शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
वाम एकता

बृहत् वामपन्थी एकताको ढोका बन्द भएको हो ?

सोमबार, २१ साउन २०८१, १६ : ३०
सोमबार, २१ साउन २०८१

काठमाडौँ । देशका दुई ठुला वाम शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको सत्ता सहकार्य असार १७ गते मध्यराति कांग्रेस–एमालेबिचको ७ बुँदे सहमति भएसँगै दुर्घटनामा पर्‍यो । २०७९ को निर्वाचनपछि फेरि सत्ता सहकार्य गर्न आइपुगेका यी दुई वाम शक्तिबिचको सहकार्य दुवै पटक कांग्रेसकै कारण दुर्घटनामा परेको देखिन्छ ।

निर्वाचनपछि सरकारको नेतृत्व गर्न खुट्टा उचालेको कांग्रेसलाई रोक्न एमाले अध्यक्ष केपी ओलीले तेस्रो दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएका थिए । तर एमाले–माओवादी सहकार्य दुई महिना नपुग्दै टुट्यो ।

२०८० फागुन २१ गते दीर्घकालीन वामपन्थी एकताको लक्ष्यसहित ८ बुँदे ‘बालुवाटार सहमति’पछि दोस्रो पटक सत्ता समीकरण बनेको थियो । चार महिनामै कांग्रेसकै कारण त्यो समीकरण भत्कियो ।

२०७९ को निर्वाचनपछि समीकरण बनाउने र भत्काउने नाममा प्रचण्डले कांग्रेसलाई र एमालेलाई पालैपालो धोका दिए भने पछिल्लो पटक कांग्रेस र एमाले मिलेर प्रचण्डलाई पाखा लगाए ।

  • वाम गठबन्धन भत्किनुमा को दोषी ?

यद्यपि वामपन्थी सत्ता समीकरण भत्किनुमा एमाले र माओवादीका नेताहरूले एकअर्कामाथि दोषारोपण गरिरहेका छन् । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रचण्डको ढुलमुले चरित्रका कारण वाम गठबन्धन टुटेको आरोप लगाए ।

‘एकता र सहकार्य नहुनुमा मुख्य प्रचण्डजीको ढुलमुलेपनले भूमिका निर्वाह गर्‍यो । उहाँले भारतबाट फर्किएपछि शेरबहादुरजीलाई भेटेर कांग्रेससहितको राष्ट्रिय सहमतिको  सरकार बनाउने प्रस्ताव गर्नुभयो । त्यसले हामीलाई झस्कायो’, रातोपाटीसँग ज्ञवालीले भने ।

आफूहरू वाम गठबन्धनलाई नै ०८४ को निर्वाचनसम्म लैजाने उद्देश्यमा रहे पनि प्रचण्डले काँध फेर्न खोजेपछि समस्या भएको उनको भनाइ छ । प्रचण्डले आफू गतिशील भएको, यताउता जहाँतहीँ जान सक्ने खालका भाषण गर्दै हिँड्न थालेपछि बाध्य भएर अहिलेको स्थिति आएको उनले बताए ।

एमालेको यो आरोप माओवादीका नेताहरू भने अस्वीकार गर्दछन् । ओलीको दक्षिणपन्थी अवसरवाद र धोकाधडीका कारण वामपन्थी गठबन्धन टुटेको माओवादी केन्द्रका नेताहरूको आरोप छ ।

माओवादीका उपमहासचिव हरिबोल गजुरेलले ओलीले धोका दिएका कारण वामपन्थी समीकरण भत्किएको बताए । ‘वामपन्थी समीकरण भत्किनुमा मुख्यतः एमालेकै कमजोरी भयो । यसमा हाम्रो पनि कमजोरी होला । एमालेबाट धोका नै भएको हो । ओलीले धोका दिएकै हुन्,’ उनले भने,  ‘अब हाम्रो ध्यान सत्ता समीकरण बदल्नतिर होइन, आफैँ बदलिनतिर केन्द्रित हुन्छ ।’

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ओलीकै कारण वामपन्थी समीकरण भत्किएको आरोप लगाए ।

‘ओलीजी कांग्रेसको पिछलग्गु भएर जानुभयो । उहाँकै कारण बृहत् वामपन्थी एकता धरापमा पर्‍यो’, खनालले भने, ‘जब वामपन्थीहरूको दुई तिहाइको सरकार विघटन गरियो, त्यो नै आत्मघाती थियो ।’

  • बृहत् वामपन्थी एकताको सम्भावना जीवितै छ ?

वाम गठबन्धन दुर्घटनामा परेपछि ०८४ यता एकता र सहकार्यको सम्भावना छ कि छैन भन्ने विषयमा नेताहरूले फरकफरक विचार व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री खनालले ओलीका कारण तत्काल वाम एकता वा सहकार्यको सम्भावना नदेखिएको बताए ।

‘वाम एकताको सम्भावना एमालेले समाप्त पार्‍यो । कोर्स करेक्सन गरे अहिले पनि ठाउँ छ । गलत कार्यदिशालाई सच्याएर वैचारिक र राजनीतिक आधार बनाउने हो भने अहिले पनि सम्भव छ । हैन, मेरै गोरुको बाह्रै टक्का गरेर दुई दलीय पार्टी सिस्टम बनाउने हो भने एकता सम्भव छैन’, उनले भने ।

बालुवाटार सहमति सत्ता स्वार्थमात्रै रहेछ भन्ने ओलीको व्यवहारले पुष्टि भएको खनालले बताए । आफूले पहिले पनि कार्यक्रम बनाएर जाऊँ भनेर सुझाव दिँदा ओलीले नसुनेको उनको आरोप छ । एकताको सम्भावना भए पनि ओलीले बाटो भुलेर कांग्रेसँग अङ्कमाल गर्नपुगेपछि त्यो समाप्त भएको खनालले बताए । 

एमालेका उपाध्यक्ष ज्ञवालीले पनि तत्काल एमाले, माओवादीसहित वामपन्थी एकता वा सहकार्यको सम्भावना समाप्त भएको बताए ।

‘०८४ को चुनाव यता एकताको सम्भावना छैन । अहिले कांग्रेस–एमालेकै समीकरणलाई लिएर चुनावमा भाग लिने हो । एक्लाएक्लै प्रतिस्पर्धा गर्ने गरी कांग्रेससँग कुराकानी भएको छ । मुख्य प्रतिस्पर्धी दल भएकाले कांग्रेससँग मिलेर चुनाव लड्ने भन्ने हुँदैन । त्यस्तो अवस्थामा चुनावमा आ–आफ्नै ढंगले जानेछौँ’, उनले भने ।

यता माओवादीका उपमहासचिव गजुरेलले एमाले र माओवादीबिचको समीकरण भत्किए पनि भविष्यमा पहल गरिराख्नुपर्ने बताए । तथापि अहिलेको स्थितिमा एकता र सहकार्यको सम्भावना नरहेको उनले बताए ।

‘अहिले तुरुन्तै एकता हुँदैन । एमालेभित्र पनि एकताका लागि बहस, छलफल हुनुपर्छ । सकारात्मक कुरा आउनुपर्‍यो । समीकरण भत्किएपछि पनि सामान्य ढङ्गबाट एमालेका विभिन्न नेतासँग पहल भइरहेका छन्,’ गजुरेलले भने, ‘नहुने दुर्घटना भइसकेपछि यसबाट पाठ सिकेर फेरि नयाँ शिराबाट एकताको पहल गर्नुपर्छ ।’

  • धोकाधडीपूर्ण ओली–प्रचण्डको विगत

ओली र प्रचण्डबिच देखिएको सत्ता र शक्ति सङ्घर्षका कारण वाम गठबन्धन धरापमा परेको विगतका गतिविधिले पनि देखाउँछ ।

२०७० को दोस्रो संविधान सभा निर्वाचनसम्म आइपुग्दा प्रचण्डको कटु आलोचक थिए ओली । त्यसैले ओलीलाई प्रचण्डले कम्युनिस्ट नेता नै नभएको आरोप लगाउँथे । २०७२ सालमा संविधान जारी भएपछि प्रचण्डकै प्रस्तावमा ओली पहिलो पटक प्रधानमन्त्री भए । तर एक वर्ष नपुग्दै ओली सरकार ढालेर प्रचण्ड आफैँ प्रधानमन्त्री भए ।

२०७४ को निर्वाचनको पूर्वासन्ध्यामा फेरि प्रचण्डले दीर्घकालीन रूपमा पार्टी एकता गर्ने शर्तसहित ओलीसमक्ष चुनावी तालमेलको प्रस्ताव गरे । प्रधानमन्त्रीको लोभमा ओलीले प्रचण्डको प्रस्ताव तत्कालै स्वीकार गरे । निर्वाचनमा वामपन्थी गठबन्धनले अत्यधिक बहुमत ल्यायो । आलोपालो प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने सर्तमा ओली दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भए ।

२०७५ साल जेठ ३ गते दुई पार्टीबिच एकता गरी नेपाल कम्युनिस्ट पार्टी गठन गरियो । यद्यपि पावर सेयरिङमा ओली–प्रचण्डबिचको सङ्घर्ष उत्कर्षमा पुगेको बेला २०७७ साल फागुन २३ गते नेकपा दुर्घटना भयो । नेकपासम्बन्धी विवादमा सर्वोच्च अदालतले नेकपालाई बदर गरी पुनः एमाले र माओवादी बिउँताएपछि दुवै दल साबिककै अवस्थामा फर्किए । त्यो दुर्घटनामा एमालेको अस्तित्व जोगाउन ओली सफल भए पनि पार्टी विभाजन रोक्न सकेनन् । अन्ततः २०७८ भदौ २ गते एमाले विभाजन भयो ।

पार्टी विभाजनपछि कटुतापूर्ण सम्बन्ध रहेको ओली–प्रचण्डबिच ०७९ पुस १० गते सत्ता सहकार्य भएपछि विगतका तिक्ततापूर्ण सम्बन्धलाई बिर्सिएर नयाँ शिराबाट सम्बन्ध स्थापित हुनेमा एमाले र माओवादीका नेताहरूले विश्वास गरेका थिए । तर उनीहरूको विश्वास लामो समय टिकेन ।

फागुन १२ गते राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीमा प्रचण्डलाई कायमै राखी कांग्रेस र माओवादीबिच सत्ता सहकार्य भयो । कांग्रेससँग ११ महिना सत्ता सहकार्य गरेका प्रचण्डले अन्ततः फेरि ओलीसँग सहकार्य गर्न आइपुगे । विगतको तुलनामा ओली यसपटक नरम र लचिलो देखिएका थिए । यद्यपि फागुन ३० गते प्रधामन्त्रीले विश्वासको मत लिने बेला ओलीले घुमाउरो शैलीमा कांग्रेससँग सत्ता सहकार्यका लागि राखेको प्रस्ताव र देउवाले मुन्टो हल्लाएर दिएको समर्थनबाट प्रचण्ड झस्किएका थिए । प्रचण्डबाट धोका पाएका यी नेताबिच भएको सहमतिले नै माओवादीलाई संघदेखि सबै प्रदेशबाट सडकमा पुर्‍याइदियो ।

भारतको पश्चिम बंगालको कम्युनिस्ट पार्टीको उदाहरण दिँदै ओलीले ०८४ सम्म वाम गठबन्धन बनाउने र त्यसपछि पार्टी एकता गर्ने आश्वासन प्रचण्डलाई दिएका थिए । असार १७ बिहान प्रधानमन्त्री निवास बालुवाटारमा स्वर्ग गए पनि नर्क गएपनि सँगै जाने प्रतिबद्धता जनाउँदै ओलीले अन्तिममा धोका दिएको प्रचण्डको भनाइ छ ।

पछिल्लो समय कम्युनिस्ट नेताहरूले मार्क्सवादी विचार तथा सिद्धान्तमा भन्दा धर्ममा बढी विश्वास गरेको देखिन्छ । नैतिक मूल्य, मान्यता र निष्ठाको राजनीतिभन्दा घात प्रतिघात, झुटमुट, धोकाधडीबाट सत्ता प्राप्तिको सहारा लिएको ओली–प्रचण्डको व्यवहारबाट प्रस्टै झल्किन्छ ।

सबैभन्दा ठुलो वाम शक्ति नै प्रतिक्रियावादीसँग साँठगाँठ गरेर दलाल पुँजीवादसँग अङ्कमाल गरी साम्राज्यवादीको हितमा लागेकाले बृहत् वामपन्थी एकतामा समस्या आएको पूर्वप्रधानमन्त्री खनालको विश्लेषण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप