पत्रकार महासंघको निर्वाचन र नेतृत्व छनोटबारे क्रियाशील पत्रकारहरूको चासो
काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनको मिति अन्योल भई महासंघमा देखिएको वर्तमान समस्या र आगामी नेतृत्वको भूमिकाका विषयमा क्रियाशील पत्रकारहरूले चासो, चिन्ता व्यक्त गरेका छन् ।
क्रियाशील पत्रकारहरूको साझा मोर्चाले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमका वक्ताहरूले नेपाल पत्रकार महासंघको विधान बमोजिम कार्य नगर्दा निर्धारित समयमा निर्वाचन हुन नसकेको निष्कर्ष निकालेका छन् ।
कार्यक्रममा प्रेस मञ्च नेपालका मनोज यादवले ठुला भनिएका राजनीतिक दल निकटका पत्रकारहरूको सिन्डिकेटका कारण साना दल निकटका पत्रकारका संगठनहरुले बोल्न पनि नपाउने र उनीहरूले बोले पनि माग सुनुवाइ नहुँदा मधेस प्रदेशका अधिकांश पत्रकार महासंघका जिल्लाहरूमा अझै तालाबन्दी भइरहेको बताए । पत्रकार महासंघको वर्तमान नेतृत्व साझा चरित्रको नहुँदा सदस्यता शुद्धीकरण, सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदानमा समस्या भएको जिकिर गरे ।
प्रेस नेपालका उपाध्यक्ष श्याम कुमार यादवले पत्रकार महासंघको हैकमवादी प्रवृत्ति अन्त्य गर्न सबै क्रियाशील पत्रकारहरूलाई आह्वान गरे । पत्रकार महासंघमा हाबी भएको व्यक्तिगत तथा राजनीतिक पूर्वाग्रह सधैँका लागि अन्त्य गर्दै अगाडि बढ्न कानुनी उपचारको बाटो रोज्नुपर्नेमा उनको जोड थियो ।
त्यसै गरी प्रगतिशील पत्रकार महासंघका प्रकाश थापामगरले पत्रकार महासंघको विवादको मुख्य विषय सदस्यता शुद्धीकरण नै हो भन्दै सुर्खेतमा भएको साधारणसभाले पास गरेका बुँदा अक्षरशः पालना नगरी महासंघको वर्तमान समस्या हल नहुने बताए ।
अन्तर्क्रियामा फोनिका अध्यक्ष गजुरधन राईले पेसागत, समावेशी र पक्षधर पत्रकारहरूलाई महासंघले बायस गर्न नहुने तर्क पेस गरे । उनले महासंघले गर्ने हरेक निर्णय सामूहिकतामा हुनुपर्ने भन्दै महासंघका संस्थापक अध्यक्षको विवाद बारे उठेका सवाल तत्काल समाधान हुनुपर्ने माग गरे ।
लोकतान्त्रिक राष्ट्रिय छापा माध्यमका अध्यक्ष दामोदरप्रसाद दवाडीले पत्रकारका समस्याका बारेमा महासंघ नबोल्नु आश्चर्यको विषय भएको भन्दै सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरूलाई किन सदस्यता दिइँदैन भन्दै प्रश्न गरे । क्रियाशील पत्रकारहरूको साझा मोर्चाका संयोजक योगेन्द्र प्रताप शाहीले प्रेस काउन्सिलले पत्रपत्रिका वर्गीकरणको नतिजामा ज्यादती गरेको भन्दै त्यसकाबिरुद्ध आवाज उठाउन सबै पत्रकारहरूलाई आह्वान गरे । साथै विज्ञापन बोर्डले हालै प्रकाशन गरेको सूचनाप्रति पनि आपत्ति जनाए ।
कार्यक्रममा समाजवादी पत्रकार संगठनका लेखनाथ सिकारु, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यहरू दीपेन्द्र कुँवर, माधव दुलाल, राष्ट्रिय दलित पत्रकार मञ्चका अध्यक्ष गोपाल बराइलीले पत्रकार महासंघमा पत्रकारलाई मात्र सदस्यता दिनुपर्ने भन्दै शुद्धीकरणका नाममा क्रियाशील पत्रकारहरूको सदस्यता कटौती गरिएकोमा पत्रकार महासंघको वर्तमान नेतृत्व आलोचित र असफल भएको बताए ।
अन्तर्क्रियामा क्रियाशील पत्रकारहरूको साझा मोर्चाका सचिव योगेश खपाङ्गीले मोर्चाको अवधारणाबारे अवगत गराएका थिए भने श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसी, संयोजक योगेन्द्र शाहीले महासंघको आगामी नेतृत्व चयनका बारेमा अझ व्यापक छलफल र अन्तर्क्रिया गर्दै साझा चरित्रको व्यक्ति छनोट गर्न मोर्चा सबै पत्रकार र संघ संगठनहरुसँग सहकार्य गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमा मिडियाले जोलानीको ‘रिब्रान्डिङ’ कसरी गरिरहेका छन् ?
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अमेरिकाले यमनमा हुथी विद्रोहीको ठेगानामा गर्यो हवाई हमला
-
गाजामा युद्धविराम वार्ता ९० प्रतिशत पूरा
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
'अस्तिभन्दा हिजो' भिडियोमा सम्राट्को एकल अभिनय