काठमाडौँ विश्वविद्यालय र एम्बिशन गुरुबिच सहकार्य
काठमाडौँ । देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशन र ई–लर्निङ प्लेटफर्म एम्बिशन गुरुबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
शिक्षण पेसा गरिरहेका र शिक्षक बन्न इच्छुक व्यक्तिहरूको क्षमता अभिवृद्धि साथसाथै उनीहरूको सशक्तीकरण गर्ने विषयमा समझदारी भएको हो ।
विभिन्न प्रशिक्षण पाठ्यक्रमहरू तयार गरी कक्षा सञ्चालन गर्न एम्बिशन गुरु र काठमाडौँ विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशनले सहकार्य गर्ने भएको हो ।
यी पाठ्यक्रमहरू शैक्षिक सीपहरू वृद्धि गर्न, मूल्याङ्कन मापदण्डहरू परिष्कृत गर्न र निरन्तर व्यावसायिक विकासको संस्कृतिलाई प्रोत्साहन दिन डिजाइन गरिएका हुन् ।
शिक्षकहरूलाई नवीनतम उपकरण र विधिहरूसँग परिचित गराएर शिक्षाको गुणस्तर उकास्ने लक्ष्यसहित दुई शैक्षिक संस्थाहरूबिच हस्ताक्षर भएको हो ।
समग्र देशको शैक्षिक उन्नयनलाई केन्द्रमा राखी विद्यालयहरूको शैक्षिक र व्यावसायिक विकास सुदृढ गर्नु रहेको काठमाडौँ विश्वविद्यालयका अशोसिएट डीन प्रकाश भट्टराईले बताए ।
शिक्षक र प्रशिक्षकहरूका लागि प्रगतिशील र प्रोत्साहनमूलक वातावरण सिर्जना र कार्यक्रमको निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी लिने एम्बिशन गुरुका एकेडेमिक डाइरेक्टर प्रकाश पाण्डेले बताए ।