोरिन समाधानको तयारीको प्रदर्शन ।
  •       गोदावरी नगरपालिका, वडा नं १४ मा पुनर्स्थापना केन्द्रका सदस्यहरूलाई ५ लिटर १% क्लोरिन समाधानको सहयोग,
  •       नगरपालिकाबाट खानेपानी सुरक्षा लागु गर्ने, सेफ्टिट्याङ्क अनुगमन गर्ने र सेफ्टिट्याङ्क खोलेको रिपोर्ट भए कारवाही गरिने निर्णय भएको,
  •       ललितपुर महानगरपालिका, वडा नं ८ हैजाका केसहरू पत्ता लागेपछि ललितपुर महानगरपालिका, वडा नं ८, सुबलमा समुदायका सदस्यहरूलाई हात सफाइ र पोइन्ट–अफ–यूज विकल्पहरूको सम्बन्धी अभिमुखीकरण प्रदान ।

भावी योजनाः

  •       केन्द्र प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य गर्ने निकायसँगको समन्वयमा जोखिम पहिचान तथा रोकथाम सम्बन्धी कार्य गर्ने,
  •       प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामको लागि आवश्यकता अनुसार विज्ञ परिचालन
  •       नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढीकरणका लागि सरोकारवाला निकायबिच एकीकृत समन्वय तथा सहकार्य,
  •       राष्ट्रिय हैजा नियन्त्रण/रोकथाम योजना २०२४–२०३० बनाइ सो सम्बन्धी आवश्यक कार्य गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप