शेख हसिना : दुई दशक सत्तामा रहेकी ‘आइरन लेडी’को पतनको कथा
ढाका । हप्तौँदेखि जारी हिंसात्मक विद्यार्थी आन्दोलन देशव्यापी अशान्तिमा परिणत भएपछि बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार राजीनामा दिएर भारत भागिन् । यससँगै बङ्गलादेशमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेकी हसिनाको सत्तायात्राको दु:खद अन्त्य भएको छ ।
हसिनाले बङ्गलादेशमा करिब २० वर्षसम्म बलियो पकडका साथ शासन गरेकी थिइन् । बंगलादेशको आर्थिक प्रगतिको श्रेय उनैलाई दिइन्छ । तर पछिल्ला वर्षहरूमा उनीमाथि तानाशाह बनेको आरोप लाग्दै आएको थियो ।
कसरी सत्तामा आइन् शेख हसिना ?
हसिनाको जन्म सन् १९४७ मा पूर्वी बङ्गालको एक मुस्लिम परिवारमा भएको थियो । हसिनाले राजनीति विरासतमा पाएकी हुन् । उनका पिता राष्ट्रवादी नेता शेख मुजिबुर रहमान थिए । उनी बङ्गलादेशका संस्थापक र राष्ट्रपिता थिए । सन् १९७१ मा बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र गराएर उनी देशको पहिलो राष्ट्रपति भए । त्यतिबेला शेख हसिनाले आफूलाई ढाका विश्वविद्यालयमा विद्यार्थी नेताका रूपमा स्थापित गरिन् ।
सन् १९७५ मा सैनिक विद्रोहका बेलामा मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्य मारिए । विदेश यात्रामा रहेकोले हसिना र उनकी कान्छी बहिनी मात्र बाँचे । केही समय भारतमा निर्वासित जीवन बिताएपछि हसिना सन् १९८१ मा बङ्गलादेश फर्किइन् अनि पिताको राजनीतिक दल अवामी लिगको नेता भइन् । अन्य राजनीतिक दलहरूसँग मिलेर उनले जनरल हुसेन मोहम्मद एरशादको सैन्य शासनविरुद्ध सडकमा प्रदर्शन गर्दै लोकतन्त्रको माग गरिन् ।
देशमा भएको विद्रोहले शेख हसिनालाई चाँडै राष्ट्रिय प्रतिमा बनायो । उनी पहिलो पटक सन् १९९६ मा निर्वाचित भएर सत्तामा आएकी थिइन् । भारतसँग जलसन्धि गरेको र देशको दक्षिणपूर्वी क्षेत्रमा विद्रोहीसँग सन्धि गरेको श्रेय उनैलाई दिइन्छ । तर, यही समयमा उनीमाथि कयौँ सम्झौतामा भ्रष्टाचार गरेको र भारतको अत्यधिक प्रभावमा रहेको आरोप पनि लाग्यो । सन् २००१ को चुनावमा उनी राजनीतिक सहयोगीबाट प्रतिद्वन्द्वी बनेकी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की बेगम खालिदा जियासँग हारिन् ।
दुई राजनीतिक परिवारका उत्तराधिकारी यी दुई महिलाले तीन दशकसम्म बङ्गलादेशको राजनीतिमा प्रभुत्व जमाए । यी दुईलाई ‘ब्याटलिङ बेगम’ भनिन्छ । उच्च परिवारका मुस्लिम महिलालाई बेगम भनिन्छ । यी दुई महिला नेताबिचको तिक्त राजनीतिक प्रतिस्पर्धाका कारण त्यतिबेला बङ्गलादेशमा बसमा बम विष्फोट, अपहरण र गैरन्यायिक हत्याका घटना सामान्य बन्दै गएको विश्लेषकहरू बताउँछन् ।
सन् २००९ मा हसिना फेरि सत्तामा आइन् । यो निर्वाचन कार्यवाहक सरकारको निगरानीमा भएको थियो । हसिनालाई राजनीतिक ‘सर्भाइभर’ पनि भनिन्छ । उनी कयौँ पटक जेलमा परेकी थिइन् भने ज्यान मार्न भएका अनेकौँ आक्रमणबाट बच्न पनि सफल भइन् । सन् २००४ मा भएको आक्रमणका कारण उनको श्रवण शक्तिमा क्षति पुगेको थियो । उनलाई देश निकाला गर्ने प्रयास पनि बारम्बार भए भने भ्रष्टाचारको आरोपमा कैयौँ मुद्दामा पनि फसिरहिन् ।
हसिना सरकारको उपलब्धि
शेख हसिनाले शासन गरेको बंगलादेशले विपरीत चित्र प्रस्तुत गरेको छ । मुस्लिम बाहुल्यता रहेको बंगलादेश कुनै समय विश्वको सबैभन्दा गरिब देश थियो । तर हसिनाको नेतृत्वमा सन् २००९ यता यसले अविश्वसनीय आर्थिक प्रगति हासिल गरेको छ । अहिले बङ्गलादेश दक्षिण एसियाली क्षेत्रको सबभन्दा तीव्र गतिमा बढ्ने अर्थतन्त्र मध्येको एक हो । आर्थिक प्रगतिको मामिलामा यसले छिमेकी भारतलाई पनि उछिनेको थियो ।
पछिल्लो दशकमा बङ्गलादेशको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ । विश्व बैंकको अनुमान अनुसार बङ्गलादेशमा विगत दुई दशकमा २ करोड ५० लाख मानिस गरिबीको रेखाबाट बाहिर निस्किएका छन् । बङ्गलादेशको आर्थिक प्रगतिको श्रेय देशको त्यहाँको तयारी पोसाक उद्योगलाई जान्छ । कुल निर्यातको अधिकांश हिस्सा कपडा उद्योगले ओगटेको छ । हालैका दशकहरूमा यो क्षेत्रको निर्यात द्रुत गतिमा बढेको छ । बंगलादेशबाट युरोप, अमेरिका र एसियाली बजारमा तयारी पोसाक निर्यात हुन्छ ।
कुन–कुन विवादमा घेरिएकी छिन् हसिना ?
सत्ता ग्रहण गरेपछि शेख हसिनाले सामना गर्नुपरेको विद्यार्थी आन्दोलन अहिलेसम्मकै सबैभन्दा गम्भीर संकट हो । अत्यधिक विवादित चुनावी परिणामपछि यी प्रदर्शनहरू भएका हुन् ।
विवादित आम निर्वाचनमा उनको पार्टी लगातार चौथो पटक निर्वाचित भएको थियो । राजीनामाको माग बढ्दै जाँदा पनि हसिना अडिग रहिन् । आन्दोलनकारीलाई ‘आतंकवादी’ भन्दै उल्टै आलोचना गरिन् । प्रदर्शनरतलाई कडाइका साथ सामना गर्न उनले सेनासँग सहयोग पनि मागेकी थिइन् ।
ढाका र देशका अन्य हिस्साहरूमा सरकारी जागिरहरूमा आरक्षण खारेज गर्ने मागको साथमा सुरु भएको विरोध प्रदर्शन सरकार विरोधी उग्र आन्दोलनमा परिणत भयो । कोभिड महामारी पछि बङ्गलादेश उच्च मुद्रास्फीतिको चपेटामा आएको थियो ।
महँगीले ढाड सेकिएर जनताहरू खर्च धान्न नसक्ने भएका थिए । विदेशी मुद्रा सञ्चिति घटिरहेको थियो । विदेशी ऋण सन् २०१६ यता दोब्बर भएको थियो । आलोचकहरूले यी सबैको लागि हसिना सरकारको व्यवस्थापनलाई जिम्मेवार ठहराएका छन् । बृहत् स्तरमा भ्रष्टाचारका कारण बङ्गलादेशको आर्थिक प्रगतिको फाइदा हसिनाको अवामी लिग पार्टीसँग नजिक भएकाहरूलाई मात्र पुगेको आरोप उनीहरूको थियो ।
लोकतन्त्र र मानवअधिकारको मूल्य चुकाएर देशको प्रगति भएको आलोचकहरूले बताइरहेका थिए । हसिनाको शासनकालमा उनका राजनीतिक विपक्षी, मिडिया र विरोधीहरूलाई दमन गरिएको उनीहरूको आरोप थियो । बङ्गलादेश सरकार र शेख हसिनाले सधैँ यस्ता आरोप अस्वीकार गर्दै आएका थिए । तर हालैका महिनाहरूमा सरकार विरोधी प्रदर्शनमा बीएनपीका कयौँ वरिष्ठ नेताहरूलाई गिरफ्तार गरियो । हजारौँ राजनीतिक कार्यकर्ता र नागरिकहरू पनि पक्राउ परे । हसिना कुनै बेला देशमा बहुदलीय प्रजातन्त्रका लागि लड्ने नेता थिइन् । तर पछिल्लो समय उनी आफैँ निरङ्कुश बनेकी थिइन् ।
सन् २००९ यता सयौँ मानिस बेपत्ता पारिएको र गैरन्यायिक हत्याबारे बङ्गलादेशका मानवअधिकार समूहहरूले पनि चिन्ता व्यक्त गरेका छन् । शेख हसिनाको सरकारले यस्ता आरोपलाई ठाडै अस्वीकार गर्दै आएको छ । उनको सरकारले यस्ता आरोपको छानबिन गर्न चाहने विदेशी पत्रकारको भ्रमणमा रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
-
कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
-
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
-
हातमा बर्गर समातेर अमेरिकालाई स्वस्थ बनाउँछु भन्दैछन् अमेरिकी स्वास्थ्यमन्त्री
-
झाँक्री प्रकाश भुजेल र मृतक परिवारबिच सहमति, शव उठाइँदै
-
डेडिकेटेड र ट्रंकलाइनको बिल अध्ययन गर्न समिति गठन