पानी नपर्दा रोपोमै सुक्न थाले धान

सुनसरी । सुनसरीको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ ।
आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशीले बताए । उनले भने, “केही दिनदेखि पानी राम्रोसँग पर्न सकेको छैन पानी पर्ने आशामा बसेका किसानको धान रोपोमै सुक्न थालेको हो ।”
गाँज लाग्ने बेलामा पानी नपरेको किसानहरूको भनाइ छ । विद्युत सबै ठाउँमा नपुग्दा पम्पसेटबाट पानी लगाउनसमेत नसकिएको उनीहरू बताउँछन् । ६ वर्ष अघिसम्म श्रीलङ्का टप्पुका किसानले धान खेती गर्दैन थिए । चन्द्रवंशीका अनुसार स्थानीय किसानले एक वर्षका लागि धान खरिद गरेर जोहो गर्नुपथ्र्याे । बिजुली बत्ती आएपछि मोटरबाट पानी तानेर धानखेती गर्न थालेका थिए । तर, सबै खेतमा विद्युतको पहुँच नपुग्दा कृषक समस्यामा परेका हुन् ।
यहाँका अधिकांश कृषकले कोशीपारिका बजार भागलपुर, रामपुर र चक्रघट्टीबाट ल्याएर धानको बियाड राखेका थिए । गरैया कृषि सहकारीले पनि १९ बोरा (छ सय ६५ केजी) धानको बीउ कृषकलाई वितरण गरेको सहकारी संस्थाका अध्यक्ष बद्री राईले जानकारी दिए ।
बराहक्षेत्र नगरपालिकाअन्तर्गत पर्ने श्रीलङ्का टप्पु दुई वटा वडाले छोएको छ । वडा न ९ मा सात सय घरधुरी छन् भने वडा न ६ मा दुई सय घरधुरी छन् । हाल कृषकले यहाँ एक सय बिघाहभन्दा बढी क्षेत्रफलमा धान खेती गरेका छन् ।
“पानी पर्लापर्ला भन्दाभन्दै धानको रोपो सुक्न थालेको छ”, कृषक रामभुवन राय यादवले भने । कृषि सहकारीले धानबालीका लागि पाँच सय बोरा मल मौज्दात राखेको छ । विगत वर्षमा मलको अभाव भोग्नुपरेकाले यसवर्ष मल मौज्दात गरिए पनि पानी नपरेकाले खपत हुन नसकेको सहकारीले जनाएको छ ।
“पानी परेपछि धानबालीमा मल हाल्नुपर्छ, पानी नपरेकै कारण कृषकले सहकारीबाट मल लगेका छैनन्”, गरैया कृषि सहकारीका कोषाध्यक्ष गोल्छा झाले भने । कृषक पानी पर्ने आशामा बसेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ
-
धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का
-
सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर