अध्ययन तथा रोजगारीका लागि हिंसा र युद्धग्रस्त मुलुक पुगेका नेपाली त्रासमा
काठमाडौं । विभिन्न देश यतिबेला युद्ध र हिंसाको चपेटामा परेका छन् । अध्ययन तथा रोजगारीका लागि ठुलो संख्यामा रहेका नेपाली नागरिक आफू रहेको मुलुकमा भइरहेका हिंसा तथा प्रदर्शनका कारण त्रसित बनेका छन् ।
खासगरी बंगलादेश, इजरायल, लेबनान तथा बेलायत यतिबेला अशान्त छन् । बंगलादेशमा एक महिनादेखि जारी आरक्षण विरोधी आन्दोलनमा सयौँ मानिसको मृत्यु भइसकेको छ । आन्दोलन हिंसात्मक बन्दा प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिइ भागेर भारत आएकी छन् ।
बंगलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् । स्वदेश फर्किन बाँकी रहेका करिब ४०० जनालाई बंगलादेशस्थित नेपाली राजदूतावासले सचेत रहन आग्रह गरेको छ ।
करिब ३ हजारको हाराहारीमा नेपाली विद्यार्थी बंगलादेशमा अध्ययनरत छन् । आन्दोलनपछि अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् । बाँकी रहेका विद्यार्थी तथा अन्य नेपालीलाई सुरक्षित रहन र स्वदेश फर्किन चाहेको खण्डमा दूतावासमा सम्पर्कमा राख्न भनिएको छ ।
बंगलादेशस्थित नेपाली दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन भनेको हो । स्वदेश फर्किन बाँकी रहेकाहरूसँग निरन्तर सम्पर्क भइरहेको र नेपाल फर्किन चाहनेलाई दूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय रूपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् । सोमबार नै ढाकास्थित नेपाली दूतावासका अधिकारीहरूसँग टेलिफोनमार्फत कुरा गर्दै उनले त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिएकी थिइन् । उनले त्यहाँ रहेका नेपालीको आवश्यक सुरक्षा तथा सहयोगार्थ सक्रिय हुन निर्देशन दिएकी हुन् ।
मन्त्री राणालाई बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेको जानकारी बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले गराएको मन्त्रीको सचिवालयले जनाएको छ ।
इजरायलमा त्रास
अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले आक्रमण गर्दा एक हजार २०० मानिस मारिएका थिए । जसमा १० जना नेपाली विद्यार्थीसमेत परेका थिए । हमासले २५० जनालाई बन्धक बनाएको थियो । जसमा एक जना नेपाली विपिन जोशीसमेत छन् । उनको अवस्था अझै अज्ञात छ ।
इजरायल अझै शान्त हुन सकेको छैन । पछिल्लो समय इजरायल चौतर्फी घेरामा पर्दै आएको छ । इजरायली हवाई हमलामा हमासका सेना प्रमुखको मृत्यु भएपछि हमासले जवाफी हमला गर्ने त्रास कायमै छ ।
गत महिना गाजापट्टीमा भएको हवाई हमलामा हमास सेनाको प्रमुख मोहम्मद डाइफको मृत्यु भएको थियो । जुलाई १३ मा खान युनिस क्षेत्रमा डाइफलाई लक्षित गरेर इजरायलले हमला गरेको थियो ।
त्यसअघि तेहरानमा इजरायलले गरेको हवाई आक्रमणमा हमासका शीर्ष नेता इस्माइल हानिया मारिएका थिए । त्यसयता इजरायलमाथि हमास, इरान लगायतको चुनौती बढेको छ । जसले गर्दा इजरायलमा त्रास बढेको छ ।
इजरायलस्थित विदेशी श्रमिकलाई हेर्ने सरकारी निकाय पिबाले महत्त्वपूर्ण रक्षा निर्देशन कार्यान्वयन भएको भन्दै सोही अनुसार सुरक्षित स्थान, एक आवासीय सुरक्षित कोठाको अवस्था, आश्रय स्थल, भित्री कोठा तथा आश्रयस्थलमा पुग्नका लागि उपलब्ध समय लगायत विषयमा सचेत रहन भनेको छ ।
इजरायलमा पाँच हजारभन्दा बढीको संख्यामा नेपाली छन् । उनीहरू विशेषगरी केयरगिभरको रूपमा काम गर्र्दै आएका छन् ।
इजरायलबाट सम्पर्कमा आएका नेपालीहरूले चौतर्फी आक्रमणको डरले कति बेला के हुन्छ भन्ने अवस्था रहेको बताए । चौतर्फी हवाई आक्रमणको खतरा रहँदा त्रास पैदा भएको उनीहरूको भनाइ छ ।
इजरायलस्थित विदेशी श्रमिकलाई हेर्ने सरकारी निकाय पिबाले महत्त्वपूर्ण रक्षा निर्देशन कार्यान्वयन भएको भन्दै सोही अनुसार सुरक्षित स्थान, एक आवासीय सुरक्षित कोठाको अवस्था, आश्रय स्थल, भित्री कोठा तथा आश्रयस्थलमा पुग्नका लागि उपलब्ध समय लगायत विषयमा सचेत रहन भनेको छ ।
सबै आवश्यक उपकरण आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा राख्नसमेत भनिएको छ । एक आपतकालीन समयमा, निश्चित समयका लागि एकान्तमा बस्न (बंकर) वा निश्चित समयभित्र घरबाट बाहिर निस्किन भनिने र सोही आधारमा आवश्यक उपकरणहरू समयमै तयारी अवस्थामा राख्न उसले भनेको छ ।
कम्तीमा ३ दिनसम्म घरका सबै सदस्यहरूका लागि पानी र खाना, महत्त्वपूर्ण कागजातहरू, टर्चलाइट, ब्याट्री, औषधि लगायतका अत्यावश्यक सामाग्री समेत तयारी अवस्थामा राख्न भनिएको हो ।
त्यस्तै आपतकालीन सञ्चार विधिहरूमा आपतकालीन संस्थाहरू, आफन्तहरू र छिमेकीहरूको टेलिफोन नम्बर सहितको सूचीसमेत बनाउन भनेको छ । रोजगारदाता वा स्थानीय अधिकारीहरूले प्रदान गरेका सुरक्षा अभ्यास वा प्रशिक्षणमा भाग लिनसमेत भनेको छ ।
सरकारले जारी गरेका यी निर्देशन तथा सुरक्षाका उपायहरूलाई गम्भीरताका साथ लिन सबै विदेशी कमदारलाई भनिएको छ ।
लेबनानमा पनि त्रास
इजरायलले लेबनानमा आक्रमण गरेर हिजबुल्लाहका शीर्ष कमान्डर मारेको जनाएको छ । लेबनानी सशस्त्र बलको गढ रहेको दहियाहमा भएको आक्रमणमा हिजबुल्लाहका शीर्ष कमान्डर फौद शुकर मारिएको इजरायलले दाबी गरेको छ ।
इजरायली अधिकारीहरूले इजरायली नियन्त्रित गोलान हाइट्समा गत शनिबार भएको आक्रमणमा फौद जिम्मेवार रहेको आरोप लगाएका छन् । शनिबार भएको सो आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश बालबालिका थिए । हिजबुल्लाहले इजरायलको दाबीको खण्डन गरेको थियो ।
लेबनानमा हिजबुल्लाह र इजरायलबीचको आक्रमणपछि त्यहाँ रहेका नेपालीसमेत त्रसित बनेका छन् । नेपाल सरकारले भने लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरूपमा सचेत रहेको जनाएको छ ।
सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ ।
तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उनीहरूका आफन्तले कायरोस्थित नेपाली दूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई सम्पर्क गर्न भनिएको छ ।
मन्त्रालयले दीपक घिमिरे (द्वितीय सचिव, नेपाली राजदूतावास, कायरो)लाई २०१०९७७७२३४८ नम्बरमा र श्रीकृष्ण सिलवाल (शाखा अधिकृत, परराष्ट्र मन्त्रालय)लाई ९७७९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
इरानको राजधानी तेहरानमा बुधबार हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको मृत्यु भएपछि मध्यपूर्वमा तनाव छ । इरानले यसका लागि इजरायललाई जिम्मेवार ठहर गर्दै इजरायलविरुद्ध ‘कडा’ प्रतिकारात्मक कारबाही गर्ने बताएको छ ।
मध्यपूर्वमा व्यापक द्वन्द्व फैलिने डर देखिएपछि धेरै देशले आफ्ना नागरिकलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेका छन् । लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई जति सक्दो चाँडो टिकट लिएर लेबनान छोड्न आग्रह गरेको छ ।
यसअघि बेरुतस्थित भारतीय दूतावासले समेत लेबनानमा बसोबास गर्ने आफ्ना नागरिकका लागि ‘एडभाइजरी’ जारी गरेको थियो । बेलायती विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै एडभाइजरी जारी गरेका थिए । लामीले यस क्षेत्रको अवस्था द्रुत गतिमा बिग्रन सक्ने बताएका थिए ।
इरानको राजधानी तेहरानमा बुधबार हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको मृत्यु भएपछि मध्यपूर्वमा तनाव छ । इरानले यसका लागि इजरायललाई जिम्मेवार ठहर गर्दै इजरायलविरुद्ध ‘कडा’ प्रतिकारात्मक कारबाही गर्ने बताएको छ ।
यी घटनापछि पश्चिमी देशका अधिकारीहरूले लेबनानमा आधारित इरान समर्थित सशस्त्र समूह र राजनीतिक आन्दोलन हिजबुल्लाहले यस्तो कुनै पनि प्रतिशोधात्मक कारबाहीमा ठुलो भूमिका खेल्न सक्ने डर व्यक्त गरेका छन् ।
बेलायतमा हिंसा
बेलायतको डान्स क्लासमा चक्कु प्रहारबाट तीन बालिकाको मृत्यु भएको थियो । गत सोमबार साँझ उत्तरी बेलायतको साउथपोर्टमा चर्चित गायिका टेलर स्विफ्टको थिममा आयोजित डान्स क्लासमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु भएसँगै बेलायतका कयौँ सहरमा हिंसात्मक प्रदर्शन भइरहेका छन् ।
यी प्रदर्शनमा कैयौँ प्रहरी घाइते भएका छन् । यस प्रदर्शनका क्रममा धेरै ठाउँमा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक समूह आमनेसामने भएका छन् ।
हालसम्म झन्डै ४०० जना पक्राउ परेका छन् । राष्ट्रिय प्रहरी प्रमुख काउन्सिलले यस्ता गिरफ्तारी दिनानुदिन बढ्न सक्ने बताएको छ । यसअघि प्रधानमन्त्री कीर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताएका थिए ।
हिंसात्मक प्रदर्शनपछि त्यहाँ रहेका नेपालीमा समेत त्रास पैदा भएको छ । बेलायतमा एक लाखभन्दा बढी नेपाली छन् । विशेषगरी गोर्खा आर्मी तथा उनीहरूका परिवार बेलायतमा बसोबास गर्दै आएका छन् भने कयौँ नेपाली अध्ययनका लागि पुगेका छन् ।
बेलायतस्थित नेपाली दूतावासले त्यहाँको अवस्थाबारे औपचारिक जानकारी भने गराइसकेको छैन । तर, हालसम्म कुनै सुरक्षा खतरा नरहेको जनाएको छ । दूतावासका अधिकारीहरूले त्यस्तो कुनै सुरक्षा जोखिम नरहेको बताए ।
तर छिमेकी मुलुक भारतले भने बेलायतमा रहेका आफ्ना नागरिकका लागि ‘एडभाइजरी’ जारी गरेको छ । लण्डनस्थित भारतीय उच्चायोगले मंगलबार भनेको छ, ‘भारतीय यात्रीलाई हालै ब्रिटेनका केही क्षेत्रमा प्रदर्शन र अशान्ति भइरहेकोबारे जानकारी नै होला । हाल ब्रिटेनको यात्रा गरिरहेका भारतीयलाई परिस्थितिमाथि ध्यान दिन र सतर्क रहन सल्लाह दिइन्छ ।’ उच्चायोगले हिंसा भएका क्षेत्रमा नजान पनि आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान