शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
सुन्दरी प्रतियोगिता

किन घट्यो मिस नेपालको रौनक ?

पूर्वमिस नेपाल भन्छन्– अहिले आफूलाई चिनाउन र अगाडि बढ्न धेरै मञ्च छ
मङ्गलबार, २२ साउन २०८१, १० : १८
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । शनिबार देशले नयाँ ‘मिस नेपाल’ पाएको छ । ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिम प्रतिस्पर्धामा काठमाडौँकी आश्मा कुमारी केसीले ‘मिस नेपाल वल्र्ड २०२४’को ताज हात पारेकी हुन् ।

२५ प्रतियोगीलाई पछि पार्दै उपाधि हासिल गरेकी केसीलाई गत वर्षकी विजेता श्रीच्छा प्रधानले ताज पहि¥याएकी थिइन् । प्रतियोगितामा ‘मिस नेपाल अर्थ २०२४’को उपाधि सुमन केसी र ‘मिस नेपाल इन्टरनेसनल २०२४’को उपाधि करुणा रावतले जिते ।

आश्मा नेपालको २६औँ मिस नेपाल हुन् । ‘मिस नेपाल’ नामको शीर्ष विजेतामात्र छनोट गर्दै सुरु भएको प्रतियोगिता अहिलेको अवस्थामा आउँदा ‘मिस नेपाल वल्र्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरेर तीन शीर्ष विजेता छनोट गर्न थालिएको हो । आजको दिनसम्म आउँदा प्रतियोगिता धेरै परिस्कृतसमेत भएको छ ।

नेपालको सबैभन्दा पुरानो प्रतियोगिताको रूपमा परिचित ‘मिस नेपाल’को चर्चा अहिले विगतको तुलनामा भने घटेको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा विगतको तुलनामा मिडियाकर्मीको उपस्थिति पनि कम देखियो भने समाचारसमेत मिडियाको प्राथमिकतामा परेन । यस्तो हुनुमा पछिल्लो समय मिस नेपालको रौनक घट्नु नै मुख्य कारण रहेको बताइन्छ ।

तर, मिस नेपाल आयोजक ‘द हिडन ट्रेडर’ भने यो मान्न तयार छैन । ‘द हिडन ट्रेडर’का निर्देशक गोपाल सुन्दरलाल कक्षपति मिस नेपालको रौनक दिन प्रतिदिन बढ्दो रहेको बताउँछन् ।

‘विगतका तुलनामा मिडियामा चर्चा केही कम देखिएको हो’, कक्षपतिले भने ‘पहिलेको तुलनामा कार्यक्रम आयोजनास्थल टाढा भएकाले हो कि भन्ने परेको छ ।’

कक्षपति विगतदेखि अहिलेसम्म मिडियालाई कहीँ कतै उपेक्षा नगरेको सुनाउँछन् । ‘मिडिया हाम्रोलागि अति आवश्यक कुरो हो । त्यसैले पूर्वाग्रहको सोचसमेत हाम्रो छैन’, कक्षपतिले अनुमान लगाए, ‘कुनै एक मिडियालाई अफिसियल बनाएर अगाडि बढ्दा केहीले रुचि कम दिएको पनि हुनसक्छ ।’

मिडिया पार्टनरको रूपमा केहीलाई सहभागी गराउने परम्परा रही आएको उनले सुनाए । ‘कमर्सियल भावनाले हेरेको पनि हुनसक्छ,’ कक्षपतिले थपे ।

452337014_875545014423547_3162028787247318364_n

के भन्छन् पूर्वमिस नेपाल ?

मिस नेपालको चर्चाको प्लेटफर्म फरक हुन थालेको पूर्वमिस नेपाल सुगारिका केसी बताउँछिन् ।

‘पहिले लिमिट मिडियामात्र थिए । चर्चाका लागि पत्रपत्रिका, टेलिभिजन बाहेकको विकल्प थिएन’, केसीले भनिन्, ‘अहिले सबैको पहुँचमा सामाजिक सञ्जाल छ ।’

सुरुवातको समय मिस नेपाल मिडिया र आम मानिसको लागि नयाँ भएकाले पनि बढी आकर्षण देखिएको उनी सुनाउँछिन् ।

‘अहिले समयसँगसँगै इन्सटाग्राम, युट्युव लगायत धेरै चिनिने माध्यम छ’, केसीले थपिन्, ‘यसले गर्दा पनि धेरैलाई यो प्लेटफर्म वाह भनेजस्तो लागेन होला ।’

भित्री रूपमा हेर्न हो भने पहिलेका तुलनामा अहिले मेहनत समेत धेरै गर्नुपर्ने उनले बताइन् । ‘अहिले आफू चिनाउन, अगाडि बढ्न धेरै प्लेटफर्म छन् । मिस नेपाल नै जानुपर्छ भन्ने छैन’, उनले भनिन्, ‘अहिले मिस नेपाल हेर्ने मानिस र सामाचार बनाउने पनि घटे ।’ यो सबै सोसल मिडियाको प्रभाव भएको केसीको धारणा छ ।

मिस नेपालको चर्चा पहिलेको तुलनामा कम भएको पूर्वमिस नेपाल नम्रता श्रेष्ठ पनि ठान्छिन् ।

collage

‘पहिले सौन्दर्य प्रतियोगिता भनेको मिस नेपालमात्र थियो । अहिले धेरै आएका छन्’, नम्रताले भनिन्, ‘अहिले अन्तर्राष्ट्रिय प्रतियोगिताको फ्रेन्चाइज समेत धेरै भित्रिएका छन् ।’

मिस नेपालको रौनक घटेकोभन्दा पनि धेरै सौन्दर्य प्रतियोगिता भित्रिएका कारण मानिस बाँडिएको नम्रताको भनाइ छ । ‘अहिले चर्चा गर्न र हेर्नका लागि मिस नेपाल नै भन्नुपर्ने अवस्था नरहेको भनेर अडियन्सले सोचेको पनि हुनसक्छ,’ उनले भनिन् ।

मिडियाकर्मी के भन्छन् ?

२०१६ मा अश्मी श्रेष्ठले मिस नेपालको ताज जित्दा ‘मिस नेपाल कि, मिस नेवार’, ‘सर्वश्रेष्ठ हुनुपर्ने कि श्रेष्ठ’ जस्ता स्वर सुनियो ।

मिस नेपालको सन्दर्भमा हुने बेलाबेलाको विवाद र पछिल्लो समय थपिएका अनेक सौन्दर्य प्रतियोगिताले यसको रौनक घटाएको वरिष्ठ रङ्गपत्रकार डब्बु क्षेत्री बताउँछन् ।

‘पहिले पहिले सौन्दर्य प्रतियोगितामा मिस नेपालमात्र हुन्थ्यो र रौनक धेरै थियो’, क्षेत्रीले भने, ‘अहिले मिस नेपालको जस्तै गुणस्तरीय प्रतियोगिता मिसेज नेपाल, मिस युनिभर्स लगायतका ५÷७ वटा इन्टरनेशनल प्रतियोगिता हुन थालेका छन् ।’

अहिले मिस नेपालभन्दा भव्य अन्य प्रतियोगिता हुन थालेको क्षेत्रीको भनाइ छ । ‘पहिले सबै मिडियासँग सम्बन्ध राम्रो थियो । अहिले मिडियासँग आयोजक पनि भाग्ने गरेका छन्’, क्षेत्रीले थपे ।

मिस नेपालको रौनक पहिलेजस्तो नभएको रङ्गपत्रकार तथा कलाकर्मी डटकमका सम्पादक कृष्ण भट्टराईले पनि महसुस गरेका छन् ।

‘मिस नेपाललाई मनोरञ्जन विधाको रूपमा पनि लिइन्छ । विगतका तुलनामा अहिले पब्लिकले मनोरञ्जन गर्ने धेरै माध्यम आए । सोसल मिडियामार्फत मिस नेपाल पनि हेर्न सकिन्छ’, भट्टराइले भने, ‘सजिलै एक्सेस भएपछि मानिसले वास्ता गर्न छाडे ।’

अहिले कार्यक्रम आयोजनाको हिसाबले विगतको भन्दा पनि राम्रो भएको भट्टराई सुनाउँछन् । ‘कार्यक्रममा यसपटक विदेशी गेष्ट पनि सहभागी थिए’, भट्टराईले भने, ‘मानिसले विभिन्न सामाजिक सञ्जालमा सजिलै हेर्न पाए । त्यसैले प्रतियोगितालाई सामान्य रूपमा लिए ।’

को–को भए मिस नेपाल ?

रुवी राणा – सन् १९९४

सुमी खड्का – १९९५

पुनम घिमिरे – १९९६

निलिमा गुरुङ – १९९७

झरना बज्राचार्य – १९९७

निरु श्रेष्ठ – १९९८

श्वेता सिंह – १९९९

उषा खड्गी – २०००

माल्भिका सुब्बा – २००२

प्रीति सिटौला – २००३

पायल शाक्य –२००४

सुगारिका केसी – २००५

शिताष्मा चन्द – २००७

जेनिशा मोक्तान – २००९

सदीक्षा श्रेष्ठ – २०१०

मलिना जोशी –२०११

सृष्टि श्रेष्ठ – २०१२

इशानी श्रेष्ठ – २०१३

सुविन लिम्बु – २०१४

इभाना मानन्धर – २०१५

अश्मि श्रेष्ठ – २०१६

निकिता चन्दक –२०१७

शृङ्खला खतिवडा – २०१८

अनुष्का श्रेष्ठ  – २०१९

नम्रता श्रेष्ठ – २०२०

प्रियंका रानी जोशी – २०२२

श्रीच्छा प्रधान – २०२३

आश्मा कुमारी केसी –२०२४

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप