शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कयौँ जोखिम मोलेर कमाउनका लागि पोर्चुगल छिर्दैछन् नेपाली युवा

मङ्गलबार, २२ साउन २०८१, १२ : ५४
मङ्गलबार, २२ साउन २०८१

पोर्चुगल । देशमा रोजगारीको अवसर नभएपछि बिदेसिने नेपाली युवाको सङ्ख्या बढ्दो छ । यही क्रममा कतिपयले अहिले पोर्चुगललाई गन्तव्य बनाउने गरेका छन् ।

युरोपको टेम्प्रोरी कार्ड (टीआर) बनाउन सजिलो देश पोर्चुगल (पोर्तुगाल) हो । पछिल्लो समयमा खाडी मुलुकमा रोजगारी गरेर कमाएको पैसा युरोप आउनका लागि खर्चिएको पाइएको छ । कयौँ नेपाली पोर्चुगलमा आएर आफ्नो भविष्यको खोजी गरिरहेका छन् ।

सन् २०२० मार्चमा महिनाको अन्तिममा अर्घाखाँची स्थायी घर भएका हरिस (नाम परिवर्तन) अध्ययनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रसिया गए । अध्ययनका लागि रसिया जानु उनको बहाना मात्र थियो, अन्तिम उद्देश्य युरोप छिर्नु थियो ।

नेपालमा दलाललाई करिब १० लाख रुपैयाँ बुझाएर खल्तीमा करिब ३ हजार युरो (नेपाली करिब ४ लाख ५० हजार रुपैयाँ) बोकेर उनी रसियको किएभ गए । उनले त्यहाँ विश्वविद्यालयमा पढ्नका लागि ६ महिना अनिवार्य भाषा कक्षा लिनुपर्ने थियो ।

विश्वविद्यालयको होस्टेलमा बसेर भाषा अध्ययन गरे । ‘भाषा अध्ययन त बहाना थियो, मौका मिल्नासाथ युरोप छिर्ने पर्खाइमा थियौँ,’ हरिसले भने ।

करिब १ वर्षका बसाइपछि उनीसहित १० जनालाई पोल्यान्ड, जर्मनी हुँदै पोर्चुगल आउने बाटो दलालले बनाइदियो । उनीहरू आफ्नो पासपोर्टले रसियाबाट बेलारुस छिरे । रसियाको भिसा भएकाले उनीहरूलाई बेलारुस छिर्न त्यति अप्ठ्यारो परेन ।

उनीहरू एक दिन बेलारुसको राजधानी मिन्स्क बसे । रसियाबाट आएको थकाइ मोर उनीहरू अर्को दिन पोल्यान्डको बोर्डर पार गर्नुपर्ने थियो । दलालले दिएको निर्देशन अनुसार नै उनीहरू सडकको बाटो हुँदै पोल्यान्ड लागे ।

‘पोल्यान्ड जाने हो भन्न थाहा पाएपछि त्यहाँका ट्याक्सीले पनि चढाउन नमान्दा रहेछन् । हामीले जाने भनेको लोकेसनमा एसियन फेस भएका मान्छेलाई चढाउँदै चढाएनन् । उल्टै गाली गर्न थाले । भाषा नबुझे पनि उनीहरूको बोली र अनुहारले हामीप्रतिको व्यवहार स्पष्टै देखिन्थ्यो,’ हरिसले भने ।

उनीहरूको यात्रा सहज थिएन । उनी मानसिक रूपमा युरोप छिर्न तयार भएकाले जस्तोसुकै समस्या आए पनि खेप्न तयार भएर हिँडेका थिए । उनी बेलारुसको राजधानी मिन्स्कबाट पोल्यान्डको बोर्डर पार गर्नका लागि तयारी भएर निस्के । जङ्गलको बाटो हुँदै पोल्यान्ड छिर्न खोज्दा उनीहरूलाई प्रहरीले पक्राउ ग-यो ।

उनीहरूलाई त्यहाँको प्रहरीले शरणार्थी क्याम्पमा लगेर राख्यो । शरणार्थी क्याम्पमा बसेपछि त्यहाँको प्रक्रिया पूरा नगरेसम्म बाहिर निस्कन पाउने अवस्था हुँदैन तर पनि उनीहरू त्यहाँबाट भागे ।

त्यहाँबाट उनीहरू फेरि दलालले भनेको बाटो हुँदै जर्मनीका लागि यात्रा तय गरे । (यो समयसम्म पोल्यान्ड सेन्जेन कन्ट्री भइसकेको थिएन ।)

उनीहरू आफूहरूसँग भएको सबै सामान फालेर जर्मनीको बोर्डर छिर्नका लागि जङ्गलको बाटो हुँदै हिँडे ।

‘हामीलाई दलालले लोकेसन म्याप दिएको थियो । त्यो मोबाइलमा सेट गरेर झोलामा एक जोर कपडा राखेर सन् २०२१ को अप्रिल महिनामा हिँड्यौँ । त्यो बेलामा हामीसँग ६ जना नेपाली र ४ जना युक्रेनी थिए,’ हरिसले भने ।

उनीहरूको यात्रा करिब ४५ दिनसम्म निरन्तर चलिरह्यो । त्यसपछिको ४४ दिन उनीहरूको यात्रामा जङ्गलबाट तय भयो ।

उनीहरूले मोबाइलमा म्याप राखेका थिए । तर त्यो म्यापले देखाएको बाटो नै भेटिएन । उनीहरूलाई जुन बाटो भनिएको थियो, त्योभन्दा अर्को नजानु भनिएको थियो । उनीहरूले त्यहाँ सडकको नाम पनि भेट्टाएनन्, केवल जङ्गल र झाडीमात्रै थियो । हातले झाडी पन्छाउँदै हिँडेका थिए ।

झाडी पन्छाउँदै करिब ४० दिनमा जर्मनीको बोर्डर छेउमा पुगेको हरिसले बताए । उनले भने, ‘जङ्गलमा कठिन यात्रा थियो । खानेकुरा ५ दिनमै सकियो । त्यसपछि जङ्गलमा भएको झारपात र कन्दमूल खाँदै हिँड्यौँ । त्यहाँ खान नपाउनुको पीडाभन्दा पनि आफ्नो गन्तव्यमा पुग्नुपर्ने कुरा मन मस्तिष्कमा गडेको थियो ।’

उनीहरू जर्मनीको बोर्डरमा पुगेपछि दाउराको भर्‍याङ बनाएर करिब ५० फिट अग्लो पर्खाल देखे । त्योमाथि काँडेतार बारेको थियो । त्यसबाट पार गर्न खोज्दा उनीहरूलाई जर्मन आर्मीले पक्राउ ग¥यो ।

‘हामीलाई जर्मनको बोर्डर ६ मिनेटमा पार गर्नुपर्ने थियो, त्यो पनि पर्खाल त ३ मिनेटमा पार गरेर भागिसक्नु पर्ने हुन्छ । नत्र भने जर्मन आर्मीले सिधै गोली ठोक्छ । उनीहरू ६/६ मिनेटको फरकमा आउने गर्थे,’ हरिसले भने ।

उनकाअनुसार जर्मन आर्मीले उनीहरूलाई पर्खाल पार गरेर २ किलोमिटर पर पुगेपछि पक्राउ गरेको थियो । रातको समयको करिब ३ बजे पक्राउ गरेर सेनाको क्याम्पमा राखेको थियो ।

‘यहाँ जाँदा आङ सिरिङ्ग भएको थियो । अरूलाई पिट्दै थियो, आज हामीले पनि भेटिने भइयो भन्ने लागेको थियो तर हामी नेपाली भन्ने थाहा पाएपछि अरू केही गरेन,’ हरिसले भने ।

त्यसपछि उनीहरूलाई त्यहाँ मेडिकल चेकदेखि बायोमेट्रिकसम्म गरेर २ राखेर छाडिदियो । उनलाई २४ घण्टाभित्र कहाँ जाने हो– जानु, नभए नेपाल डिपोर्ट गरिदिने बताएको थियो । त्यसपछि उनीहरू त्यहाँबाट पोर्चुगल आएका थिए ।

पोर्चुगलमा डकुमेन्ट सजिलै बन्ने भएकाले पोर्चुगलमा आउने विदेशीको सङ्ख्या धेरै छ । पछिल्लो समयमा यहाँको सरकारले विदेशीलाई कार्ड बनाउने प्रक्रिया बन्द गरिदिएको छ । तर पनि यहाँ आउने नेपालीको सङ्ख्या अझै उत्तिकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गगन अर्याल
गगन अर्याल
लेखकबाट थप