बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक ः यी अभागी खेलाडी जसले उपाधिको नजिक पुगेर खेल छाड्नुपर्‍यो !

मङ्गलबार, २२ साउन २०८१, १७ : ४६
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । ओलम्पिकजस्तो ठुलो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको अत्यन्तै नजिक पुगेर खेल परित्याग गर्नुपर्ने अवस्था सृजना हुनु कुनै पनि खेलाडीका लागि सबैभन्दा निराशाजनक क्षण हो ।

यस्तै एउटा घटना फ्रान्सको राजधानी पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा भएको छ । स्पेनकी चर्चित ब्याडमिन्टन खेलाडी क्यारोलिना मारिनले यस्तो नियति भोग्नु परेको हो ।

ब्याडमिन्टनको महिला एकलतर्फको सेमिफाइनल खेल क्यारोलिना र चीनकी हेन बिन जियाओबिच खेलिँदै थियो । खेलमा स्पेनिस खेलाडी क्यारोलिनाले उत्कृष्ट प्रदर्शन गरिरहेकी थिइन् ।

खेलका क्रममा क्यारोलिनाले अग्रता लिइरहेकी थिइन् । ठिक त्यही समयमा क्यारोलिनाको घुँडामा पिडा सुरु भयो । उनले खेल्नै नसक्ने अवस्था सृजना भयो । त्यसपछि केही समय खेल स्थगित गरियो ।

सामान्य उपचारपछि उनी घुँडामा पट्टी बाँधेर फेरि कोर्टमा फर्किइन् । केही समय खेलेपछि उनको घुँडामा फेरि पिडा सुरु भयो । त्यसपछि उनी उभिन नसकेर कोर्टमै लड्न पुगिन् ।

त्यतिबेला उनले पहिलो सेटमा चीनकी खेलाडीलाई २१–१४ अङ्कले हराइसकेकी थिइन् । दोस्रो सेटमा पनि क्यारोलिना १०–८ अङ्कले अगाडि थिइन् ।

उनी प्रतियोगिताको फाइनलमा पुग्ने पक्काजस्तै थियो । तर, अचानक घुँडामा पिडा सुरु भएपछि उनले खेल परित्याग गर्नु पर्‍यो । खेल्न नसक्ने भएपछि उनी कोर्टबाट आँसु झार्दै बाहिरिएकी थिइन् ।

यसअघि टोकियो ओलम्पिकमा पनि उनले यस्तै नियति भोग्नु परेको थियो । घुँडाको लिगामेन्ट च्यातिएका कारण उनले टोकियो ओलम्पिकबाट पनि बाहिरिनु परेको थियो ।

तर, रियो ओलम्पिकमा भने उनले स्वर्ण पदक जितेकी थिइन् । उनले दुईपटक घुँडाको शल्यक्रिया गरिसकेकी छन् । पेरिस ओलम्पिकमा पनि घाइते हुनुअघि उनको प्रदर्शन अब्बल थियो ।

क्यारोलिनाले खेल परित्याग गरेपछि चीनकी खेलाडी सजिलै फाइनलमा पुगिन् । उनले रजत पदक जितिन् । क्यारोलिनाले भने कांस्य पदकका लागि भएको भिडन्तमा पनि इन्डोनेसियाकी खेलाडीलाई वाक ओभर दिएकी थिइन् ।

ह्विलचियरमा बसेर कोर्ट छाड्नुअघि क्यारोलिनाले आफ्नी चिनियाँ प्रतिद्वन्द्वी हेन बिन जियाओसँग केही कुरा पनि गरेकी थिइन् ।

खेल सकिएपछि हेन बिन जियाओले क्यारोलिनाले आफूलाई भनेको शब्द सार्वजनिक गरेकी थिइन् । हेन बिन जियाओका अनुसार, कोर्ट छाड्नुअघि क्यारोलिनाले हेन बिन जियाओ भनेकी थिइन्, ‘आफ्नो लडाइँ जारी राख, सफलता तिमीलाई पछ्याउँदै आउने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप