बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ब्राजिलमा शार्कमा पाइयो कोकिन

सोमबार, २१ साउन २०८१, १३ : १८
सोमबार, २१ साउन २०८१

रियो द जेनरिया । ब्राजिलमा केही जीव वैज्ञानिकहरू यतिबेला चिन्तामा छन् । समुद्रको किनारामा शार्कमा कोकिन भेटिएपछि यसको कारण खोज्न उनीहरू जुटेका छन् । ओसवाल्डो क्रुज फाउन्डेसनका वैज्ञानिकहरूले रियो दि जेनेरियोको समुद्री तटमा १३ शार्क (शार्पनोज शार्क) मा कोकिनको परीक्षण गरेका थिए । जाँचको क्रममा यी शार्कहरूका मांसपेशी र कलेजोमा ठुलो मात्रामा कोकिन भेटियो ।

जनावरहरूको शरीरमा लागु पदार्थ भए नभएकोबारे धेरै अध्ययन भएका छन् । शार्कमा कोकिनको मात्रा निर्धारण गर्ने गरिएको यो पहिलो अध्ययन थियो । समुद्रको पानीमा कोकिन बनाउने अवैध प्रयोगशालाको फोहोर पानी वा लागुपदार्थ सेवन गर्ने मानिसका मल र पिसाबबाट कोकिन आएको र सोही पानी भएर शार्कको शरीरमा कोकिन छिरेको हुनसक्ने केही विज्ञहरूको अनुमान छ ।

तस्करीको क्रममा समुद्रमा डुबेका लागू औषधको प्याकेटबाट शार्कको शरीरमा कोकिन छिरेको हुनसक्ने अनुमान पनि छ । समुद्री मार्ग भएर कोकिनका प्याकेटहरू लैजाने क्रममा फ्याकिएको वा समुद्रमा डुबेको हुनसक्ने भनिए पनि अनुसन्धानकर्ताहरूले यसको निकै कम सम्भावना देखेका छन् । मेक्सिको र फ्लोरिडामा जसरी ब्राजिलका समुद्रमा कोकिनको प्याकेटहरू फ्याकिएको नदेखिएको वा हराएको नसुनिएको एक जना जीव वैज्ञानिक रचेल डेभिस भन्छिन् । अन्वेषकहरूका अनुसार शार्कमा कोकिनको मात्रा अन्य समुद्री जीवहरूको तुलनामा १०० गुणा बढी थियो ।

चिन्ताको कारण

‘द जर्नल साइन्स’सँगको कुराकानीमा पोर्चुगलको लीरियास्थित सेन्टर फर इन्भायरमेन्ट एन्ड मरिन साइन्सकी सारा नोभास भन्छिन्, ‘अध्ययनमा देखिएको खोज निकै महत्त्वपूर्ण छ ।’ अध्ययनले सबै पोथी शार्क गर्भवती रहेको देखाएको छ । तर कोकिनले उनीहरूको भ्रूणमा कस्तो असर गर्याे भन्ने अहिलेसम्म थाहा हुनसकेको उनले बताइन् । कोकिनले शार्कको व्यवहारलाई असर गरिरहेको छ छैन भनेर पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ ।

यद्यपि यसअघि भएका अनुसन्धानले भने लागु औषधले जनावर र मानिस दुवैमा समान रूपमा प्रभाव पार्ने देखाएको थियो । यस अनुसन्धानमा अन्वेषकहरूले एक खालको शार्कको मात्र अध्ययन गरेका थिए । कोकिनले यस क्षेत्रका अन्य प्रजातिका शार्कमा पनि त्यस्तै प्रभाव पारेको हुनसक्ने उनीहरूको अनुमान छ ।

शार्क मांसाहारी भएको र यसले खानाको लागि माछाको शिकार गर्ने भएकोले उसले खाएको अरु माछा रासायनिक प्रदूषक र कोकिनबाट दूषित भएको र यहीबाट शार्कको शरीरमा कोकिन प्रवेश गरेको हुनसक्ने  पनि रचेल बताउँछिन् ।

कोकिनको ट्रान्जिट रुट

ब्राजिलको लोकेशन आफैँले लागुऔषध तस्करहरूलाई आकर्षित गर्ने ब्राजिलको फेडरल युनिभर्सिटी अफ एबीसी (यूएफएबीसी) मा प्रध्यापक तथा साओ पाउलो विश्वविद्यालयमा समाजशास्त्र विभागसँग सम्बद्ध डा.क्यामिला नुन्स डायस भन्छिन् । तस्करहरूले युरोप र अफ्रिकाको बजारमा सामान पठाउन तस्करहरूले प्रायः ब्राजिलको बाटो प्रयोग गर्ने उनी बताउँछिन् ।

उनका अनुसार यहाँको अवस्थितिले गर्दा पनि अपराधिक समूहलाई लागुऔषध कारोबार गर्न ब्राजिल सहज बाटो हो । ब्राजिलको पश्चिमी सीमा पेरु, कोलम्बिया र बोलिभिया जस्ता लागूऔषध उत्पादन गर्ने देशहरूसँग जोडिएको छ भने अर्काेतर्फ धेरै बन्दरगाह हुँदै एट्लान्टिकसम्म ब्राजिलको पहुँचले यसलाई तस्करहरूमाझ विशेष बनाएको छ ।

गोताखोरहरू मार्फत समुद्रमा पुगिरहेको हो लागुऔषध ?

समुन्द्रको पानीमा कोकिन पाइनुप्रति नुन्स डायसको राय अनुसन्धानकर्ताहरूको भन्दा फरक छ । यस क्षेत्रको पानी प्रयोगशालामा प्रशोधित कोकिनले दूषित नभएको उनी बताउँछिन् ।

बरु जहाजबाट लागु औषध ओसारपसारका कारण पानी दूषित भएको सम्भावना उनी बढी देख्छिन् । गोताखोरहरूमार्फत जहाजमा कोकिन राख्ने गरिएको आफूहरूले पत्ता लगाएको अनि नुन्स डायसको तर्कमा दम भएको साओ पाउलो विश्वविद्यालयमै हिंसा अध्ययन केन्द्रका एक विशेषज्ञले भनेका छन् ।

विश्वका अधिकांश देशमा कोकिन प्रतिबन्धित छ । कोकिनले यसको सेवन गर्नेहरूको स्वास्थ्यलाई हानि पुर्‍याउँछ भन्ने कुरा पनि प्रमाणित भइसकेको छ ।

यसको ओभरडोजले मान्छेको मृत्यु समेत हुनसक्छ । ब्राजिलमा नदी र सडकको बाटो भएर कोकिन भित्रिने समाजशास्त्री नुन्स डायस भन्छिन् ।  त्यसपछि यहाँबाट कयौँ बन्दरगाह र विमानस्थल हुँदै यसलाई युरोप पठाइन्छ ।

शार्कको मासुबाट मानिसको शरीरमा कोकिन पुग्छ ?

यस अध्ययनको नतिजाले कोकिन पाइएका शार्कको मासु खाने मानिसको शरीरमा कोकिन छिर्छ कि ? भन्ने नयाँ डर पैदा गरेको छ । कोकिन भेटिएका शार्कको मासु खाँदा मान्छेको शरीरमा लागुऔषध छिर्न सक्ने डेभिस बताउँछिन् ।

ब्राजिल, अमेरिका, बेलायत र अन्य धेरै देशहरूमा नियमित रूपमा शार्कको मासु खाने गरिन्छ । यस्तोमा शार्कको मासुमार्फत ती व्यक्तिको शरीरमा कोकिन छिरिसकेको हुनसक्ने उनको भनाइ छ ।

यी बजारमा शार्कका मासु, डगफिस, चिप्स लगायत धेरै परिकार बेचिन्छ । शार्क फिन सूप कयौँ देशमा निकै लोकप्रिय पनि छ । यी शार्कको मासुबाट मानव शरीरमा प्रवेश गरेको कोकिन मानवका लागि कत्तिको हानिकारक छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । यस्तो खालको आहाराले मानव शरीरमा पर्ने प्रभावको कुनै समय सीमा नहुने डेभिस बताउँछिन् । त्यसैले मानव शरीरमा यसले कति प्रभाव पार्छ भन्ने अहिले नै यकिनका साथ भन्न नसकिने उनको भनाइ छ । 

शार्क र अन्य माछामा छाला र गिलमार्फत पानी शरीरभित्र पस्ने भएकोले पानीमा घुलेको कोकिन शरीरको भित्र पुगेको हुनसक्छ भन्नेहरू पनि छन् । तर डेभिस समुद्रको पानीमा घुलेको कोकिनले त्यहाँको पानीमा पौडी खेल्ने व्यक्तिलाई असर गर्ने सम्भावनालाई अस्वीकार गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप