केवल चार खेलाडीको भरमा सानो टापु राष्ट्रले जितेको यो ‘ऐतिहासिक स्वर्ण’
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा एउटा सानो टापु राष्ट्र सेन्ट लुसियाकी खेलाडी जुलियन अल्फ्रेडले इतिहास रचेकी छन् । विश्व खेलकुदका महारथी राष्ट्रका प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै अल्फ्रेडले स्वर्ण पदक चुमेकी छन् ।
जारी ओलम्पिकमा अल्फ्रेड धेरैलाई जिल्याउँदै विश्वकै सबैभन्दा तीव्र गतिकी महिला बनेकी हुन् । उनले महिला एक सय मिटर दौडमा स्वर्ण पदक कुम्ल्याइन् । ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा एथलेटिक्सको एक सय मिटर दौडलाई महत्त्वपूर्ण विधाका रूपमा हेरिन्छ ।
२३ वर्षीया अल्फ्रेड सेन्ट लुसियाका लागि ओलम्पिकमा पदक जित्ने पहिलो खेलाडी पनि बनेकी छन् । यस अर्थमा उनले विश्व खेलकुद इतिहासमा सुनौलो अक्षरले आफ्नो नाम दर्ता गराएकी छन् । उनले चर्चित अमेरिकी धाविका शा’कारी रिचर्डसन र मेलिसा जेफर्सनलाई जिल्याउँदै उपाधि चुमेकी हुन् ।
आफ्नो देशलाई ओलम्पिकमा पहिलो पदक दिलाउने क्रममा उनले निर्धारित दुरी १०.७२ सेकेन्डमा पुरा गरिन् । यो उपलब्धिसँगै इतिहासकै आठौँ सर्वाधिक तीव्र गतिकी महिला पनि बनेकी छन् । अमेरिकी धाविका रिचर्डसनले निर्धारित दुरी पार गर्न १०.८७ सेकेन्ड सयम खर्चिइन् ।
कांस्य पदक जित्ने अर्की अमेरिकी धाविका जेफर्सनले भने १०.९२ सेकेन्डमा निर्धारित दुरी पार गरेकी थिइन् । अल्फ्रेड आफ्नो उपलब्धिबाट आफै अचम्मित बनेकी थिइन् । त्यसपछि उनले विश्व खेलकुदमा सधैँ आफूले आदर्श मान्दै आएका चर्चित धावक उसेन बोल्टकै शैलीमा खुसीयाली मनाइन् ।
‘आफैलाई विश्वास लागेको छैन । मेरा प्रतिद्वन्द्वीहरू निकै प्रभावशाली थिए । उनीहरूको अगाडि त मेरो सामान्य चर्चासमेत थिएन । आफ्नो देशलाई ओलम्पिक खेलकुदमा पहिलो पदक जिताउने खेलाडी बन्न पाउँदा निकै गौरव लागेको छ,’ खेलपछि उनले भनेकी थिइन् ।
उनले पदक जितेपछि खुसीयाली मनाउने आफ्नो शैलीको बारेमा पनि बोलिन् । ‘पक्कै पनि तपाईँहरूले यसअघि मैले यसरी खुसीयाली मनाएको देख्नु भएको थिएन होला । मलाई आफ्नो जीवनको सबैभन्दा ठुलो खुसी यसरी नै व्यक्त गर्न मन लाग्यो,’ उनले भनिन् ।
अल्फ्रेडले विश्व खेलकुदमा उसेन बोल्ट आफ्नो आदर्श भएको र उनकै शैलीबाट प्रभावित भएर आफूले खुसीयाली व्यक्त गरेको पनि बताइन् । ‘इमानदार भएर भन्नु पर्दा मैले आज बिहान उसेन बोल्टको भिडियो पटक–पटक हेरेकी थिएँ । पदक जितेपछि बोल्टले कसरी खुसीयाली व्यक्त गर्नुहुन्छ भन्ने पनि विचार गरेकी थिएँ । म बोल्टकै खेल हेर्दै हुर्किएकी हुँ,’ उनको थप कथन छ ।
अल्फ्रेडले स्वर्ण पदक जितेको केही समयपछि नै सेन्ट लुसियाका प्रधानमन्त्री फिलिप पियरेले उनलाई बधाई पनि दिएका छन् । प्रधानमन्त्री फिलिपले सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिएका हुन् । ‘अन्ततः तिमी विश्व च्याम्पियन भएरै छाड्यौ, जुजु । तिम्रो यो गुन देशले सधैँ सम्झने छ । अहिले तिमीसँग सिङ्गो देश खुसीयाली मनाउँदैछ,’ प्रधानमन्त्री फिलिपले भनेका छन् ।
अल्फ्रेडले जारी ओलम्पिकमा अझै एक स्पर्धामा प्रतिस्पर्धा गर्न बाँकी छ । उनले अब महिला दुई सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । त्यसमा पनि सफलता हात पार्न सके उनले आफ्नो देशलाई केही समयको अन्तरमै अर्को खुसी दिनेछिन् ।
अल्फ्रेडले यसअघि सन् २०२२ को राष्ट्रमण्डलीय खेलकुदमा रजत पदक जितेकी थिइन् । विश्व एथलेटिक्समा उनी खासै चर्चित खेलाडी होइनन् । उनको नाममा विश्व एथलेटिक्सको धेरै पदक जोडिएको छैन । त्यसैले पेरिसमा उनको प्रदर्शन अधिकांश खेल विश्लेषकका लागि पनि अपत्यारिलो थियो ।
सेन्ट लुसियाले सन् १९९६ को एटलान्टा ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएको थियो । सेन्ट लुसिया पूर्वी क्यारेबियन क्षेत्रमा रहेको वेस्ट इन्डिजको एउटा सानो टापु राष्ट्र हो । सेन्ट लुसियाले हालसम्म शीतकालीन ओलम्पिकमा भने सहभागिता जनाएको छैन ।
केवल ६ सय १७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो क्यारेबियन टापु राष्ट्रको जनसङ्ख्या पनि एक लाख ९० हजारको हाराहारीमा रहेको छ । यो टापु राष्ट्रमा स्थानीय भाषाका अतिरिक्त फ्रान्सेली भाषा पनि बोलिन्छ ।
सेन्ट लुसियाले ओलम्पिक खेलकुदमा निकै सानो खेल टोली सहभागी गराउँदै आएको छ । यसपटक पनि सेन्ट लुसियाले आफ्ना चार खेलाडी मात्र सहभागी गराएको छ । त्यसैले पनि सेन्ट लुसियाको यो उपलब्धिलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
००
- जब ७५ हजार जनसङ्ख्या भएको डोमिनिकका लागि थिया लाफन्डले नसोचेको स्वर्ण जितिन्
यसैगरी, अर्को सानो क्यारेबियन टापु राष्ट्र हो, डोमिनिका । जारी पेरिस ओलम्पिकमा डोमेनिकाले पनि आफ्ना केवल चारजना खेलाडी सहभागी गराएको छ । यति थोरै खेलाडी सहभागी गराए पनि डोमेनिकाले पेरिस ओलम्पिकमा स्वर्ण पदक जितिसकेको छ ।
३० वर्षीया डोमेनिकन खेलाडी थिया लाफन्डले जारी ओलम्पिकमा आफ्नो देशलाई स्वर्ण पदकको स्वाद चखाएकी हुन् । अभूतपूर्व प्रदर्शनसहित उनले महिला ट्रिपल जम्प स्पर्धामा आफ्नो देशलाई स्वर्ण पदक दिलाइन् ।
थिया लाफन्ड ओलम्पिक खेलकुदको इतिहासमा पदक जित्ने पहिलो डोमेनिकन खेलाडी हुन् । डोमेनिकाले सन् १९९६ देखि ओलम्पिक खेलकुदमा सहभागिता जनाउन थालेको हो । यो देशले हालसम्म ओलम्पिकमा निकै सानो खेल टोली सहभागी गराउँदै आएको छ ।
डोमेनिकाको कुल क्षेत्रफल सात सय ५० वर्ग किलोमिटर रहेको छ । यो देशको जनसङ्ख्या करिब ७५ हजार रहेको छ । ट्रिपल जम्पा स्वर्ण पदक चुमेसँगै थिया लाफन्डले पनि ओलम्पिक खेलकुदको इतिहासमा आफूलाई ऐतिहासिक खेलाडीका रूपमा उभ्याएकी छन् ।
स्वर्ण पदक कुम्ल्याउने क्रममा थिया लाफन्डले जमैकाकी सानलेका रिकेट्सलाई पछि पारेकी थिइन् । थिया लाफन्डले नयाँ कीर्तिमान पनि बनाइन् । रिकेट्सले रजत पदकमा चित्त बुझाइन् । अमेरिकी खेलाडी जस्मिन मुरेले कांस्य पदक हात पारिन् ।
थिया लाफन्डले यसै वर्ष सम्पन्न वर्ल्ड इन्डोर च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् । त्यसअघि उनले सन् २०२२ मा बर्मिङ्मघमा सम्पन्न राष्ट्रमण्डलीय खेलकुदमा रजत पदक हात पारेकी थिइन् । स्वर्ण जितेपछि उनले यो आफ्नो जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण भएको प्रतिक्रिया दिइन् ।
‘यो मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण दिन हो । यो हामी कसैले नसोचेको उपलब्धि पनि हो । सफलता मभन्दा केवल एक जम्प टाढा थियो । हामी यस विषयमा पहिले पनि कुरा गर्थ्यौँ । साँच्चै हो रैछ, केवल एउटा जम्पले मलाई इतिहासमा अमर बनायो । अनि मेरो देशको गौरव पनि बढायो,’ उनले भनेकी छन् ।