शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
माओवादी कोशी बैठक

प्रचण्डसँग कार्यकर्ताको प्रश्न, ‘उथलपुथल के हो ?’

प्रदेशको नामकरणको विषय स्पष्ट पार्न माग, शीतलकुमार ‘फ्रेस’
मङ्गलबार, २२ साउन २०८१, १९ : ११
मङ्गलबार, २२ साउन २०८१

विराटनगर । पार्टीको कोशी प्रदेश समितिको बैठकमा बिरलै उपस्थित हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले यसपटक सोही बैठकलाई दुई दिनको समय दिए । सोमबार साँझ विराटनगर आइपुगेका प्रचण्ड मङ्गलबार ४ बजेसम्म पार्टीको बैठकमा बसेका थिए । त्यस क्रममा उनले कार्यकर्ताको कुरा मात्रै सुनेनन्, उठेका कतिपय प्रश्नको जवाफ पनि दिए । 

प्रदेश समितिको बैठकको सुरुवातमै कोशी प्रदेशका १४ वटै जिल्लाका संयोजकहरूलाई रिपोर्टिङ गर्न समय दिइएको थियो । बैठकमा रिपोर्टिङ गर्दा कतिपय नेताले भने बैठकको औचित्यै नभएको बताए । कतिपय प्रचण्डले छिनछिनमा बदलिने चरित्रले पार्टीलाई घाटा लगाएको उल्लेख गरे । कतिपय कार्यकर्ताले भने ओलीलाई प्रचण्डले अझै नचिनेको भन्दै व्यङ्ग्य गरे । 

बैठकमा पार्टीका केन्द्रीय उपमहासचिव तथा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार) सरकारबाट पार्टी बाहिरिएपछि फ्रेस भएको चर्चा पनि चल्यो । सोलुखुम्बुका नाम्गेल शेर्पाले वर्षा र बाढी पहिरोको बेलामा बैठक राख्नु नै असान्दर्भिक भएको टिप्पणी गरे । ‘बैठक सान्दर्भिक भएन कि भन्ने लाग्छ । बाढी, पहिरो, वर्षातले जनजीवन आक्रान्त छ । म भएको ठाउँबाट आउन मात्रै ४ दिन लाग्छ । फेरि बैठक विराटनगरमा मात्रै किन गर्नु पर्ने ? सधैँभरि विराटनगरमा नगरौँ । सोलुमा बैठक राखौँ,’ उनले भने । 

Maobadi (1)

भोजपुरका नगेन्द्र भुजेलले पार्टी सदस्य भएपछि पनि भोट आउँदैन किन ? भन्ने प्रश्न गरे । उनले पनि केन्द्रीय समितिको बैठक राखेपछि फेरि प्रदेशको बैठक राख्ने कि नराख्ने ? भन्ने प्रश्न गर्दै एउटा बैठकमा आउँदा २० हजार खर्च हुने भएकोले बैठक राख्ने कुरामा समयबारे उचित ध्यान नदिएको बताए । 

उनले पार्टीको माथिल्लो संरचनाले नै विधान उल्लङ्घन गरेको विषय पनि उठाए । ‘हामी विधान बनाउँछौँ । तर, दुई दिनमै उल्लङ्घन किन भयो ? सिद्धान्त र व्यवहार किन मिलेन ?,’ उनले प्रश्न गरे, ‘ओलीको प्रतिगमन कहाँ पुगेर सच्चियो ? हामी अन्योलमा छौँ ।’

उनले पार्टी बैठकमा प्रदेश १ लेखेकोमा पनि असन्तुष्टि जनाए । ‘हाम्रो पार्टीमा पहिचान विरोधी कोही पनि छैनौँ । तर, यो अन्योल किन ?,’ उनले भने । उनले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित शासकीय प्रणालीमा जानुपर्नेमा जोड दिए । 

सङ्खुवासभा टेकनारायण राईले बेलैमा ध्यान दिन नसके पार्टी चौथो, पाँचौँ हुने खतरा रहेको बताए । ‘पार्टी सदस्य नवीकरण आधा घट्ने अवस्था छ । सत्य युगदेखि ऋषिमुनीहरूले तपस्या गरेपछि वरदान प्राप्त भएजस्तै नेताहरू भेट्न तपस्या गर्नुपर्ने । तर पनि तथास्तु नहुने अवस्था छ,’ उनले नेताहरू जनताबाट कटेको भन्दै गुनासो गरे । 

Maobadi (3) (1)

यस्तै उनले पार्टी अध्यक्ष प्रचण्डले छिनछिनमा बदलिने र त्यसलाई उथलपुथल भनेको भन्दै व्यङ्ग्य पनि गरे । ‘अध्यक्ष कमरेड छिनछिनमा बदलिने कुराले राम्रो गरेन । फेरि उहाँ उथलपुथल भन्नुहुन्छ । त्यो राम्रो छ भने कसरी राम्रो छ ? हामीले राम्रो प्रचार गर्न सकेनौँ कि ?,’ उनले भने । 

यस्तै धनकुटाकी कुसुम श्रेष्ठले कहिले को सँग कहिले कोसँग गठबन्धन हुँदा कार्यकर्ता कुहिरोको काग जस्तो भएको बताइन् । यद्यपि सरकारबाट पार्टी हट्दा पनि कार्यकर्तामा निराशा भने यो पटक नदेखिएको उनले बताइन् । 

उदयपुरका दिवस कटवालले राष्ट्रिय राजनीतिको सन्तुलन मिलाउन सक्ने नेतृत्वले पार्टीलाई बलियो बनाउन नसकेको बताए । केन्द्रीय सदस्यहरू जिम्मेवारी नपाएर बिजोग अवस्थामा रहेको उनले बताए । ‘पद पाएपछि प्रचण्डलाई मार्क्स, एंगेल्स बनाउन सक्ने तर, पद नपाउँदा रुने धुने काम भइरहेको छ । यस्तो पार्टीले कसरी नयाँ आन्दोलनको नेतृत्व गर्न सक्छ ?,’ उनले भने । 

झापाका राजु आचार्यले प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चिन्न नसकेको भन्दै बेलैमा नचिन्दा पार्टीलाई घाटा भएको बताए । ‘ओलीलाई अगाडि चिन्नु भएको भए यो पोजिसनमा पुगिँदैन थियो होला । हामीले त चिनेकै थियौँ । अध्यक्ष कमरेडले पनि चिन्नुभयो होला भन्ने लागेको थियो । ओलीले चितवनमा परेड खेल्दा झापामा अध्यक्ष प्रचण्ड आउनु पर्थ्यो । अध्यक्षकै उपस्थितिमा ओली ट्रेन्डलाई पराजित गर्ने कार्यक्रम बनाउन मन छ । फेरि पनि झापा आउनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘पार्टीमा नयाँ पीढीको बन्ध्याकरण भयो । निर्वाचनको विधिबाट अगाडि बढौँ ।’ 

ताप्लेजुङका विरू लिम्बूले अहिले पनि १ नम्बर प्रदेश नै किन लेखेको भन्ने प्रश्न गरे । ‘सानो सिफारिसमा पनि कोशी लेख्नु परेको छ । कि त कोशी खारेजको आन्दोलन गरौँ होइन भने स्पष्टताका साथ अगाडि बढौँ,’ उनले भने । 

Maobadi (2)

पाँचथरका विशाल रसाइलीले वार्षिक बजेट बाँडेर मेरो तेरो भनेर समाजवाद नआउने भन्दै समाजवादका लागि ठोस कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । इलामका विजय खम्बुले इलाम उपनिर्वाचनमा एमालेलाई सघाउने निर्णय उचित नभएको बताए । ‘पार्टी नेतृत्वको निर्णयलाई बफादारीताका साथ पालना गर्दा हामी कमजोर भएका छौँ,’ उनले भने, ‘उपनिर्वाचनमा एमालेलाई सघाउने निर्णय हाम्रो लागि दुर्भाग्य हो ।’

कार्यक्रममा प्रचण्ड र प्रदेश इन्चार्ज हरिबोल गजुरेलबिच एक आपसमा व्यङ्ग्य पनि भएको थियो । कार्यकर्ताको रिपोर्टिङ सुनिसकेपछि मन्तव्यका लागि आएका शितलकुमारले बैठक बेमौसमी नभएको बताए । ‘यो बैठक पार्टी निर्माणको नयाँ कोशेढुंगा हुने वाला छ,’ उनले भने । 

नेतृत्वलाई आफूहरूले नै बिगारेको बताउँदै उनले पछिल्लो पटक पार्टी पदाधिकारी बैठकमा अध्यक्षले आफूलाई फ्रेस देखिएको भनेको भन्दै आफू उत्साहित रहेको सङ्केत गरे । उनले अब कार्यविभाजन गर्दा भूमिका हेरेर कार्यविभाजन गरिने बताए । प्रचण्डले पनि बैठकको समय मिलो कि मिलेन भन्ने विषयमा कुरा चलिरहेको भएपनि इन्चार्ज गजुरेलको स्पिरिट ठिक भएको बताए । ‘कमरेड शितलकुमार फ्रेस हुनुभयो । त्यसपछि म खुसी भएँ । त्यस कारण बैठकमा आएँ । उहाँ फ्रेस हुँदा धेरै राम्रो हुन्छ । फ्रेस नहुँदा बिग्रन सक्छ,’ प्रचण्डले भने । प्रचण्डले प्रदेश नामकरणको विषयमा अहिलेसम्म देखिएको पार्टीभित्रको अन्यौलता आगामी स्थायी समितिको बैठकबाट हटाउने जवाफ दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप