बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

बंगलादेशमा अन्तरिम सरकार बनाउन लागेको सेना कति बलियो ?

सोमबार, २१ साउन २०८१, १६ : २३
सोमबार, २१ साउन २०८१

ढाका । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । देशभरमा चर्किएको विद्यार्थी आन्दोलन र आफ्नो राजीनामाको मागबिच सोमबार प्रदर्शनकारीहरूले हसिनाको सरकारी आवासमा ढुंगामुढा गरेलगत्तै राजीनामा दिएर उनी भारतर्फ लागेकी हुन् । 

योसँगै सेनाले अन्तरिम सरकार बनाउने तयारी गरिरहेको त्यहाँको सेना प्रमुख जनरल वाकर–उज–जमानले बताएका छन् । देशबासीको नाममा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

051521535abdf45

अहिलेको अवस्थाको सारा जिम्मेवारी आफूले लिएको उनको भनाई छ । देशले निकै कष्ट भोगिसकेको, अर्थतन्त्र मारमा परेको र कयौँको ज्यान गइसकेकाले हिंसा अहिले नै रोक्नु पर्ने पनि उनले बताएका छन् । 

आफ्नो सम्बोधनपछि स्थितिमा सुधार आउँछ भन्ने आशा उनले गरेका छन् । स्थिति राम्रो भयो भने आपत्काल लगाउनु पर्ने जरुरी नहुने पनि उनले बताए । 

‘सबै हत्यारा’लाई नयाँ सरकारले अभियोग चलाउने उनले वाचा गरेका छन् । शेख हसिनाले राजीनामा दिइसकेको अवस्थामा शान्त भएर सेनालाई सघाउन पनि उनले विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

बंगलादेशमा भर्खरै चुनाव भएको थियो । चुनावमा व्यापक धाँधली भएको भन्दै त्यहाँका सबै विपक्षी दलहरूले सो चुनाव बहिष्कार गरेका थिए । अब यतिबेला सबैको नजर बंगलादेशको सेनामा छ । 

बंगलादेशको स्थापना भएदेखि त्यहाँ सेनाले पटकपटक ‘कू’ गरेको छ । तर, ९० को दशकदेखि त्यहाँको सत्तामा एउटै राजनीतिक दलको हातमा रहेको थियो ।

bangladesh-army-coup

  • कति छ सेनाको शक्ति ?

ग्लोबल फायरपावरका अनुसार पावर इन्डेक्स स्कोरमा बंगलादेशी सेना १४५ देशमध्ये ३७ औँ स्थानमा छ । त्यहाँको  सेनामा लगभग १ लाख ७५ हजार जना सक्रिय सैनिक छन् । 

सेनासँग २८१ वटा ट्याङ्क, १३ हजार १०० बख्तरबन्द वाहन, ३० थान स्वचालित तोपखाना, ३७० थान टो आर्टिलरी, ७० थान रकेट आर्टिलरी छ । जलसेनामा ३० हजार जना सदस्य छन् । दक्षिण एसियामा भारत र पाकिस्तानपछि तेस्रो ठुलो रक्षा बजेट हुने देश बंगलादेश हो । यसले वर्षेनि रक्षा क्षेत्रमा ३ अर्ब ८० करोड डलर खर्च गर्ने गरेको छ ।

  • पटकपटक ढालिसकेको छ सरकार

सेनाका केही शीर्ष अधिकारीहरूले शेख हसिनालाई सत्ताबाट हटाउने योजना बनाएका छन् भन्ने समाचार यसअघि आएका थिए । सन् २००९ को सुरुमा शेख हसिनाले सत्ता हातमा लिँदा सत्ता सेना समर्थक कार्यवाहक सरकारसँग थियो । 

बंगलादेशमा सैन्य सरकारको इतिहास पनि छ । सन् १९७५ मा पहिलो पटक सैन्य ‘कू’ गरेर मुजिब सरकार ढालिएको थियो । त्यसपछि सन् १९९० सम्म १५ वर्षसम्म सरकार सेनाको नियन्त्रणमा रह्यो । 

बंगलादेशको सशस्त्र सेनामा मुख्य तीन शाखाहरू छन्: स्थलसेना, जलसेना र वायु सेना । यी सबैले रक्षा मन्त्रालय मातहत काम गर्छन् । यसमा राष्ट्रपतिले प्रधानसेनापतिको रूपमा काम गर्छन् ।

AFP__20240805__36AB3A7__v1__HighRes__BangladeshUnrestStudents-1722848248

  • शान्ति मिसनमा काम

बंगलादेश सेनाले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा राम्रो सेवा दिँदै आएको छ । विश्वभर विभिन्न अपरेशनहरूमा ७ हजार भन्दा बढी बंगलादेशी सेनालाई खटाएको छ । यस सहभागिताले बंगलादेशलाई संयुक्त राष्ट्र संघको कार्यमा सबैभन्दा ठुलो सेना योगदान गर्ने देशको रूपमा स्थापित गरेको छ । यद्यपि, बंगलादेश सेनाले घरेलु सुरक्षा, विपद् प्रतिक्रिया र आपत्कालीन समयमा नागरिक प्रशासनको सहयोगमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

  • को हुन् बंगलादेशका सेना प्रमुख ?

बंगलादेशका सेना प्रमुख जनरल वकार–उज–जमान हुन् । उनी सन् २०२४ को जुन देखि यो पदमा आसीन छन् । १९८५ को डिसेम्बर २० मा उनी सेनामा छिरेका थिए । 

प्रधानमन्त्रीले तीन वर्षका लागि सेनाका प्रमुख नियुक्त गर्छन् । यो त्यहाँको सेनाको सबैभन्दा ठुलो पद हो । स्थल, जल र हवाई सेनाका प्रमुख यिनकै मातहतमा आउँछन् ।

  • सरकारको काममा सेनाले कतिको हस्तक्षेप गर्छ ?

बंगलादेशम सेना र सरकारबिचको सम्बन्ध जटिल छ । बंगलादेशमा सैन्य शासनको लामो इतिहास छ । पछिल्लो समय भने सेनाले सरकारको कुनै पनि काममा हस्तक्षेप गर्दैन थियो । 

सन् १९७१ मा स्वतन्त्र भएदेखि नै सेनाले बंगलादेशमा बेला बेलामा विद्रोह गर्दै आएको छ । सन् १९९१ मा संसदीय प्रजातन्त्रको पुनर्स्थापना नहुँदासम्म त्यहाँ सैन्य शासन लागू थियो । 

राजनीतिक सङ्कटका बेला पनि सेनाले हस्तक्षेप गरेको इतिहास छ । सन् २००७ मा सेनाको समर्थनमा कार्यवाहक सरकार गठन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप