बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

खेलकुदमन्त्री भन्छन्– ‘म खेल्न होइन, खेल्ने वातावरण बनाउन आएको हुँ’

सोमबार, २१ साउन २०८१, १६ : ४५
सोमबार, २१ साउन २०८१


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुद क्षेत्रमा थुप्रै समस्या रहेको र त्यसलाई क्रमशः समाधान गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले सोमबार नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘म यो मन्त्रालयमा खेल्न आएको होइन, बरु खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरण बनाउन आएको हुँ,’ उनले भनेका छन्, ‘अहिले कुनै पनि मन्त्री हत्तपत्त खेलकुद मन्त्रालयमा आउन चाहँदैनन् । तर, आफ्नो कार्यकालमा म यो मन्त्रालयलाई आगामी दिनमा सबै मन्त्रीको रोजाइमा पर्ने मन्त्रालय बनाएर बाहिरिने छु ।’

उनले आफू मन्त्री बनेर आएको भर्खर तीन साता भएकाले अहिले खेलकुद क्षेत्रको समस्याहरु बुझ्ने प्रक्रियामा रहेको पनि बताए । ‘म आएको धेरै भएको छैन । सबै पक्षसँग भेटेर म खेलकुद क्षेत्रको समस्या बुझ्ने प्रयास गरिरहेको छु । तर, ढुक्क भए हुन्छ, म खेलाडीको हकहितभन्दा बाहिर गएर कुनै पनि काम गर्दिन,’ उनले भनेका छन् ।

 ‘खेलाडी समस्यामा छन् तर, खेल संघहरु भने आपसी बिवादमै अल्झिएर बसेका छन् । कोही राष्ट्रिय मान्यताप्राप्त रे र कोही अन्तर्राष्ट्रिय मान्यताप्राप्त पदाधिकारी रे ! यो कस्तो परम्परा हो ? कतिपय संघका पदाधिकारी त ४० वर्षदेखि एउटै खेलकुद संघ ओगटेर बसेका छन् । यसमा मेरो आफ्नै साथीहरु पनि पर्छन् । छिट्टै यस्तो परम्पराको अन्त्य हुनुपर्छ ।’


मन्त्री चौधरीले खेलाडीको हकहितमा सक्रिय हुनुपर्ने खेल संघहरु आपसी बिवादमै अल्झिरहेको प्रतिक्रिया पनि दिए । उनले संघका कोही पदाधिकारी राष्ट्रिय मान्यताप्राप्त र कोही पदाधिकारी अन्तर्राष्ट्रिय मान्यताप्राप्त रहेको दाबी गर्दै आफूलाई भेटन आउने गरेको रहस्य पनि खोले ।

‘खेलाडी समस्यामा छन् तर, खेल संघहरु भने आपसी विवादमै अल्झिएर बसेका छन् । कोही राष्ट्रिय मान्यताप्राप्त र कोही अन्तर्राष्ट्रिय मान्यताप्राप्त पदाधिकारी रे ! यो कस्तो परम्परा हो ? कतिपय संघका पदाधिकारी त ४० वर्षदेखि एउटै खेलकुद संघ ओगटेर बसेका छन् । यसमा मेरो आफ्नै साथीहरु पनि पर्छन् । छिट्टै यस्तो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भनेका छन् ।

खेलकुदमन्त्री चौधरीले निकट भविष्यमा कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । ‘हामी उपलब्धिमूलक तरिकाले १० औँ राष्ट्रिय खेलकुद सम्पन्न गर्ने तयारीमा छौँ । यसका लागि विभिन्न चरणमा छलफल भइरहेको छ,’ उनको कथन छ ।

उनले भौतिक पूर्वाधार वा अन्य अप्रत्यासित कारणले समस्या नपारे १०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने दाबी पनि गरे । ‘हामी निर्धारित समयमै प्रतियोगिता सम्पन्न गर्ने तयारीमा छौँ । अहिलेसम्म १० औँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने कुरा आएको छ । त्यसमध्ये २४ खेल सर्खेतमा सम्पन्न हुनेछ । पूर्वाधारको अपर्याप्तका कारण बाँकी खेल अन्यत्र हुनसक्छ,’ उनले भने ।

खेलकुदमन्त्रीले आफ्नो पहिलो प्राथमिकता खेलाडी र प्रशिक्षक रहेको बताउँदै भौतिक पूर्वाधार निर्माणमा सक्दो प्रयास गर्ने जानकारी पनि दिए । उनले प्रतिभाशाली खेलाडीको पलायन रोक्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप