१० बजे, १० समाचार
आज २०८१ साउन २२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- बंगलादेश संकट
बंगलादेशमा आरक्षणको विषयलाई लिएर सतहमा देखिएको विद्यार्थी आन्दोलनका कारण त्यहाँका प्रधानमन्त्री शेख हसिना वाजेद पद त्यागेर विदेश पलायन हुन बाध्य भइन् । प्रधानमन्त्री वाजेदले समयमै विद्यार्थी आन्दोलनलाई सम्बोधन गर्न अनिच्छा प्रकट गर्दाको नतिजास्वरुप दुई तिहाइ बहुमतको सरकारमात्र ढलेन, त्यस्तो सरकारको नेतृत्वकर्ताले देश नै छाडेर भाग्नुपर्ने अवस्था आयो । बंगलादेशको सत्तामा आएको उलटफेर नेपालका लागि पनि चर्चाको विषय बनेको छ ।
- अविरल वर्षा
मङ्गलवार काठमाडौँ उपत्यकामा बिहानैदेखि ठुलो वर्षा भयो। जसका कारण विभिन्न स्थानका सडकहरू जलमग्न बनेका थिए । बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ। मङ्गलवार काठमाडौँको टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएका छन् । साथै उपत्यका भएर बहने नदी तथा खोलाहरूमा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ ।
- फाइनलमा नेपाल
इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । नेपालले बुधवार उपाधिका लागि प्रमुख दाबेदार भारतको सामना गर्नेछ । अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ ।
- सेयर बजार
मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ । एक महिना यता लगातार बढेर झण्डै २८ सयको विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक १४५ अंकले गिरावट आउँदै २६५१ अंकमा झरेको हो ।
- दुई दलीय व्यवस्था
नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन बनेपछि केहीले मुलुक दुई दलीय व्यवस्थामा जान लागेको भनेर टिप्पणी गरेका छन् । प्रतिनिधि सभाका दुई ठुला दल मिलेर सरकार बनाएसँगै अङ्कगणितका आधारमा साना दलको महत्त्व घटेको छ ।
- मिस नेपालको रौनक
नेपालको सबैभन्दा पुरानो प्रतियोगिताको रूपमा परिचित ‘मिस नेपाल’को चर्चा अहिले विगतको तुलनामा भने घटेको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा विगतको तुलनामा मिडियाकर्मीको उपस्थिति पनि कम देखियो भने समाचारसमेत मिडियाको प्राथमिकतामा परेन । यस्तो हुनुमा पछिल्लो समय मिस नेपालको रौनक घट्नु नै मुख्य कारण रहेको बताइन्छ ।
- संविधान संशोधन
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच ७ बुँदे सहमति भएपछि संविधान संशोधनको बहस फेरि चर्किएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबिच असार १७ गते संविधान संशोधनसहित आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
- नियुक्तिमा कुरा नमिल्दा
प्रधानमन्त्री केपी शर्मा ओली पनि सम्भव भए सर्वोच्च, नभए उच्च अदालतमा आफू निकट केही कानुन व्यवसायीलाई न्यायाधीश बनाउने पक्षमा छन् । प्रधान न्यायाधीशको नेतृत्वमा रहने न्याय परिषदमा प्रधानमन्त्रीको सिफारिसमा एक सदस्य र सरकारका तर्फबाट कानुनमन्त्री सदस्य हुने व्यवस्था छ । कानुन मन्त्रीले सत्ता गठबन्धनका दलको उम्मेदवार परिषदमा पेस गर्ने गर्दछन् । विगतमा पनि न्यायाधीश नियुक्तिमा दलहरूकै भागबण्डा हाबी हुने गरेको थियो ।
- विद्युत् महसुलको बक्यौता
अहिले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबिचको डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद बल्झिएको छ । केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि यो विवाद सरकार भर्सेस विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङजस्तो देखिएको छ।
- मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद्ले नेपाल प्रहरीका डीआईजी रामदत्त जोशीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा पदस्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ