सेयर बजार : सांसदले भनेजस्तै कृत्रिम रूपमा मूल्य बढाइएको हो ?
काठमाडौँ । सोमबार प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले खरो प्रश्न राखे, ‘बुक भ्यालु ७७ रुपैयाँ भएको कम्पनीको सेयर मूल्य १६ सय रुपैयाँ कसरी पुग्यो ?’
एक महिना अघिसम्म करिब ६ सय रुपैयाँ रहेको नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य एकाएक २१ सय ५४ रुपैयाँ पुर्याइएको भन्दै सांसद सिंहले कम्पनीको सेयर मूल्य वृद्धिमा चलखेल भएको आरोप लगाए । कम्पनीको वास्तविक बुक भ्यालुका आधारमा प्राइस र अर्निङ हेर्दा अस्वाभाविक देखिएको उनको भनाइ थियो ।
यति मात्र होइन, सांसद सिंहले नामै किटेर सन्दीप जलानको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट कम्पनी लिमिटेडको वास्तविक बुक भ्यालु १ सय ४७ रुपैयाँ रहेको तर चलखेलकै आधारमा १ हजार ५० रुपैयाँ पुर्याइएको आरोप उनले लगाए ।
यस्तै, अनिल रुगंटाको सीडीएन हाइड्रोपावर डेभलपमेन्ट, अम्बिका पौडेलको हाथवे इन्टरनेसनल नेपाल लिमिटेडले समेत चलखेल गरेर सेयर मूल्य बढाएको र साना लगानीकर्तालाई डुबाउने चलखेल गरेको आरोप सिंहले संसद्मा नै लगाए ।
७७ रुपैयाँदेखि ३ सय रुपैयाँसम्म बुक भ्यालु रहेका यी कम्पनीहरूको सेयर मूल्य एकाएक १८ सय रुपैयाँसम्म पुर्याइएको भन्दै सांसद सिंहले वास्तविकता पत्ता लगाउन सरकारले अध्ययन समिति नै गठन गर्नुपर्ने माग राखे । इन्भेस्टर र सेयर ब्रोकर मिलेर सेयर बजारमा चलखेल सुरु गरेको उनको आरोप छ ।
उसो त सांसद सिंह मात्र होइन अस्वाभाविक सेयर बजारको उतारचढावलाई देखेर पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत पनि सशङ्कित छन् । मौद्रिक नीति लगत्तै साउन १८ गते (शुक्रबार) बसेको अर्थ समितिको बैठकमा बोल्दै डा.महतले अर्थमन्त्री र मौद्रिक नीतिलाई देखाएर अस्वाभाविक रूपमा सेयर बजार बढाइएको र यसले बजारका साना लगानीकर्ता फस्ने खतरा बढेको चिन्ता व्यक्त गरे ।
‘अहिले सेयर बजार बढ्नुपर्ने कुनै खास आधार छैन । न तथ्य, न तथ्याङ्क न त कम्पनीहरूकै प्रतिफलले सेयर बजारमा आकर्षित गरिरहेको छ । यो त केबल राजनीतिक लोकप्रियताका लागि लिएको प्रचार नीतिले काम गरिरहेको छ,’ डा.महतले भने, ‘मौद्रिक नीतिले खारेज गरेको सेयर धितोकर्जाले पनि अहिले बजार बढाएको छैन ।’
हल्लाकै पछि सेयर बजार अस्वाभाविक रूपमा बढाइएको भन्दै पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले यसले बजारमा ठुला लगानीकर्ता कमाएर फुत्किने र साना लगानीकर्ताहरू फस्ने खतरा देखिएको बताए ।
खास गरी राजनीतिक स्टन्ट, अर्थमन्त्री विष्णुप्रसाद पौडेलको आगमन र राष्ट्र बैंकको झुकावकै कारण सेयर बजारमा काम गरेको बताएका डा. महतले अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेको भनेर व्यङ्ग्य समेत गर्न भ्याए ।
प्रतिउत्तरमा अर्थमन्त्री पौडेलले जे कारणले सेयर बजार बढेको भए पनि लगानीकर्ताहरूले सुझबुझका साथ कम्पनीको स्ट्याटस, वित्तीय स्थिति बुझेर मात्र लगानी गर्नुपर्ने बताएका थिए । यही मुद्दाले अहिले सडक, चिया पसलदेखि संसद्सम्म तातिरहेको छ ।
- अन्तर्राष्ट्रिय बजार खस्किँदै गर्दा नेपालको सेयर बजार कसरी बढ्यो ?
२०८१ असार २० गते यता एक महिनामा नेपाली सेयर बजार ६६० अङ्कमाथिले बढिसकेको छ । खास गरी नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार ढल्दै गर्दा सेयर बजार २ हजार १३६ अङ्क हाराहारीमा रहेको थियो । तर, सरकार परिवर्तनपछि सत्तामा नेकपा एमालेको नेतृत्वमा कांग्रेसको समेत सहभागिता भएसँगै सेयर बजार सूचक नेप्से झन्डै २८ सय (साउन २१ गतेको रेकर्ड २७९६.३८ अङ्क) पुग्यो । तथापि, पछिल्लो दिन मंगलबार नेप्सेमा भारी (१४५ अङ्कको) गिरावट आउँदै २६५१ बिन्दुमा छ ।
यति नै बेला अन्तर्राष्ट्रिय सेयर बजार भने ओरालो लागिरहेको छ । विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक अमेरिका, जापान, कोरिया, बेलायत लगायतका ठुला अर्थतन्त्र भएका मुलुकहरूको पुँजी बजार समेत खस्किरहेका बेला नेपालको भने बढ्नुले धेरैलाई आश्चर्य बनाएको छ ।
सोमबारकै कुरा गर्ने हो भने अमेरिकाको पुँजी बजार सन् २०२२ अक्टोबर यताकै खराब स्थितिमा पुगेको थियो । एकैदिन १ हजार ३३ अङ्कले घटेको अमेरिकाको सेयर बजार ३८ हजार ७०३ विन्दुमा झर्न पुग्यो ।
यसै गरी जापान, दक्षिण कोरिया, ताइवान लगायत दक्षिण एसियाली मुलुकहरूको सेयर मार्केट पनि १२ प्रतिशतसम्मले घट्न पुगेको छ । सोमबार जापानको सेयर बजार १२.४ प्रतिशतले घट्न पुग्दा दक्षिण कोरियाको ८.७७ प्रतिशत र ताइवानको ८.३५ प्रतिशतले सेयर बजार घट्न पुगेको छ । यसै समयमा अस्ट्रेलियाको सेयर बजार ३.७ प्रतिशतले घट्दा हङकङको १.४६ प्रतिशत र चीनको संघाई कम्पोजिट स्टक एक्सचेन्ज १.५४ प्रतिशतले घट्न पुगेको छ ।
त्यसो त अमेरिका र एसियाली मुलुकहरूको मात्र नभएर पछिल्ला दिनमा युरोपेली मुलुकहरूको सेयर बजार समेत खस्किएको छ । गत सोमबार मात्र युरोपेली सेयर बजार २.२ प्रतिशतले गिरावट आएको छ । बेलायतको सेयर बजार पनि २ प्रतिशतले घटेको छ ।
खास गरी विश्व बजारमा आएको आर्थिक मन्दी, रोजगारीको चिन्ता र ठुला कम्पनीहरूले गरेको उत्पादन र रोजगारीको कटौतीले गर्दा पुँजी बजार खस्किन पुगेको बुझिएको छ । टेस्ला, अल्फाबेट, माइक्रोसफ्ट, एप्पल, अमेजन, जस्ता ठुला कम्पनीहरूको सेयर मूल्यमा आएको गिरावटले अन्तर्राष्ट्रिय सेयर मार्केट प्रभावित हुन पुगेका छन् । तर, यता सोही समयमा नेपालको सेयर बजार भने बुम अर्थात् बढिरहेको छ ।
- कुन तत्त्वले काम गर्यो नेपालमा ?
वित्तविद् अनलराज भट्टराई उत्साहको लहर (वेभ) मा सबै बहकिँदा बजारले उग्र रूप लिएको स्विकार्छन् । ‘हाम्रोमा मात्र होइन संसारका ठुलठुला अर्थतन्त्र भएका व्यवस्थित भनिएका देशहरूमा पनि यो खालको लहर आउँछ । सबै लगानीकर्ताहरूले सुझबुझका साथ सेयर बजारमा लगानी गर्छन् भन्ने छैन । यसैमा खेलेर जो कोहीले बजारलाई म्यानुपुलेट गर्न पनि सक्छ । तर यसमा नियामक बलियो हुनुपर्छ’ भट्टराईले रातोपाटीसँग भने, ‘तर हाम्रोमा नियामकीय निकाय निकै कमजोर भयो ।’
कुनै पनि कम्पनीको वित्तीय रिपोर्टको सूचनालाई प्रभावकारी रूपमा प्रवाह गर्ने र कारोबारको विश्लेषण अनुगमन गर्ने कार्य हुनुपर्ने भए पनि हाम्रोमा अत्यन्त कमजोर रहेको भट्टराईको भनाइ छ ।
‘कसैले राम्रो भनिदियो र कुनै कम्पनीको मूल्य बढ्यो भने लगानीकर्ताहरू त्यतै झुम्मिइहाल्छन् । ती दुई चारवटा कम्पनीको सेयर मूल्य अस्वाभाविक रूपमा बढ्छ । यसले कम्पनीको वास्तविक मूल्य भन्दा बढी बबल मूल्यलाई अझ माथि पुर्याउँछ । र यसबाट धेरैभन्दा धेरै साना लगानीकर्ता डुब्ने खतरा रहन्छ,’ उनले भने ।
तर, यता लगानीकर्तासमेत रहेका सेयर बजार विश्लेषक छोटेलाल रौनियार सेयर बजार पोजेटिभ वे (सकारात्मक बाटो) मा नै रहेको बताउँछन् । ३२ सयको अङ्कमा पुगेको नेपाली सेयर बजार १८ सयमा झरेर २८ सयको विन्दुसम्म पुगेकोमा बजारले बिस्तारै रिकभरीको बाटो लिएको उनी बताउँछन् ।
‘बजारमा केही बदमासहरू पनि छन् । उनीहरूले बजार आफू अनुकूल चलाउन खोज्छन् । तर यसो भन्दैमा सबै खराब भए भन्न मिल्दैन । सेयर बजारलाई जुवा घर नै हो भन्न मिल्दैन,’ रौनियारले भने, ‘यसका लागि नियामक दरिलो हुनुपर्छ । खराब वित्तीय स्थिति भएका कम्पनीहरूको सेयर कारोबार हुने बदमासी र केही बदमासहरूले गर्ने गतिविधिमा निगरानी गर्नुपर्छ । बाँकी लगानीकर्ताहरूलाई पनि सचेत गराउनुपर्छ ।’
मंगलबारको बजारमा तीव्र गिरावट आउनुमा भने छिमेकी मुलुक बंगलादेशमा घटेको घटनाले केही प्रभावित बने पनि खास कारण लगानीकर्ताहरूले नाफा बुक गर्न लाग्दा घटेको उनी बताउँछन् ।
‘दुई चार दिन यता लगातार सूचक वृद्धिसँगै २०–२२ अर्बको कारोबार भइरहेको छ । बजार सकारात्मक बाटोमा नै अघि बढिरहेको छ । तर आज अधिकांश लगानीकर्ताहरूले नाफा बुक गर्नतर्फ लाग्दा बजार खुम्चियो । भोलिबाट फेरि बढ्छ,’ रौनियारले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि रिहादेखि रास्वपा उत्साहितसम्म
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा