सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
संसद् बैठक

‘बुक भ्यालु ७७ रुपैयाँ भएको कम्पनीको सेयर मूल्य १६ सय रुपैयाँ कसरी पुग्यो ?’

सेयरको कृत्रिम मूल्यबारे छानबिन समिति गठन गर्न माग
सोमबार, २१ साउन २०८१, १४ : ५१
सोमबार, २१ साउन २०८१

काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सहकारीमा जस्तै सेयर बजारमा पनि नेपाली जनताको अरबौँ रुपैयाँ ठग्ने काम भइरहेको आरोप लगाएका छन् । उनले इन्भेस्टर र ब्रोकरको कार्टेलिङबाट कृत्रिमरूपमा सेयरको भाउ बढाइएको आरोप लगाएका हुन् ।

सोमबार प्रतिनिधि सभामा बोल्दै सिंहले विभिन्न कम्पनीले कृत्रिमरूपमा सेयरको भाउ बढाएको उदाहरण पेस गरेका थिए । उनले भने, ‘दीपेन्द्र अग्रवालको नेपाल फाइनान्स लिमिटेडको एक महिनाअघि सेयरको भाउ जम्मा ६ सय रुपैयाँ थियो । तर, एक महिनापछि कति भयो– २१ सय ५४ रुपैयाँ । यसको बुक भ्यालु कति छ १ सय ३४ रुपैयाँ छ । प्राइस र अर्निङ रेसियो हेर्दा कहाँबाट के–कारणले यो बढ्यो ?’

उनले थपे, ‘अर्को छ, सन्दीप जलानको एनआरएन इन्फ्रास्ट्रकर एन्ड डेभलप्मेन्ट लिमिटेड । यसको पहिले सेयर मूल्य ३ सय रुपैयाँ थियो, अहिले १ हजार ५० रुपैयाँ छ । जबकि यसको बुक भ्यालु १ सय ४७ रुपैयाँ मात्र छ ।

अनिल रुगंटाको सीडीएन हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीको यसअघिको सेयर मूल्य ६५० रुपैयाँ थियो, अहिले १८ सय रुपैयाँ छ । जबकि यसको बुक भ्यालु जम्मा १७० रुपैयाँ छ । त्यस्तै, अम्बिका पौडेलको हाथवे इन्टरनेसनल नेपाल लिमिटेडको सेयर मूल्य यसअघि ३ सय रुपैयाँ थियो भने अहिले १६ सय रुपैयाँ पुगेको छ । जबकि बुक भ्यालु ७७ रुपैयाँ छ ।’

उनका अनुसार इन्भेस्टर र सेयर ब्रोकरको सिन्डिकेटलाई मोडस अपरेन्डीका रूपमा प्रयोग गरिएको छ । यसमा अनलाइन क्लब हाउसबाट जनतालाई गुमराह गर्ने, सोसल मिडियाबाट प्रोपोगान्डा गर्ने र कर्नरिङ गर्ने काम भइरहेको उनको आरोप छ ।

सिंहले जनताको संरक्षक नेपाल सरकार हुने बताउँदै सेयर बजारलाई नियमन गर्नुपर्ने बताए । ‘यसलाई नेपाल स्टक एक्सचेन्जले रेगुलेट गर्नुपर्छ । धितोपत्र बोर्ड अहिले नेतृत्वविहीन छ । नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टिलिजेन्स युनिट छ । त्यस्तै, सस्पिसियस ट्रान्जेक्सन रिपोर्टिङ (एसटीआर) छ,’ उनले भने ।

उनले सोझा नेपाली जनतालाई ठग्ने काम गर्न नहुने बताउँदै यसको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न र कारबाही गर्न सरकारसमक्ष माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप