शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

नेपथ्यसँगै झुम्यो कोलोराडो

सोमबार, २१ साउन २०८१, ०५ : ५१
सोमबार, २१ साउन २०८१

कोलोराडो । अमेरिकाका सातवटा सहरहरूमा शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न साङ्गीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्यान्ड नेपथ्यको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा भव्य रूपमा सम्पन्न भएको छ ।

स्थानीय समयअनुसार बेलुकीको ठिक छ बजे हलका ढोकाहरू खुलेका थिए । त्यसैगरि पूर्व घोषित तालिका अनुसारै ठ्याक्कै सात बजे कन्सर्ट सुरु भयो । पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाउँला’ गीतका भिडियोसँगै कन्सर्टको सुरुवाती प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो । त्यसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दियो ।

चालिस दिनमा सात कार्यक्रमको कार्यसूचीसहित कोलोराडोको डेनवर पुगेको नेपथ्यको पहिलो कार्यक्रम आत्मीय रहेको अनुभव ब्यान्डका अमृत गुरुङ सुनाउँदै थिए । ब्यान्ड पहिलोपटक प्रस्तुतिका क्रममा प्रवेश गरेको यो राज्यमा नेपाली समुदायको जीवन्त उपस्थिति देख्न पाउँदा आफूलाई खुसी लागेको अमृतले बताए ।

01 Nepathya frontman Amrit Gurung at the Boulder Theatre in Colorado, USA. Photo-Dipit Raz

शनिबारको कन्सर्टमा आएका दर्शकहरूमा केही चिरपरिचित अनुहारहरू पनि देखिन्थे । तिनैमध्ये थिए अग्रज कलाकार हिरण्य भोजपुरे र गायिका रिमा गुरुङ होडा ।

‘कोलोराडो वरिपरिबाट आएका नेपालीहरूको भीडले बोल्डर सहरलाई नेपालमय बनाएको अनुभव भइरहेको छ,’ कन्सर्ट सकिएपछि रिमाको प्रतिक्रिया थियो, ‘नेपथ्य कन्सर्ट अनुभव गर्ने कोलोराडोवासी नेपालीहरूको लामो समयदेखिको सपना बल्ल पुरा भएको छ ।’

नेपथ्यका सर्वकालिक हिट गीतहरू समेटिएको कन्सर्टमा ब्यान्डको स्थापनाकालीन ‘आँगनैभरि’ देखि लिएर भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’  सम्म अटाएको थियो ।

05 Nepathya performing to a packed house at the Boulder Theatre in Colorado USA. Photo-Dipit Raz

कार्यक्रमभरि पटकपटक नेपाली भाषा र पहिचानको पक्षमा विचार राखेका अमृतले आफूले पैदलै गाउँवस्ती घुम्दाका क्रममा कतिपय गीतहरू सङ्कलन गर्ने अवसर पाएको सुनाउँदै, नेपाल आउँदा देश घुम्नु पनि सुझाए । यति भन्दै, अमृतले धौलागिरिको सेरोफेरो यात्रा गर्दा बनाएको गीत 'सिरफुल' सुनाए । र, पृष्ठभूमिको पर्दामा देखियो यात्राका दौरान अमृतले खिचेका रुकुम यात्राका तस्बिरहरू ।

कन्सर्टको अन्तिमतिर पुग्नै लाग्दा अमृतले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्र उफ्रिने दर्शकहरूको सङ्ख्या बढ्न पुगेको थियो । त्यसले ‘रेशम’, ‘तालको पानी’ र अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ सम्म पुग्दा क्रमशः दर्शकहरूमा उत्तेजनाको पारो बढाउँदै लगेको थियो ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

04 Nepathya performing in Colorado USA. Photo-Dipit Raz

स्थानीय आयोजक ‘कोसेली कोलोराडो’ समूहले नेपथ्यको प्रस्तुति कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठुलो नेपाली कार्यक्रम रहेको र भव्य रूपमा 'सोल्ड आउट'  सहित सभ्यरुपमा सफल भएको प्रतिक्रिया दिएको छ ।

अमेरिका यात्राको प्रथम कन्सर्ट भव्य रूपमा सम्पन्न भएसँगै अबको दोस्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटीय समृद्ध सहर सानफ्रान्सिस्कोमा हुनेछ । त्यहाँस्थित ‘वारफिल्ड थिएटर’ मा अगस्त १० तारिखका दिन नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत हुँदैछ ।

त्यसपछि भने ब्यान्ड क्रमशः ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप