सदस्यसचिव कहिलेसम्म पदमा रहने भन्ने कुरा उहाँको काममा भर पर्छ : खेलकुदमन्त्री
![सदस्यसचिव कहिलेसम्म पदमा रहने भन्ने कुरा उहाँको काममा भर पर्छ : खेलकुदमन्त्री](https://npcdn.ratopati.com/media/news/tejulal-chaudhary_xmqz5Ewuwe.jpg)
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको कामलाई आफूहरूले नजिकबाट नियाली रहेको बताएका छन् । काठमाडौँमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री चौधरीले आफू मातहतका कुनै पनि पदाधिकारीको मूल्याङ्कन गरिहाल्ने उपयुक्त अवसर आइनसकेको बताए ।
‘मन्त्री बनेर आएको भर्खर तीन साता जति हुँदैछ । अहिले म सबैको कामलाई नजिकबाट नियाल्दे छु । बुझ्ने प्रयास गर्दैछु । निर्णय नै गरिहाल्ने बेला भने भइसकेको छैन,’ उनले भनेका छन् । मन्त्री चौधरीले अहिले युवा तथा खेलकुद मन्त्रालयको काममा प्रधानमन्त्रीले पनि प्रत्यक्ष चासो देखाइरहेकाले सबैले जिम्मेवार भएर काम गर्नुको विकल्प नरहेको धारणा पनि व्यक्त गरे ।
‘प्रधानमन्त्री ज्यूले तीन सय दिनभित्र क्रिकेट रङ्गशालाको काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँ आफै पनि छलफलमा जुट्नुभएको छ । यस विषयमा उहाँले मलाई प्रश्न गर्नुहुन्छ । त्यसपछि मैले पनि सम्बन्धित निकायलाई प्रश्न गर्ने हो,’ खेलकुद मन्त्रीले भने ।
खेलकुद मन्त्रीले आफूले प्रधानमन्त्रीको प्रतिबद्धता लगायत विभिन्न विषयमा राखेपका सदस्यसचिवसँग छलफल गरिसकेको जानकारी पनि दिए । ‘मैले सदस्यसचिव ज्यूलाई पनि भनिसकेको छु । एक प्रकारले सचेत पनि गराइसकेको छु । मलाई विश्वास छ, उहाँले परिस्थिति राम्ररी बुझ्नु भएको छ । उहाँले मात्र होइन, सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पुरा गर्नुपर्छ,’ मन्त्री चौधरीले भने ।
राखेपका अध्यक्षसमेत रहेका खेलकुद मन्त्रीले एक प्रश्नको जवाफमा राखेपका सदस्यसचिवको भविष्य उनकै काममा निर्भर गर्ने जवाफ दिए । ‘उहाँ कहिलेसम्म सदस्यसचिव रहनु हुन्छ भन्ने कुरा उहाँकै काममा भर पर्ने कुरा हो । हामी उहाँको कामलाई नियाली रहेका छौँ,’ खेलकुद मन्त्रीले भने ।
खेलकुद मन्त्रीले प्रधानमन्त्रीको प्रतिबद्धता अनुरूप कीर्तिपुरस्थित क्रिकेट मैदानको काम अगाडि बढाउने प्रक्रिया सुरु भइसकेको जानकारी पनि दिए । ‘क्रिकेट मैदानको जग्गा त्रिभुवन विश्वविद्यालयको हो । त्यहाँ अर्बौँको लगानी गरेर पूर्वाधार बनाउने कि नबनाउने भन्ने विषयमा पनि कुरा उठेको छ । लिजको अवधि पनि २०८२ सालमा सकिँदै छ । यस विषयमा विश्वविद्यालयसँग पनि छलफल हुँदैछ,’ मन्त्री चौधरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया