बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

राजदूत सिफारिसबारे साहको असन्तुष्टि, ‘कूटनीति खेलाँची गर्ने ठाउँ हो ?’

सोमबार, २१ साउन २०८१, २० : ४४
सोमबार, २१ साउन २०८१

 काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले विभिन्न देशमा गरिएको राजदूत सिफारिसबारे असन्तुष्टि जनाएका छन्  । सरकारले हचुवाको भरमा राजदूत सिफारिस गरेर कूटनीतिलाई नै खेलाँची गरेको भन्दै उनले आक्रोश पोखे । 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘कूटनीतिक क्षेत्रमा केही पनि नजानेका मान्छेहरू राजदूत नियुक्तिमा परेका छन् । नेताहरूकै वरिपरि र नातागोता त्यसरी ल्याउने हो भने डम्पिङ साइट हो त कूटनीतिक नियोग ?’

उनले राजदूत नियुक्तिसम्बन्धी मापदण्ड भएपनि सरकारले हचुवाको भरमा फिर्ता बोलाउने र नियुक्ति गर्ने गरेको पनि बताए ।  ‘फिर्ता बोलाउने र फेरि पठाउने भनेर बच्चाको खेलजस्तो भएको छ । बिना कारण किन फिर्ता बोलाइएको छ त्यसबारे देशलाई जानकारी दिनुपर्दैन ? त्यसबारे जवाफ दिनुपर्छ कि पर्दैन ? कूटनीति खेलाँची गर्ने ठाउँ हो ? कच्चा कूटनीतिक अभ्यास हामी गर्दैछौँ’, साहले भने,  राजदूतमा एक जना पनि मधेसी छैन, मुस्लिम छैन, थारु छैन, महिला छैन ।  किन छैन समावेशी ? राजदूत नियुक्तिको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’ 

उनले हालै सरकारले गरेको राजदूत सिफारिस फिर्ता नै लिनुपर्ने धारणा राखे । 

यस्तै उनले विकसित राजनीतिक घटनाक्रमका कारण बंगलादेशको सुरक्षास्थिति दयनीय रहेको बताउँदै त्यहाँ रहेका नेपालीका अवस्थाबारे पनि सरकारसँग जानकारी माग गरे ।  ‘यो भयावह अवस्थामा बंगलादेशमा नेपालीहरू जो छन् ? तिनीहरूको अवस्था के छ । कति विद्यार्थी छन् ? कति फर्किए ? यो विषयमा सभामुखले प्रमलाई रुलिङ होस्’, उनले भने । 

इजरायलबाट बेपत्ता भएका बिपीन जोशी आजसम्म पत्तो नलाग्नु, अवैध बाटो भएर रुसी सेनामा नेपालीको भर्ती भएर अकालमा ज्यान गुमाउन बाध्य हुनु पनि कूटनीतिक क्षेत्र नै कमजोर हुनुको कारण भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप