१० बजे, १० समाचार
आज २०८१ साउन २० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा ओलीले भने– एमालेमा गुटबन्दी स्वीकार्य छैन, कर्णाली सरकारमा कांग्रेस सामेल, सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त, उद्योगीसँग विद्युतको बक्यौता उठाउनेबारे सरकार र कुलमानबिच द्वन्द्व, सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स सिंगापुर पठाइयो, त्रिशूलीमा खसेका दुई बस अझै किन भेटिएन ?, रंगशाला निर्माणमा आशा जगाउन कलाकारलाई प्रधानमन्त्रीको आग्रह लगायत छन् ।
१. ओलीले भने– एमालेमा गुटबन्दी स्वीकार्य छैन
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र गुटबन्दी स्वीकार्य नरहेको बताएका छन् । आइतबार नवनियुक्त एमाले पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
२. कर्णाली सरकारमा कांग्रेस सामेल
एमाले नेतृत्वको कर्णाली सरकारमा आइतबार नेपाली कांग्रेस पनि सामेल भएको छ । केन्द्रमा भएको सहमति अनुसार बनेको गठबन्धन अन्तर्गत एमाले नेतृत्वको सरकारमा कांग्रेसले मन्त्री पठाएको हो ।
३. सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । प्रदेश प्रमुखले तोकेको समयावधिभित्र शाहले बहुमत प्रदेश सभा सदस्यको समर्थन जुटाएर दाबी पेस गरेका हुन् । प्रदेश प्रमुखले उनलाई आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
४. उद्योगीसँग विद्युतको बक्यौता उठाउनेबारे सरकार र कुलमानबिच द्वन्द्व
उद्योगीसँग विद्युतको बक्यौता उठाउने विषयमा सरकार र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच द्वन्द्वको अवस्था देखिएको छ ।
५. सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स सिंगापुर पठाइयो
सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स बोकेर दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष रतिशचन्द्र लाल सुमन आफैँ सिंगापुर पुगेका छन् । जहाज दुर्घटनाको छानबिन तथा अध्ययनको सिलसिलामा रहेको आयोगले भ्वाइस रेकर्ड तथा घटना विवरणको जाँच गर्न सकिने ब्ल्याक बक्स परीक्षणका लागि सिंगापुर पठाएको हो ।
६. त्रिशूलीमा खसेका दुई बस अझै किन भेटिएन ?
त्रिशूलीमा खसेका दुई बस अझै फेला पर्न सकेको छैन । दुवै बसमा गरी करिब ४० यात्रीसमेत अझै फेला पर्न सकेका छैनन् । उद्धार कार्यमा संलग्न अधिकारीहरू विभिन्न चुनौतीका कारण बस र यात्री फेला पर्न नसकेको बताउँछन् ।
७. भोटो जात्रा सम्पन्न
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । आइतबार ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाइएको हो ।
८. रंगशाला निर्माणमा आशा जगाउन कलाकारलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशाला निर्माणमा आशा जगाइदिन कलाकारलाई आग्रह गरेका छन् । उनले आइतबार केही कलाकार र केही खेलाडीलाई बोलाएर भेट गर्दै यस्तो आग्रह गरेका हुन् ।
९. त्रिभुवन विश्वविद्यालयमा राजनीतिक
त्रिभुवन विश्वविद्यालयमा आरोप–प्रत्यारोप सुरु भएसँगै सत्ता र शक्तिको राजनीति फेरि सतहमा देखिएको छ । पटकपटक राजनीतिक हस्तक्षेपको सिकार हुँदै आएको विश्वविद्यालयमा नयाँ सरकार बनेसँगै राजनीतिक स्वार्थ हावी हुन थालेको हो ।
१०. पदाधिकारी चयन गर्न एकीकृत समाजवादीमा अलमल
असारमा १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन भएको झन्डै एक महिनापछि (साउन १८) मा केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । तर २१ पदाधिकारीमध्ये अझै १८ पदाधिकारी चयन गर्न सकेको छैन । केन्द्रीय कमिटीलाई पूर्णता दिनै अलमल गरेको सो पार्टीले पदाधिकारी छनोटको गृहकार्य नै सुरु गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ