बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बैंक

सङ्कटमा पनि बैंकहरूले कमाए सवा ६४ अर्ब नाफा

सिटिजन्स, सिद्धार्थलगायत बैंकको नाफा घट्यो
सोमबार, २१ साउन २०८१, १३ : ३०
सोमबार, २१ साउन २०८१

काठमाडौँ । आर्थिक शिथिलता र कमजोर वित्तीय कारोबारका बाबजुद पनि वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ मा सवा ६४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरूले चौथो त्रैमाससम्ममा ६४ अर्ब १५ करोड ३० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्ष बैंकहरूले कमाएको नाफाको तुलनामा १३.४० प्रतिशतले बढी हो । 

आर्थिक वर्ष २०७९/८० मा बैंकहरूले कूल ५६ अर्ब ५७ करोड ४४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तथापि, समीक्षा वर्षमा १० वटा बैंकले नाफा वृद्धि गर्दै गर्दा यता सोही बराबर १० वटा बैंकको नाफा घट्न पुगेको छ । 

नाफा खुम्चिनेमा ठुलो पुँजीसहितको बैंक ‘ग्लोबल आईएमई बैंक’सँगै दुईवटा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंक रहेका छन् । यी बैंकहरूको नाफा अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा न्यूनतम ४.५१ प्रतिशतदेखि अधिकतम १४९९.०४ प्रतिशतसम्मले घट्न पुगेको छ ।

कुन बैंकको नाफा कति ?

सार्वजनिक रिपोर्ट अनुसार समीक्षा वर्षमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा खुद ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ४० करोड ४९ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष १०.२३ प्रतिशतले नाफा वृद्धि गरेको हो । 

यस्तै समीक्षा वर्षमा ग्लोबल आई बैंकले ६ अर्ब १ करोड ६२ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तुलनात्मक रूपमा अघिल्लो वर्षभन्दा १०.१३ प्रतिशतले बैंकको नाफा घटेपनि ग्लोबल आईएमई बैंकले उच्च नाफा कमाउनेको दोस्रो स्थान भने सुरक्षित गरेको छ । आर्थिक वर्ष २०७९/८० मा बैंकले ६ अर्ब ६९ करोड ४३ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले अघिल्लो वर्षको तुलनामा ३९.७१ प्रतिशतले नाफा वृद्धि गर्दै ५ अर्ब १९ करोड ८३ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७२ करोड ८ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो । 

प्रभू बैंकको नाफामा झण्डै १५ सय प्रतिशतको वृद्धि !

उच्च नाफा वृद्धिको छलाङ मार्नेमा प्रभू बैंक देखिएको छ । समीक्षा वर्षमा बैंकले अधिकतम १४९९.०४ प्रतिशतले आफ्नो नाफा वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/८० मा जम्मा २८ करोड २ लाख १९ हजार रुपैयाँ नाफा गरेको बैंकले पछिल्लो वर्ष एकैपटक ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ नाफा गरेको छ । बैंकको यो लोभलाग्दो नाफा वृद्धिले अरू बैंकहरू दबाबमा परेका छन् । 

यस्तै, प्राइम कमर्सियल बैंकले पनि समीक्षा वर्षमा २६७.१९ प्रतिशतको नाफा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा जम्मा १ अर्ब २ करोड ७८ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको बैंकले पछिल्लो वर्ष ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ । 

यस्तै समीक्षा वर्षमा नाफामा तीव्र वृद्धि गर्दै सरकारी बैंक कृषि विकास बैंकले ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ बढी नाफा कमाएको छ । अघिल्लो वर्ष जम्मा १ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको बैंकले एकैवर्ष १७६ प्रतिशत बढीले नाफा वृद्धि गरेको हो । 

यस्तै कुमारी बैंकले पनि ३४५.६७ प्रतिशतले नाफा वृद्धि गर्दै समीक्षा वर्षमा २ अर्ब ३० करोड ८२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ५१ करोड ७९ लाख २१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 

अरू बैंकहरू, 

  • एभरेष्ट बैंक : अघिल्लो वर्ष ३ अर्ब ३६ करोड २१ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । तुलनात्मक रूपमा बैंकले यो वर्ष आफ्नो नाफामा १०.०७ प्रतिशतले वृद्धि गरेको हो । 
  • स्ट्याण्डर्ड चार्टर्ड बैंक : समीक्षा वर्षमा बैंकको नाफा ४.७८ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो वर्ष ३ अर्ब १६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएकोमा पछिल्लो वर्ष घटेर ३ अर्ब १ करोड ५५ लाख रुपैयाँमा झरेको हो । 
  • लक्ष्मी सनराईज बैंक : अघिल्लो वर्ष २ अर्ब २८ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष ३ अर्ब ३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा वर्षमा बैंकको नाफा ३२.७९ प्रतिशतले बढेको हो । 
  • सिद्धार्थ बैंक : बैंकको नाफा ४.७८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३ अर्ब १६ करोड ६७ लाख रुपैयाँ कमाएकोमा पछिल्लो वर्ष बैंकले ३ अर्ब १ करोड ५५ लाख रुपैयाँ मात्र कमाउन सकेको हो । 
  • हिमालयन बैंक : बैंकले आर्थिक वर्षमा २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ५६ करोड २८ लाख रुपैयाँ नाफा कमाएको बैंकले समीक्षा वर्षमा ८१.६० प्रतिशतले नाफा वृद्धि गरेको हो । 
  • सानिमा बैंक : बैंकले समीक्षा वर्षमा २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ६० करोड ५७ लाख रुपैयाँ नाफा कमाएकोमा पछिल्लो वर्ष ८.५९ प्रतिशतले नाफा घट्न पुगेको हो । 
  • एनएमबी बैंक : बैंकको नाफामा २७.४९ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्ष नै ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ नाफा कमाइसकेको बैंकले पछिल्लो वर्ष २ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ मात्र नाफा कमाउन सकेको हो । 
  • नेपाल एसबीआई बैंक : बैंकले समीक्षा वर्षमा २ अर्ब १ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको बैंकले २.३५ प्रतिशतले नाफा बढाएको हो । 
  • सिटिजन्स् बैंक : बैंकको नाफामा २७.९७ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्ष १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएकोमा पछिल्लो वर्ष जम्मा १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ मात्र नाफा कमाएको हो । 
  • माछापुच्छ्रे बैंक : समीक्षा वर्षमा बैंकले १ अर्ब २५ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ कमाएकोमा पछिल्लो वर्ष बैंकको नाफा २३.०९ प्रतिशतले घट्न पुगेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप