बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बंगलादेश संकट

बंगलादेशको पाठ, नेपालको त्रास

मङ्गलबार, २२ साउन २०८१, १९ : ००
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । १५ वर्षसम्म बंगलादेशमा लगातार शासन गरेकी शेख हसिना अन्ततः आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेरै भागिन् । उनी अहिले भारतमा छिन् ।

करिब एक महिनादेखि आरक्षणको विषयलाई लिएर भइरहेको आन्दोलनले उग्र रूप लिएपछि थेग्न नसकेर उनी भाग्न बाध्य भइन् ।

हसिना लोकतान्त्रिक पद्धतिबाट सत्तामा आएकी हुन् । उनले सत्ता सम्हाल्नुअघि बंगलादेशमा निकै गरिबी थियो । त्यो गरिबीबाट हसिनाले नै देशलाई मुक्त गराएकी थिइन् । एक रिपोर्ट अनुसार उनले करिब दुई करोड जनतालाई गरिबीबाट बाहिर ल्याएकी छन् ।

देशको आर्थिक अवस्था सुधार्न पनि उनले उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । यहाँसम्म कि आर्थिक अवस्थाको मामिलामा बंगलादेशले भारतलाई समेत चुनौती दिन थालेको थियो । तर पछिल्लो समय त्यहाँ अराजकता, भ्रष्टाचार तथा विभिन्न बेथितिका कारण जनतामा असन्तुष्टि बढ्दै गइरहेको थियो ।

हसिना सरकारमाथि त्यहाँका जनताले असन्तुष्टि जनाइरहेका थिए । उनी निरङ्कुश बन्दै गएको भन्दै आलोचना बढ्न थाल्यो । तर त्यसलाई सम्बोधन गर्नुको सट्टा दबाउने प्रयत्नमा उनी लागिन् ।

हसिना सरकारले विपक्षीहरूलाई विभिन्न आरोप लगाएर थुन्न थाल्यो । सञ्चारमाध्यमलाई नियन्त्रणमा लिन थाल्यो । जनताबाट आएका विरोधका स्वरहरूलाई दबाउन थाल्यो ।

त्यहाँको अहिलेको आन्दोलन आरक्षणको मात्रै होइन, आरक्षणको मुद्दा लगभग मिलिसकेको थियो । हसिना सरकारमा मौलाएको बेथिति नै उनको शासन पतनको मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।

बंगलादेशमा भएको आन्दोलन र शेख हसिना नेतृत्वको सरकारको पतनले नेपालमा कस्तो असर पर्ला भनेर टिप्पणी हुन थालेको छ ।

परराष्ट्र मामिलाका विज्ञ जयराज आचार्य भन्छन्, ‘बंगलादेशकै जस्तो अवस्था नेपालमा हुँदैन भनेर भन्न सकिँदैन । अवस्था उस्तैउस्तै छ । आर्थिक र सामाजिक धेरै कुरा मेल खान्छ तर नेपालमा तत्कालै त्यस प्रकारको आन्दोलन हुँदैन ।’

बंगलादेशले हसिनाकै कार्यकालमा आर्थिक रूपमा राम्रो प्रगति गरेको हो । विकासका काम पनि भएका छन् । यति हुँदाहुँदै पनि त्यहाँका जनता असन्तुष्ट हुनुको मुख्य कारण सुशासनको अभाव नै रहेको आचार्य बताउँछन् । हसिनाले आफ्नो शक्तिको आडमा अलोकप्रिय काम गर्न थालेपछि जनतामा असन्तुष्टि बढ्दै यस्तो अवस्था आएको उनको भनाइ छ ।

नेपाली जनतामा पनि असन्तुष्टि बढ्न थालेको आचार्यले बताए । राजनीतिक दलका नेताहरूले जनतालाई डेलिभरी दिन नसकेको प्रस्ट पार्दै उनले बंगलादेशमा जस्तै यहाँ पनि राजनीतिक बेथिति रहेको बताए ।

जनतामा निराशा उत्पन्न भएको छ । बेलैमा सम्बोधन नभए त्यो निराशा कुनै बेला विद्रोहमा परिणत हुन्छ र बंगलादेशजस्तै हालत हुन्छ ।

सन् १९७१ मा स्वतन्त्रताको लडाइँ जितेको बंगलादेश १९७० मा आएको चक्रवातबाट निकै थलिएको थियो । बंगलादेशले कपडा उद्योगबाट सबैभन्दा बढी प्रगति गर्‍यो । सन् २००० बाट बंगलादेशको आर्थिक वृद्धि दर उच्च हुन थाल्यो । २०११ देखि जीडीपी विकास दर ६ प्रतिशभन्दा माथि नै हुन थाल्यो । तर पछिल्लो समय बंगलादेशमा बढ्दै गएको भ्रष्टाचार, अनियमितता, लोकतान्त्रिक मूल्य–मान्यता अनुसारको शासन अभाव जस्ता कारणले जनतामा असन्तुष्टि बढाउँदै गयो ।

बंगलादेशमा भएका कतिपय भ्रष्टाचार काण्डमा हसिनाको नाम पनि मुछिएको छ । उनका परिवारका सदस्य पनि त्यस्ता काण्डमा मुछिएका छन् । उनका पार्टीका कतिपय नेता यस्ता काण्डमा संलग्न रहेको भनेर नाम आउने गरेको छ ।

पूर्वराजदूत एवं परराष्ट्र मामिलाका जानकार विजयकान्त कर्णका अनुसार नेपालमा पनि कयौँ नेता तथा उनीहरू निकटका व्यक्ति भ्रष्टाचारका काण्डमा मुछिएको बताउँछन् । ‘शीर्ष नेताका आफन्तहरू, उनीहरूका नजिक रहने नेताहरू पनि भ्रष्टाचारमा मुछिएका छन्, कतिपय जेलमा पनि छन्,’ उनले भने, ‘त्यसले जनतामा निराशा उत्पन्न भएको छ । बेलैमा सम्बोधन नभए त्यो निराशा कुनै बेला विद्रोहमा परिणत हुन्छ र बंगलादेशजस्तै हालत हुन्छ ।’

भ्रष्टाचारका कारण नेपालको आर्थिक अवस्था दिनदिनै खस्किँदै गइरहेको, गरिबी बढ्दै गएको र बेरोजगारी तथा महँगी पनि बढ्दै गएको कर्णले बताए । त्यसले जनतामा छटपटाहट उत्पन्न भएको भन्दै उनले बंगलादेशमा पनि यस्तै अवस्था बढेर विद्रोहको रूप लिएको प्रस्ट पारे ।

‘लोकतान्त्रिक सरकारमात्र भएर हुँदैन । जनतालाई डेलिभरी दिन सकिएन भने जुनसुकै शासनलाई जनताले फ्याल्न सक्छन् भन्ने पछिल्लो उदाहरण बंगलादेशलाई लिन सकिन्छ,’ कर्णले भने ।

बंगलादेशको घटनाले नेपालमा प्रत्यक्ष प्रभाव तत्काल नपार्ने तर यहाँका नेताहरूलाई त्यसले एउटा पाठ अवश्य सिकाएको उनको भनाइ छ । ‘बंगलादेशको घटना नेपालका नेताहरूलाई सुध्रिने अवसर पनि हो,’ उनले भने, ‘सुध्रिएन भने ढिलोचाँडो बंगलादेशजस्तै अवस्था हुन्छ ।’

नेपालको राजनीति पनि दुईतीन शीर्ष नेताको सेरोफेरो रहेको भन्दै कर्णले यसबाट जनतामा बढ्दो असन्तुष्टि र निराशालाई बेलैमा नेताहरूले बुझ्न सक्नुपर्ने बताए ।

अर्का परराष्ट्र विज्ञ अरुण सुवेदीले बंगलादेशको आन्दोलन राजनीतिक तथा आर्थिक नभएर इस्लामिक फण्डामेन्टलले भएको बताए । ‘सामाजिक र आर्थिक कारणले त्यहाँ आन्दोलन भएको होइन,’ उनले भने, ‘आर्थिक रूपमा बंगलादेश निकै बलियो छ । त्यहाँ ३ प्रतिशत जनतामात्र बेरोजगार छन् । आर्थिक वृद्धिदर पनि राम्रै छ । बेरोजगारी तथा आर्थिक अभावका कारण आन्दोलन भएको होइन ।’

तर त्यो आन्दोलनले नेपालमा शरणार्थी र आतङ्ककारी गतिविधि बढ्न सक्ने चुनौती रहेको उनले बताए । बंगलादेशबाट विस्थापित हुनेहरू नेपाल आउनसक्ने भन्दै उनले यो अवस्थामा नेपालका लागि ठुलो चुनौती रहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप