बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक पदक तालिका : अमेरिका र चीनबिच पहिलो बन्ने होड

मङ्गलबार, २२ साउन २०८१, ०९ : १३
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा जारी ३३औँ ओलम्पिक खेलकुद प्रतियोगितामा ११औँ दिनको खेल सकिँदासम्म स्वर्ण पदकमा अमेरिका र चीनबिच चर्को प्रतिस्पर्धा देखिएको छ । यी दुवै राष्ट्रले समान २१–२१ स्वर्ण पदक जिते पनि अन्य पदकका आधारमा अमेरिका पहिलो स्थानमा छ ।

अमेरिकाले २१ स्वर्णका अतिरिक्त ३० रजत र २८ कांस्यसहित कुल ७९ पदक जितिसकेको छ । दोस्रो स्थानमा आसीन चीनले २१ स्वर्णका अतिरिक्त १८ रजत र १४ कांस्यसहित कुल ५३ वटा पदक हात पारेको छ ।

पदक तालिकामा आयोजक राष्ट्र फ्रान्स तेस्रो स्थानमा छ । फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कांस्यसहित कुल ४८ पदक कुम्ल्याएको छ । १३ स्वर्ण, १२ रजत र आठ कांस्यसहित कुल ३३ पदक जितेको अस्ट्रेलिया चौथो स्थानमा छ ।

यसैगरी, पाँचौँ स्थानमा आसीन बेलायतले १२ स्वर्ण, १३ रजत र १७ कांस्यसहित कुल ४२ पदक हात पारेको छ । दक्षिण कोरिया ११ स्वर्ण, आठ रजत र सात कांस्यसहित कुल २६ पदक जित्दै तालिकाको छैटौँ स्थानमा रहेको छ ।

सातौँ स्थानमा आसीन जापानले १० स्वर्ण, पाँच रजत र ११ कांस्यसहित कुल २६ पदक जितेको छ । आठौँ स्थानमा आसीन इटालीले नौ स्वर्ण, १० रजत र ६ कांस्यसहित कुल २५ पदक चुमेको छ । सात स्वर्ण, पाँच रजत र पाँच कांस्यसहित कुल १७ पदक जित्दै नेदरल्यान्ड्स नवौँ स्थानमा छ ।

यसैगरी, १० औँ स्थानमा आसीन जर्मनीले सात स्वर्ण, पाँच रजत र चार कांस्यसहित कुल १६ वटा पदक हात पारेको छ । पाँच स्वर्ण, चार रजत र आठ कांस्यसहित कुल १७ पदक कुम्ल्याउँदै क्यानडा ११औँ स्थानमा छ ।

न्युजिल्यान्ड, हंगेरी, स्विडेन, रोमानिया र आयरल्यान्डले पनि तीन–तीनवटा स्वर्ण पदक जितेका छन् । आठवटा राष्ट्रले दुई–दुई स्वर्ण पदक हात पारेका छन् । हालसम्म ३७ राष्ट्रले स्वर्ण पदकमाथि कब्जा जमाइसकेका छन् । कुल ६६ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप