आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
चितवन दुर्घटना

कार्यदलले औँल्यायो दुर्घटनाका ५ कारण

ग्रामीण सडक बनाउँदा निस्केको माटो बग्दा दुर्घटना
मङ्गलबार, २२ साउन २०८१, १६ : ०८
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।

सिमलतालमाथिको पहाडी क्षेत्रमा हालसालै निर्माण भएको (सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ) सडक बनाउँदा भएको कमजोरीको कारण दुईवटा डिलक्स बस त्रिशूलीमा खसेको छानबिन निष्कर्ष छ । कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको र इन्जिनियरिङ डिजाइन बिनाको सडक बनाउँदा बर्सातमा त्यसको असर देखिएको कार्यदलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ,‘सडक बनाउँदा कट एण्ड फिल एप्रोचमा काम नगरेर कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक निस्केको माटो छेउमा फ्याँकिएको र टेवा पर्खाल नहुँदा डेब्रिज सिन्दुरे खोल्सा हुँदै बगेको देखिन्छ ।’

बगेको डेब्र्रिजको प्रेसर चेक ड्याम र ग्याविन वालले धान्न नसकेपछि बाढीसँगै आएको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुईवाट बस धकेलेर त्रिशूलीमा खसालेको कार्यदलको निष्कर्ष छ ।

असार ३१ मा गृहमन्त्री लेखकले कार्यदल बनाएका हुन् । कार्यदलले सडक डिभिजन भरतपुरले डेब्रिज सफा गर्दा माथिल्लो साइडमा थुप्रिएको डेब्रिज बगेर सडकतिरै आउन सक्छ भन्नेमा ध्यान नदिएको उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ,‘कल्भर्ट र क्याचपिट नियमित सफा गरेको देखिँदैन ।’

सडक बनाउँदा वातावरणीय पक्षको ध्यान नदिएको र सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकाश नहुँदा दुर्घटना भएको कार्यदलको निष्कर्ष छ । प्रतिवेदनमा भनिएको छ,‘एकीकृत सूचना प्रणाली नहुँदा सवारी चालकले सडकको अवस्था पूर्वानुमान नगरेको र सुरक्षाकर्मीले पनि बस रोक्न आवश्यक ठानेनन् ।’

जोखिमपूर्ण सडक भएपनि ठुलो वर्षा भइरहेको बेला ‘सेफ्टी फस्ट’ भन्ने मूल कुरामा ध्यान नदिँदा दुर्घटना भएको अध्ययन निष्कर्ष छ ।

असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । दुवै बस र ४० जना यात्रुको अवस्था अझै अज्ञात छ । बसमा सवार २५ जनाको शव भेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप