बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्रको नाममा ज्येष्ठ नागरिकमाथि राज्यको ‘अत्याचार’

‘पहिले खिचेको फोटो मिलेन, नागरिकताको पुरानो फोटो पनि मिलेन, त्यसपछि नागरिकता नै मिलेन’
सोमबार, २१ साउन २०८१, १६ : ३०
सोमबार, २१ साउन २०८१

विराटनगर । विराटनगरको चर्को घाम सहँदै राष्ट्रिय परिचयपत्र बनाउनकै लागि जिल्ला प्रशासन कार्यालय मोरङमा ज्येष्ठ नागरिकहरूको भिडभाड छ । कोही स–साना बुट्यानको छहारीमा छन् । कोही पसिना बगाउँदै लाइनमा सकी–नसकी बसेका छन् । कोही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीका कार्यकक्षमा लौरो टेकेर पुगेका छन् ।

त्यही भिडमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेकी सुन्दरहरैंचा १ की ८४ वर्षीय लक्ष्मी ढकाल पनि सानो बुट्यानको छहारीमा बसिरहेकी छन् ।

बढ्दो उमेर, आँखा नदेख्ने, कान नसुन्ने, दमकी रोगी ढकाललाई पनि वडाका जनप्रतिनिधिहरूले राष्ट्रिय परिचयपत्र नबनाए ज्येष्ठ नागरिक कार्ड नवीकरण नहुने भनेर सुनाए । त्यो नवीकरण नहुँदा वृद्ध भत्ता नपाउने उनमा डर थियो । त्यसपछि उनले राष्ट्रिय परिचयपत्रकै लागि वडा कार्यालयमा दुई पटक फोटो खिचाइन् । तर, नम्बर आएन । त्यही नम्बर मिलाउन उनी जिल्ला प्रशासन कार्यालय मोरङ आइपुगिन् । ढकाल देवरको घरमा बस्छिन् । वृद्ध भत्ताकै भरमा उनको जीवन चलेको छ ।

Rastriya Parichaya Patra (1)

छिमेकी ८० वर्षीय पवित्रादेवी राउतको साथमा आएकी उनलाई कहिले पालो आउँछ थाहा छैन । साढे १ बज्दा पनि उनले परिचयपत्रको लाइनको अवस्था के हो, कता हो भन्ने पत्तो पाइनन् ।

पवित्राको पनि समस्या त्यस्तै हो । दुई पटक वडा कार्यालयमा गएर फोटो खिचेको तर नम्बर नै आएन । नम्बर लिन उनी जिल्ला प्रशासन कार्यालय आइपुगिन् तर त्यहाँ ‘नेट’ आएन भनिदिए । बाहिरै नेट कुरेर बसेको उनले सुनाइन् ।

‘राष्ट्रिय परिचयपत्र बनाउन आएको हुँ । वडामा बनेन । नम्बर निस्किएन । वडा कार्यालयमा दुई पटक खिच्दा पनि नम्बर नै निस्किएन,’ उनले भनिन्, ‘बिहानै यहाँ आइपुग्दा नेट आएन भने, त्यसपछि लाइनमा बसिरहेको छु । अहिलेचाहिँ बल्ल बल्ल नेट आयो अरे । अब बन्छ कि !’

Rastriya Parichaya Patra (8)

उनको जन्म मिति २००१ सालको हो । नागरिकता बनाउँदा ११ साल देखिएछ । बल्लबल्ल मिलाएर वृद्धभत्ता खान थालेकी उनलाई अहिले फेरि अर्को झमेला आइपुग्यो । ‘यो के झमेला लाइदिए ! दुःख पाइयो,’ उनी सुनाउँछिन् ।

मोरङ धनपालथान ७ की सुशीलादेवी सिंह ७८ वर्ष पुगिन् । लौरो टेकेर राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ धाएकै उनले पाँच पटक भइसक्यो । ‘पहिले आमाले राष्ट्रिय परिचयत्र पत्रका लागि फोटो खिचाउनु भयो तर, भएन । दोस्रो पटक आउँदा तपाईंको यो नागरिकताले काम दिएन भन्यो । प्रतिलिपि निकाल्नुपर्ने भन्यो । प्रतिलिपि लिन आउँदा अनुसूची भरेर ल्याउन भन्यो । त्यो पनि भयो । त्यसपछि रेकर्डमा जाँदा रेकर्ड फाइल नै झुत्रो भइगएको भनेर लेखिदियो । अब भन्छ– अनुसूची १ भरेर ल्याउनु, सर्जमिन मुचुल्का उठाउनु । अब मेरो आमाले नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया पूरा गर्नुपर्ने भयो,’ आमा सुशीलालाई लिएर आएका सञ्जय सिंहले भने ।

नागरिकताको अवस्था हेर्दा प्रतिलिपि लिनुपर्ने कुनै कारण नै नदेखिने उनले बताए । ‘अब झुत्रो भयो भने यसैको खिचेर रेकर्ड खडा गरेर दिँदा हुने हो तर, अब मेरो आमाले नयाँ नागरिकता लिने प्रक्रिया पूरा गर्नुपर्ने भयो,’ उनले भने ।

सुशीलाको यही नागरिकताबाट अहिलेसम्म काम चल्ने र अहिले नचल्ने अवस्था आउनुमा राज्य आफैँ जिम्मेवार छ । तर, राज्यले नागरिकलाई दुःख दिएको छ । चुस्त सेवा प्रवाहमा राज्यको ध्यान नगएकोप्रति सिंह आक्रोश व्यक्त गर्छन् ।

Rastriya Parichaya Patra (11)

‘मैले सर्जमिन मुचुल्का फेरि किन उठाउनु ? आमासँग मतदाता परिचयपत्र छ । जग्गा जमिनको लालपुर्जा छ । तर, सबै कागजात हुँदा पनि अनेक बहाना गरेर दुःख मात्रै दिइरहेका छन्,’ सिंह भन्छन् ।

मन्त्रिपरिषद्को निर्णयको आधारमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत जेठमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । ज्येष्ठ नागरिकलाई सास्ती दिने निर्णय भन्दै त्यसको चौतर्फी विरोध भएपछि असार २७ गते बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई स्थगन गर्ने निर्णय गर्‍यो ।

सरकारको निर्णय अनुसार पञ्जीकरण विभागले केही ढिलो गरी परिपत्र गरिसकेको छ । असार २७ को निर्णय अनुसार विभागले साउन ४ गते सबै स्थानीय तहमा परिपत्र गर्दै परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित भएको जनाएको छ । तर, आम सर्वसाधारणमा सूचनाको सहज पहुँच नहुँदा ज्येष्ठ नागरिकले दुःख पाइरहेका छन् ।

Rastriya Parichaya Patra (6)

ज्येष्ठ नागरिकले मात्रै होइन, धेरैले राष्ट्रिय परिचयपत्र बनाउने नाममा झन्झट बेहोरेका छन् । कानेपोखरीबाट हातमा पुरानो पासपोर्ट नवीकरण गर्न आएका एक युवा नागरिकताको प्रतिलिपि बनाउने हतारोमा देखिए । ‘विदेश जानुपर्ने, पासपोर्ट नवीकरण गर्न आएको, राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने भयो । राष्ट्रिय परिचयपत्र बनाउन जाँदा नागरिकताको पुरानो फोटो परिवर्तन गर्नुपर्ने भयो । पुरानो फोटो परिवर्तन गर्न नागरिकताको प्रतिलिपि निकाल्नु पर्ने भयो । त्यसका लागि वडासम्म पुगेर कागज मिलाएर आएको छु । अब होला कि ?,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बिहान ५ बजेदेखि नै ज्येष्ठ नागरिकहरू लाइनमा बसेका थिए । कर्मचारीको अभाव हुँदा समस्या देखिएको जिल्ला प्रशासन कार्यालय मोरङको भनाइ छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले सोमबारदेखि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म नै सेवा दिने जानकारी दिए । आइतबार दिनभरिमा प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रका लागि मात्रै ४६२ वटा टोकन बाँडेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप