बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

चेकजाँच गरिरहेका ट्राफिकलाई गाडीमा हालेर भाग्न थालेपछि...

सोमबार, २१ साउन २०८१, १२ : ४३
सोमबार, २१ साउन २०८१

सिन्धुली । सवारी साधन चेक जाँच गर्ने क्रममा सिन्धुलीमा भारतीय नागरिकले ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएका छन् । सिन्धुलीको हिरापानी भन्ने स्थानमा नियमित चेकजाँच चलिरहेका बखत भारतीय सवारीमा आएका ५ जनाले चेकजाँचका क्रममा अटेर गर्दै ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएका हुन् ।

राजमार्ग क्षेत्रमा नियमित रूपमा हुने चेकजाँचका क्रममा भारतीय गाडीमा आएका ५ जनाले डियटीमा खटिएका सहायक प्रहरी हवलदार सन्तोष नारायण दासलाई नियन्त्रणमा लिएका थिए ।

गत साउन १२ गते कमलामाई नगरपालिका–४ हिरापानी चेक पोस्टमा खटिएका दासलाई भारतीय नागरिकहरूले नियन्त्रणमा लिएर गाडीभित्र हालेर हिँडेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार डुग्रेबास प्रहरी चौकीबाट टोली खटिई नियमित रूपमा २४ घण्टा सो स्थानमा चेकजाँच हुने गर्दछ ।

सोही क्रममा साउन १२ मा धार्मिकस्थल दर्शन गर्न निलो रङको बिआर–२२–एपी ७३२१ नम्बरमा आएका ५ जनालाई चेकजाँच गर्ने क्रममा दाशलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक काफ्लेले बताए । सिन्धुलीको चियाबारी नजिकै रहेको चेकजाँच स्थलमा सो गाडीमा आएका ६ जना भारतीयले चालकको बायाँ तर्फको झ्यालबाट प्रहरी सहायक हवलदार दासलाई जबरजस्ती भित्र तानेका थिए ।

चेकजाँचको सुरुवात देखि नै शङ्कास्पद हर्कत गरी रहेका उनीहरुले मादक पदार्थ सेवन गरी प्रहरीलाई कागजपत्र नदिने जिस्कने हेप्ने जस्ता क्रियाकलाप गरिरहेका थिए । मापसे चेकिङ गरिरहेका दासलाई गाडीभित्र हालेर उनीहरू भागेका थिए । चेकिङ स्थलमा रहेका अन्य प्रहरीले घटना देखेपछि गाडी रोक्न प्रयास गरे पनि उनीहरू भागेका थिए । सो लगत्तै चेकिङस्थलमा रहेका अन्य प्रहरीले मोटरसाइकलमा पिछा गरेर विपरीत दिशाबाट आएको सवारीको मद्दतबाट उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

चेकजाँच स्थलभन्दा ३०० मिटर अगाडीबाट गाडीसहित ५ जना भारतीयलाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरी उपरीक्षक काफ्लेका अनुसार दासलाई जबरजस्ती गाडीमा हालेर लाने भारत सितामढी सरखंडका २५ वर्षीय मुकेश कुमार, बथनाहका ३८ वर्षीय दिलीपकुमार, समस्तीपुरका ३५ वर्षीय अविनाश कुमार, सितामाढी नस्लपुरका ४२ वर्षीय रामानन्द प्रसाद र सितामढी सुरखंडका ३४ वर्षीय आनन्द प्रकाशलाई प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ गरिएका उनीहरूलाई अपहरण तथा शरीर बन्दकको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप