शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माओवादी कोशी प्रदेश बैठक

यो सरकार धेरै लामो जाँदैन, उनीहरू फतक्कै झर्नेवाला छन् : प्रचण्ड

‘विश्वासको मत लिने क्रममा संसदमा मैले राखेको विषय दलालहरूका विरुद्ध विद्रोह हो’
मङ्गलबार, २२ साउन २०८१, १७ : ३७
मङ्गलबार, २२ साउन २०८१

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार लामो समय नटिक्ने बताएका छन् । 

माओवादीको कोशी प्रदेश समितिको विराटनगरमा मङ्गलवार सम्पन्न सातौँ पूर्ण बैठकमा मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । ‘यो सरकार धेरै जानेवाला छैन । यद्यपि हामी सरकारमा जान कुनै हिसाबले प्रयास गर्दैनौँ । सरकार नै हामीलाई खोज्दै आउँला कि भन्ने डर छ । तर, म अब प्रधानमन्त्री बन्दिनँ । उनीहरू फतक्क झर्नेवाला छन्,’ प्रचण्डले भने ।

उनले आफू ३५–३६ वर्षदेखि नेतृत्वमा रहेको र यो अवधिमा भएका सबै घटनाक्रमको बारेमा जानकार रहेको पनि बताए । उनले अझै लामो समय आफू नै अध्यक्ष हुनुपर्छ भन्ने नरहेको तर, त्यो खालको टिम निर्माण नहुँदा अप्ठ्यारो भएको उनले बताए । 

‘३५–३६ वर्षदेखि म पार्टीको नेतृत्वमा छु । यो अवधिमा जे भयो म जानकार छु । म अध्यक्ष बनिराख्नु पर्ने कुनै मोह छैन । सबै छोडेर इतिहास लेख्न मन छ । तर, पार्टी अगाडि बढाउने त्यो टिम बनाउन पाए छोडिदिन्थेँ । तयारी नगरी छोड्दा पलायन भएको आरोप लाग्न सक्छ,’ उनले भने । 

प्रचण्डले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउँदा देशमा उभार आएको सम्झिए । आफू प्रधानमन्त्री हुँदा चलाएको नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास र बाँसबारीको जग्गा काण्डमा प्रहार गर्दा दलालहरू आत्तिएको र सरकार ढालेको दाबी गरे । 

सरकार ढल्नुमा दुई जना बिचौलिया पक्राउ पर्नु र धितो पत्र बोर्डको अध्यक्ष चयन पनि कारण भएको उनले बताए । ‘अन्तिम समयमा दुई जना पक्राउ परेका थिए नि रु,’ बेचन झा र प्रतीक थापातिर लक्षित गर्दै प्रचण्डले भने, ‘त्यसपछि कनेक्सन बालकोट र बुढानीलकण्ठ तिर सोझियो । त्यसपछि त सरकार ढल्यो ।’

 अर्को कारण बताउँदै उनले थपे, ‘धितो पत्र बोर्डमा अर्बौँको चलखेल हुने रहेछ । त्यहाँ सेटिङ डरलाग्दो हुँदो रहेछ । शेरबहादुरसँग गठबन्धन हुँदा उनले पनि नामै तोकेर फलानो नियुक्ति गरे भन्थे । पछि केपीसँगको गठबन्धनपछि उनले पनि यही भन्ने । केपीले त यो नियुक्ति नगरे समीकरण नरहने भनेर खुल्ला चुनौती दिएका थिए । त्यो नाम शेरबहादुर र केपी दुवै जनाले लिएको एउटै नाम थियो । तर, ती मान्छे अनियमितता र लुटपाट मच्चाउने खालका थिए । त्यसकारण मैले नियुक्ति प्रक्रिया नै रद्द गरिदिएँ ।’ त्यसपछि जुन जुन घरमा मिटिङ भयो र सरकार ढाल्ने विषयमा कसको घरमा हस्ताक्षर भयो भनेर सबै सार्वजनिक भएको उनले बताए । 

आफू प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला नियुक्त गरेका कुलमान घिसिङले देशमा लोडसेडिङको अन्त्य गरेको भए पनि अहिले उनैलाई हटाउन सरकारले तयारी गरिरहेको प्रचण्डले दाबी गरे । ‘अब कुलमानलाई जसरी पनि हटाउने गरी सरकार लागेको छ । दलालसँग बसेर माइरेको कुराले पनि प्रस्ट कुरा भयो,’ उनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई लक्षित गर्दै भने । 

उनले अब सदनमार्फत पार्टीले पाउने हकको विषयमा जमेर लड्ने बताए । ‘हामीले पाउने हक पनि दिएनन् भने हामी जमेर सङ्घर्ष गर्छौँ । भ्रष्टाचारविरुद्ध लागेका प्रहरी अधिकृतहरूलाई जथाभाबी सरुवा गरिएको छ । त्यसका विरुद्ध पनि हामी सङ्घर्ष गर्छौँ,’ पार्टी बैठकमा उनले भने, ‘हाम्रा पार्टीले जितेका १२२ वटा स्थानीय सरकारले नमुना काम गरेर जनतालाई देखाउँछौँ ।’

राजनीतिक परिस्थितिले माओवादी अहिले प्लसको अवस्थामा रहेको उनले सुनाए । संवैधानिक परिषद्मा काँग्रेस एमालेले एकलौटी गर्न नसक्ने, संविधान संशोधन गर्न राष्ट्रियसभामा उनीहरूको बहुमत नपुग्ने र त्यहाँ बहुमत पुर्‍याउन अझै डेढ वर्ष लाग्न सक्ने उनले बताए । त्यो समयावधि आफ्नो पार्टीको लागि प्लस पोइन्ट रहेको उनले बताए । दुवै छिमेकी राष्ट्रहरु पनि अहिलेको गठबन्धनसँग सशङ्कित रहेको उनले सुनाए । ‘अहिलेको सरकारप्रति दुवै छिमेकी देश खुसी छैनन् । यो त सात समुन्द्रपारीबाट बनेको सरकार हो भन्ने उनीहरूलाई शङ्का छ,’ प्रचण्डले भने । 

आफ्ना सांसदहरुले सरकारलाई सदनबाट पेल्दै गएको बताउँदै आगामी दिनमा त्यसलाई अझै सशक्त पारिने उनले बताए । ‘लेखा समितिबाट भ्रष्टाचारीलाई जोगाउन लागेका छन् । हामी आगामी दिनमा सदनमा अझै सशक्त ढङ्गले उत्रने छौँ,’ उनले भने । 

पार्टी बनाउने अन्तिम अवसर

Maobadi (1)

उनले आफ्नो जीवन कालमा पार्टी बनाउने अन्तिम मौका भएको पनि बताए । ‘मेरो लागि यो अन्तिम मौका छ । तपाईँहरूको लागि त फेरि फेरि पनि मौका आउला,’ प्रचण्डले भने, ‘मेरो उमेरका कारण पनि अब यो अन्तिम मौका हो ।’ प्रचण्डले पूर्व माओवादी घटकहरूलाई एकताको दिशामा अगाडि बढाउने बताए । 

‘विप्लवसँग पनि एकता गर्ने हो, किरणजीसँग पनि एकता गर्ने हो । कुरा भएको छ । अब फेरि केन्द्रीकृत हुनुको विकल्प छैन । अब पार्टी एकता तिर जानु पर्छ । केही पार्टीहरूले त सैद्धान्तिक हिसाबले मिल्ने भनेर निर्णय नै गरिसकेका छन् । सकिन्छ भने समाजवादी मोर्चालाई नै पार्टी एकता संयोजन समिति बनाउने कोसिस हुन्छ । नभए समाजवादी मोर्चा बनाएर एमालेभित्र भूकम्प ल्याउनु पर्छ,’ प्रचण्डले भने, ‘एमालेलाई ठुलो धक्का दिन जरुरी छ ।’ उनले माओवादीलाई सहयोग गर्नेहरू विस्मृति तिर र विरोधीहरू स्मृतिमा आउन थालेका कारण पार्टी प्रदूषित भएको बताए । ‘हामी चिन्तित र पीडित हुने । तर, नेतृत्वमा रूपान्तरण नआउने स्थिति बन्यो । त्यसकारण आफूले नै विद्रोहको सुरुवात गर्नुपर्छ भन्ने निष्कर्ष म पुगेको हो,’ प्रचण्डले भने । 

पार्टी करेक्सन गर्ने ठिक पोइन्टमा आइपुगेको उनले सुनाए । ‘संसदमा मैले विश्वासको मत लिने समयमा गरेको सम्बोधन नै विद्रोह हो । हाम्रो अबको लाइन रुपान्तरणको लाइन हो,’ उनले भने, ‘पार्टी हेर्दा हेर्दै विसर्जनतिर जान लाग्दा मलाई छटपटी भयो । त्यही कारण नयाँ सङ्कल्पसहित हामी सरकारमा गएका थियौँ र सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि हाम्रो नारा थियो । यो पनि विद्रोह नै थियो ।’

कतिपयले केपी ओलीको व्यवहारबारे प्रचण्डले नबुझेको भनेर टिप्पणी गरेको भन्दै प्रचण्डले भने, ‘केपी यस्तो छ भन्ने थाहा पाउँदा पाउँदै अध्यक्षले किन यसो गरेको होला भन्ने लागेको होला ? त्यसो किन भन्दा हाम्रो पार्टीको दिमागमा लेफ्टहरूलाई एक ठाउँमा पार्ने र समाजवादी क्रान्ति गर्ने भन्ने परेको छ । एक वर्ष अगाडिदेखि केपीको मात्रै होइन उनका वरिपरिका मान्छेहरूले पनि त्यही भने । त्यसलाई विश्वास गरियो र एमालेसँग सहकार्य गरिएको हो । हामी साम्राज्यवाद र प्रभुत्ववादसँग भर परेर अगाडि बढ्न सक्दैन थियौँ । ट्याक्टिकल्ली हिसाबले बुर्जुवासँग मिलेपनि रणनीतिक हिसाबले समाजवादी र कम्युनिस्टहरूसँगै मिल्नुपर्छ भन्ने लाग्यो र मिलेको हो ।’ तर, उक्त भावनामाथि धोका दिएर काँग्रेससँग मिलेसँगै संसारभरका कम्युनिस्ट र समाजवादीहरूसामु एमाले अध्यक्ष ओलीले नाङ्गिँदा आफ्नो पार्टीलाई नै फाइदा पुगेको प्रचण्डको विश्लेषण थियो । 

आफूले केपीलाई बुझेरै पार्टी सदस्यबाट कुनैबेला निष्कासन गरेको दृष्टान्त पनि उनले दिए । ‘केपीलाई मैले नबुझेको होइन । मैले केपी प्रवृत्तिलाई बुझेर नै १९ पृष्ठको दस्ताबेज लेखेको हो नि । पार्टीको पुरै कमाण्ड सम्हालेर उनलाई पार्टी बाटै कारबाही गरिएको हो नि । हाम्रो क्षमता कम थियो र ? दलमा पनि बहुमत त हामीले बनाएकै हो नि... त्यो आँट त गरेकै हो । तर, निर्वाचन आयोग र अदालत हाम्रो पक्षमा नभएको कारण त्यो कुरा स्थापित गर्न नसकेको मात्रै हो,’ प्रचण्डले भने । 

उनले टिआरसीको विषयमा कार्यदलमा भएको सहमतिले आफूहरूको टाउकोमा झुन्डिएको तरबार हट्ने दाबी गरे । अन्तिम समयसम्म पनि एमालेले टिआरसिको विषय टुङ्गो लगाउन नचाहेको र अड्का थापिरहेको भए पनि त्यसबाहेक अरूले यो विषय टुङ्गो लगाउन चाहेका कारण कार्यदलमा सहमति भएको उनको भनाइ छ । 

प्रचण्डले कोशी प्रदेशको नामकरणमा देखिएको समस्या समाधानका लागि आगामी भदौ पहिलो साता बस्ने स्थायी समितिको बैठकले ठोस निर्णय गर्ने बताए । आफ्नो पार्टीले पहिचानको मुद्दा नछोडेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप