किन सहरी क्षेत्रमा छिर्न थाले बाघ ?
मकवानपुर । चितवनको नारायणगढ बजार नजिकै आइतबार बिहान ६० वर्षीय पुरुषलाई बाघले आक्रमण गर्यो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनार ‘पोखरा बसपार्क’मा बाघले आक्रमण गर्दा भरतपुर महानगरपालिका–२ बेलटाँडीका पशुपति श्रेष्ठ घाइते भए ।
बाघको आक्रमणका कारण श्रेष्ठको मुख र हातमा चोट लागेको सहायक प्रजिअ शर्माले बताए । श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रातः भ्रमणमा निस्केका श्रेष्ठलाई बाघले आक्रमण गरेको शर्माले बताए । अधिकांश मानिस प्रातः भ्रमणमा निस्किने क्षेत्रमै बाघ आएर आक्रमण गरेको सहायक प्रजिअ शर्माले बताए ।
घटनास्थल नजिकै खोलाको बगरमा बाक्लो काँसको घारी रहेको र सोही काँसको घारीमा लुकेर बाघले श्रेष्ठलाई आक्रमण गरेको सहायक प्रजिअ शर्माको भनाइ छ । श्रेष्ठको पाखुरामा गहिरो चोट लाकेको छ भने मुख र ढाडमा पनि चोट लागेको सहायक प्रजिअ शर्माले बताए ।
श्रेष्ठलाई बाघले आक्रमण गरी घिसार्न थालेपछि व्यायाम गरिरहेका अन्य मानिस कराएपछि बाघ भागेर काँस घारीमा पसेको थियो । निकुञ्जको टोली ३ वटा हात्तीमा परिचालन गरेर आइतबार राति ८ः४५ बजे बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको थियो ।
चालु आर्थिक वर्षमा मात्र बाघको आक्रमणबाट ४ जनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क छ । निकुञ्जको क्षेत्राधिकारभित्र मात्र बाघले आक्रमण गरेर उनीहरूको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।
- किन छिर्न थाले बाघ सहर ?
मानवीय क्रियाकलापको कारण बाघ र मानिसबिच द्वन्द बढिरहेको अनुसन्धानकर्ता बताउँछन् । मानिस बाघको प्राकृतिक आहार नभएकाले पनि बाघले सोझै आक्रमण नगर्ने उनीहरूको भनाइ छ ।
बाघ विज्ञ एवं पूर्वराष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. झमक बहादुर कार्कीका अनुुसार मानिसहरू विकासको क्रममा अघि बढ्दा बाघको क्षेत्रमा पुगेका हुन् । जङ्गलसँग जोडिएर बस्ती बसेको कारण बाघ आफ्नो मुभमेन्टका क्रममा झुक्किएर मानव बस्तीमा प्रवेश गर्न सक्ने बाघका विषयमा विद्यावारिधी गरेका कार्कीले बताए ।
सो अवस्थामा मानिससँग जम्काभेट हुँदामात्र दुर्घटना हुन सक्ने र साधारणतया नरभक्षी भइसकेको बाघबाहेक अन्य बाघ मानव बस्तीमा प्रवेश नगर्ने उनको भनाइ छ ।
‘स्वभावको हिसाबले बाघ सहर पसेका होइनन् । हाम्रा सहरहरूको विकास बाघको बासस्थानसम्म पुगेको हो । मध्यवर्ती क्षेत्र नजिकका सबै क्षेत्र सहरीकरणमा रूपान्तरित भइरहेका छन् । बाघ संयोगले बाहिरिँदा मानव बस्तीमा आएजस्तो देखिएको हो,’ उनले भने ।
नयाँ बाघ वासस्थान खोज्ने क्रममा बस्तीमा प्रवेश गर्न सक्ने कार्कीको भनाइ छ । उनले भने, ‘बाघ आफ्नो क्षेत्र बनाएर बस्ने भएकाले अर्को बाघसँग लडेर बस्न नसकेको खण्डमा विस्थापित हुने गर्दछ र नयाँ बासस्थानको खोजीमा निस्कन सक्छ । सोही क्रममा बस्ती हुँदै अन्य जङ्गलमा जान सक्छ ।’
बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेश थापाका अनुसार बाघ प्रतिस्पर्धा गरेर बाँच्ने प्राणी भएकाले ३ कारणल मात्र जङ्गलबाट बाहिरिने गर्दछ । बाघ अनुशासित हुने भएकाले बासस्थानको लागि ३ विषय अनुकूल हुनुपर्ने उनले बताए । बाघको नियमित बासस्थानमा आहारा, पानी र लुक्ने ठाउँमध्ये कुनै एउटा प्रभावित भएमा विस्थापित हुने उनको भनाइ छ ।
प्रतिस्पर्धाका क्रममा अरू बाघले खेदेका कारणले जङ्गलबाट विस्थापित भएर बाघहरू बस्तीतिर आउन सक्ने उनको थापाले बताए ।
नेपालमा बाघको सङ्ख्या बढेका कारण उनीहरूलाई आवश्यक पर्ने बासस्थानको क्षेत्र अपुग भएको उनले प्रस्ट पारे । वासस्थान अपुग भएपछि विस्थापित भएर बाघ बाहिरिएको हुनसक्ने उनको भनाइ छ ।
नयाँ बासस्थानको खोजीमा निस्केका बखत मानव बस्तीको आसपास बाघ पुग्ने गरेको थापाले प्रस्ट पारे । ‘बाघ आफ्नो क्षेत्र निर्धारण गरेर बस्ने गर्दछ । क्षेत्र विस्तार वा नयाँ क्षेत्र निर्धारणका क्रममा जसले जित्यो, त्यो त्यहीँ बस्छ भने हार्नेसँग भाग्ने या मर्नेमध्ये एकमात्र विकल्प बाँकी हुन्छ,’ उनले भने ।
थापाका अनुसार आफ्नो क्षेत्रबाट खेदिएपछि त्यो बाघको बस्ने ठाउँ हुँदैन र अरुले नदेख्ने, आक्रमणमा नपरियोस् भनेर लुक्ने गर्दछ । ‘जसले गर्दा आहाराको कमी हुन्छ र बस्तीहरूमा आउने गर्दछ,’ उनले भने, ‘सुरुमा यसले गाईबस्तुको सिकार गर्छ र पछि भएपछि मान्छेलाई आक्रमण गर्छ ।’
अहिले वर्षाको समय भएकाले बाघको वासस्थान डुबानमा परेका कारण पनि बाहिर निस्कन थालेको हुनसक्ने उनले बताए । ‘बाघ रहेको ठाउँमा आहाराको कमी भएकाले पनि विस्थापित भएको हुनसक्छ,’ उनले भने ।
अव्यवस्थित विकास निर्माणले पनि बाघ तथा वन्यजन्तुको वासस्थान प्रभावित भएको थापा बताउँछन् । उनका अनुसार विकास निर्माण व्यवस्थित गर्न नसक्दा वातावरणीय प्रभाव पर्नुका साथै वन्यजन्तुको अवस्थितिमा पनि खलल पुग्ने र बासस्थानबाट बाहिरिने अवस्था रहन्छ ।
थापाका अनुसार बाघको स्थायी वासस्थान नहुने तर, बाघले आफ्नो क्षेत्र आफैँ निर्धारण गर्ने र त्यसलाई विस्तार गर्ने गर्दछ ।
‘मानिसहरूलाई देखेपछि बाघ आफैँ अर्को बाटो हिँड्ने गर्दछ । अन्य जनावरलाई देखे पनि दायाँबायाँ लाग्ने स्वभाव बाघको हुन्छ । सामान्य अवस्थामा बाघले सोझै अगाडिबाट आक्रमण गर्दैन,’ उनले भने, ‘असामान्य र तर्सिएको अवस्थामा मानिस र बाघको जम्काभेट भयो भने आक्रमण गर्ने गर्दछ ।’
५० वटा मृगको हुलमध्ये पनि बाघको रोजाइमा परेकोलाई मात्र आक्रमण गर्ने उनको भनाइ छ । एउटालाई नसके अर्को आक्रमण गर्ने भन्ने स्वभाव बाघमा नहुने उनले बताए ।
नेपालमा सन् २०२२ मा ३५५ बाघ गणना गरिएको थियो । नेपालको बर्दियामा सबैभन्दा बढी बाघको वासस्थान छ । बर्दियामा सानो क्षेत्रमा धेरै बाघको घनत्व रहेको थापाले बताए । उनका अनुसार प्रति १०० वर्ग किलोमिटर क्षेत्रफलमा ७ देखि ८ वटा बाघ बसेको देखिन्छ । तर, केही स्थानमा १३ वटासम्म पनि बसेको पाइएको छ ।
अहिलेको सङ्ख्या र निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र तथा अन्य बफरजोन र सामुदायिक वनको क्षेत्रको हिसाबले सन्तुलित रहेको उनको भनाइ छ । ती क्षेत्रबाट बाघले आफ्नो क्षेत्र तय गरिसकेको र अहिलेको अवस्थामा बाघको लागि वासस्थान, आहार र पानीको व्यवस्था गर्न सके उचित हुने उनले बताए ।
‘अहिलेको समयमा बाघ बाहिर निस्किएर मानिसलाई आक्रमण गर्नु दुर्घटना मान्न सकिन्छ । अहिलेको अवस्थामा बाघ प्रभावित बनेर बाहिर निस्केका होइनन्,’ उनले भने, ‘समस्या भएर निस्केका बाघहरूको व्यवस्थापनका लागि अन्य विकल्प सोच्नुपर्ने हुन्छ । बाघ विस्थापित भएर बाहिरिँदा त्यो जङ्गलमा अटाएन वा जङ्गलमा बाघको आहार तथा वासस्थान र पानीको अनुकूलता भएन भन्ने हो ।’
विस्थापित भएर बाहिरिएका बाघका लागि अनुकूल नयाँ जङ्गलको व्यवस्था गर्ने, निकुञ्ज आरक्ष तथा संरक्षित क्षेत्रमा बाघहरू राख्न सक्ने अवस्था नरहेको उनले बताए ।
नरभक्षी बाघलाई समातेर खोरमा हालेर राख्नु वैज्ञानिक समाधानको उपाय नभएको थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
-
पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा