शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

महिला टी–२० विश्वकप अन्योलमा, भारत वा श्रीलङ्कामा सारिन सक्ने

मङ्गलबार, २२ साउन २०८१, १२ : ५४
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाका कारण यसै वर्ष आयोजना हुने भनिएको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट पनि अन्योलमा परेको छ ।

आईसीसी महिला टी–२० विश्वकप आगामी अक्टोबर ३ देखि २० तारिखसम्म बङ्गलादेशमा आयोजना हुने तय भएको छ । बङ्गलादेशले प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको छ ।

तर, पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रतियोगिता अन्योलमा परेको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउसिन्ल (आईसीसी)ले पनि बङ्गलादेशको अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ ।

बङ्गलादेशमा आरक्षणको विरोधमा युवा तथा विद्यार्थीले सुरु गरेको आन्दोलन चरममा पुगेको छ । आन्दोलन हिंसक बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिइसकेकी छन् ।

पदबाट राजीनामा दिएलगत्तै उनी सोमबार देश छोडेर भारत पुगेकी छन् । बङ्गलादेशी क्रिकेट टोलीका पूर्वकप्तान मशरफे बिन मोर्तजाको घरमा पनि आगजनी गरिएको छ ।

आईसीसी स्रोतका अनुसार, सुरक्षाका कारण अवस्था प्रतिकुल देखिए महिला टी–२० विश्वकप अन्यत्र सारिन सक्छ । यसका लागि आईसीसीले तीनवटा राष्ट्रलाई विकल्पका रूपमा अघि सारेको छ ।

बङ्गलादेशमा सम्भव नभए प्रतियोगिता भारत, श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (यूएई)मध्ये एक राष्ट्रमा सारिने आईसीसी स्रोतले जनाएको छ । त्यसमध्ये पनि भारतको अवस्था बलियो रहेको बताइएको छ ।

‘अन्य स्थानमा पूर्वाधार तयार पार्नका लागि समय अपुग हुनसक्छ । त्यसैले बङ्गलादेशमा सम्भव नभए महिला विश्वकप भारतमा सारिन सक्ने बलियो सम्भावना रहेको बताइएको छ ।

भारतसँगै श्रीलङ्काले पनि सीमित समयमा प्रतियोगिता आयोजना गर्न सक्छ । तर, श्रीलङ्कामा अक्टोबर महिनामा वर्षा बढी हुन्छ । त्यसैले पनि भारतलाई भरपर्दो विकल्पका रूपमा हेरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप