चेस ओलम्पियाडको बन्द प्रशिक्षण बुधबारदेखि, काजकस्तानका जीएम काजिलेभ नेपालमा
काठमाडौँ । विश्व बुद्धिचाल महासंघको आयोजनामा सन् २०२४ को सेप्टेम्बर ९ देखि २३ तारिखसम्म हंगेरीको बुढापेष्टमा ४५औँ चेस ओलम्पियाड सञ्चालन गर्ने भएको छ । प्रतियोगितामा नेपालले पुरुष र महिला गरी दुईवटा टोली सहभागी गराउने भएको छ ।
४५औँ चेस ओलम्पियाडमा सहभागी हुने नेपाली खेलाडीका लागि नेपाल बुद्धिचाल महासंघले बुधबारदेखि ठमेलस्थित होटल सत्कारमा बन्द प्रशिक्षण सञ्चालन गर्ने प्रवन्ध मिलाएको छ । नेपाली खेलाडीलाई प्रशिक्षण दिन काजकस्तानका ग्राण्ड मास्टर (जीएम) अजिब क्याक्ट काजिलेभ मंगलबार काठमाडौँ आइपुगेका छन् ।
काजिलेभलाई नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई, महासचिव धरमबहादुर लामा, उपमहासचिव मोनालिसा खम्बु र कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
चेस ओलम्पियाडमा एक सय ९१ राष्ट्रका खेलाडीको सहभागीता रहने बताइएको छ । नेपाली पुरुष टोलीले समूह ‘डी’ मा रहेर प्रतिस्पर्धा गर्नेछ । उक्त समुहमा नेपालले पदक हासिल गर्ने लक्ष्यसहित तयारी गरिरहेको महासंघले जनाएको छ ।
यसका लागि महासंघले साउन २३ देखि भदौ ५ गतेसम्म विशेष प्रशिक्षण सञ्चालन गर्ने भएको छ । त्यसलगत्तै नेपाली टोलीका लागि थप १५ दिनको अनलाइन प्रशिक्षणको व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।
गत वैशाखमा सम्पन्न २४औँ नेसनल चेस च्याम्पियनसिप तथा ओलम्पियाड छनोटमा उत्कृष्ट भएका झापाका नेपाल च्याम्पियन २०१९ रेटड राजन सुवेदी , २००५ रेटेड सीएम शुश्रुत दाहाल, काभ्रेका फिडे मास्टर २०९० रेटेड क्षितिज भण्डारी, रौतहटका २०३९ रेटेड रुपेश जैशवाल र नेपाली उच्च वरीयताका सीएम २२८२ रेटेड विवेक थिङ पुरुष टोलीमा रहेका छन् ।
यसैगरी महिलातर्फ राष्ट्रिय च्याम्पियनसिपमा उत्कृष्ट भएका पाँच खेलाडी काठमाडौँकी १७०८ रेटेड सिन्दिरा जोशी, झापाकी १७४६ रेटेड कृतिसारा अधिकारी, कास्किकी १६८४ रेटेड पूजा भण्डारी, मोरङकी १६७८ रेटेड शान्ति धिमाल र काठमाडौँकी युवा १६ राष्ट्रिय च्याम्पियन १६४० रेटेड रिया श्रेष्ठ बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।
विश्व बुद्धिचाल महासंघको निमन्त्रणामा हंगेरी जाने टोलीको नेतृत्व गर्दै चिफ डेलिगेट्सका रुपमा महासंघका अध्यक्ष हेराकाजी महर्जन र फिडे डेलिगेटका रुपमा महासचिव धरमबहादुर लामा बुढापेष्ट जाने भएका छन् । डेलिगेट्सले नेपालमा बुद्धिचाल खेलको विकासका लागि महत्वपूर्ण भेटघाट गर्ने महासंघले जनाएको छ ।
चेस खेल महाकुम्भको रुपमा रहेको उक्त ४५औँ हंगेरी चेस ओलम्पियाडमा पुरुषतर्फ संयुक्त राज्य अमेरिकालाई पहिलो वरियता प्रदान गरिएको छ । भारत दोस्रो, चीन तेस्रो, उज्बेकिस्तान चौथो र नेदरल्याण्ड्स पाँचौँ वरियतामा छन् ।
महिलातर्फ जर्जिया पहिलो वरीयतामा छ । भारत दोस्रो, पोल्याण्ड तेस्रो, चीन चौथो र अजरबैजान पाँचौँ वरीयतामा छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पुरुष टोली ११५औँ र महिला टोलीले ११७औँ वरीयतामा छन् । महासंघका अनुसार, नेपालले पुरुषतर्फ कोषाध्यक्ष ताराबहादुर रानाभाट र महिलातर्फ केन्द्रीय सदस्य राजु ताम्राकारको नेतृत्वमा प्रतियोगितामा सहभागिता जनाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास