७ वर्षमा कर्णालीमा ४ मुख्यमन्त्री, ४१ मन्त्री
सुर्खेत । सत्ता गठबन्धनमा भइरहने फेरबदलले केन्द्रमात्र नभएर प्रदेशहरू पनि प्रभावित हुने गरेका छन् । सोही क्रममा संघीयताको सात वर्षमा कर्णाली प्रदेशले चार वटा मुख्यमन्त्री पाइसकेको छ ।
७ वर्षको अवधिमा कर्णालीमा ४५ जना मन्त्री बनिसकेका छन् । ४० सदस्यीय प्रदेश सभा रहेको कर्णालीमा सरकार स्थापनाको पहिलो कार्यकालमा दुई मुख्यमन्त्री र २१ मन्त्री बने भने दोस्रो कार्यकालको १९ महिनामा दुई मुख्यमन्त्री र २० जना मन्त्री बन्न सफल भए ।
कर्णालीमा अहिलेसम्म ४ मुख्यमन्त्री बनेकोमा दुई जना माओवादी केन्द्रका र बाँकी एक–एक नेपाली कांग्रेस र एमालेबाट बनेका छन् ।
मन्त्री बन्नेमा सबैभन्दा बढी माओवादीका सांसद छन् ।
प्रदेश सभाको पहिलो कार्यकालमा कर्णाली राष्ट्रिय राजनीतिको केन्द्र बन्यो । सुरुमा नेकपा एमाले–माओवादी बिचको सत्ता समीकरणमा सरकार बनेको थियो, जसको मुख्यमन्त्री माओवादीका महेन्द्रबहादुर शाही थिए ।
पछि दुई दल मिलेर नेकपा बन्यो भने प्रतिपक्षका नेपाली कांग्रेस थियो । नेकपा खारेज भएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले पटक–पटक मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र आफू मुख्यमन्त्री बन्ने प्रयास गर्दा एमाले विभाजनको बिजारोपण समेत भयो ।
पहिलो कार्यकालमा कर्णालीमा विकृत राजनीतिक अभ्यास भए । एमालेका केही सांसदले दलको निर्णय विरुद्ध ‘फ्लोर क्रस’ समेत गरे । जसको असर प्रत्यक्ष रूपमा राष्ट्रिय राजनीतिमा परेको थियो । पछि कँडेल मुख्यमन्त्री बन्न पाएनन्, बरु प्रत्यक्षतर्फ एक सिट जितेको नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बने ।
पहिलो कार्यकालमा माओवादीबाट ११, एमालेबाट चार जना मन्त्री बनेका थिए । यस्तै पछि दुई जना ‘फ्लोर क्रस’ गरेर ६ महिने मन्त्री बनेका थिए भने एमाले विभाजनपछि दुई जना समाजवादीबाट र चार जना नेपाली कांग्रेसबाट मन्त्री बनेका थिए ।
हेर्नुहोस् पहिलो कार्यकालमा मन्त्री बनेकाहरू
दोस्रो कार्यकाल: १९ महिनामै २ मुख्यमन्त्री, २० मन्त्री
प्रदेश सभाको दोस्रो कार्यकालको १९ महिनामा दुई मुख्यमन्त्री र २० जना मन्त्री बने ।
०७९ मंसिरमा भएको प्रदेश सभाको चुनावपछि कर्णालीको तेस्रो मुख्यमन्त्री (दोस्रो कार्यकालको पहिलो) माओवादी संसदीय दलका नेता राजकुमार शर्मा बने । नेकपा एमालेको समर्थनका ०७९ पुस २७ गते मुख्यमन्त्री भएका शर्मा नेतृत्वको सरकार १५ महिना अर्थात् ०८० चैत्र २७ गतेसम्म चल्यो ।
शर्माको करिब १५ महिने कार्यकालमा उनीसहित माओवादीबाट पाँच, एमालेबाट तीन र कांग्रेसबाट तीन गरी ११ जना मन्त्री भए । यो अवधिमा दुई पटक सत्ता समीकरण फेरबदल भयो ।
शर्माको कार्यकालमा मन्त्री भएकाहरू
केन्द्रमा कांग्रेस–माओवादीको समीकरण टुटेर एमाले–माओवादी समीकरण बनेपछि ०८० चैत २७ गते दोस्रो कार्यकालको दोस्रो मुख्यमन्त्रीका रूपमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भए ।
सुरुमा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका उनले आइतबारमात्रै कांग्रेसलाई सरकारमा सहभागी गराए । सोमबार दोस्रो पटक विश्वासको मत लिन लागेका कँडेल अबको डेढ वर्ष मुख्यमन्त्री बन्नेछन् ।
चार महिनाको कँडेल नेतृत्वको सरकारमा माओवादीबाट चार, एमालेबाट उनीसहित चार (विनोदकुमार शाह दोहोरिएका) र कांग्रेसका चार सांसद मन्त्री बनेका छन् ।
पहिलो कार्यकालको बराबर दोस्रो कार्यकालको १९ महिनामै मन्त्री बनेका छन् ।
यसरी हेर्दा राजनीतिक दलहरू विकास र समृद्धिको बाटोतर्फ अग्रसर हुनेभन्दा सत्ता स्वार्थको लागि सरकार बनाउने र भत्काउनेमा केन्द्रित भएका देखिन्छन् ।
कँडेलको कार्यकालमा अहिलेसम्म मन्त्री बनेकाहरू
कर्णालीमा अहिलेसम्म ४ प्रदेश प्रमुख
कर्णालीमा ७ वर्षको अवधिमा चार जना प्रदेश प्रमुख बनेका छन् । तीमध्ये एक जना प्रदेश भित्रकै र तीन जना बाहिरका बने । पहिलो पटक ०७४ मा कांग्रेसको कोटाबाट प्रदेश प्रमुख दुर्गाकेशर खनाल बने । उनी वीरेन्द्रनगरबासी हुन् ।
खनाल ०७६ कार्तिक ७ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे । पछि केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएर ०७५ कार्तिक १८ गते एमाले नेता गोविन्द प्रसाद कलौनीलाई प्रदेश प्रमुख नियुक्त ग¥यो । उनी सुदूरपश्चिमका हुन् ।
कलौनी ०७८ कार्तिक २३ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे । त्यसपछि नेकपा माओवादीको कोटाबाट कर्णालीको प्रदेश प्रमुख भएर लुम्बिनी प्रदेशको बाँकेका तिलक परियार आए ।
अहिले उनलाई हटाएर फेरि कञ्चनपुरकै यज्ञराज जोशीलाई प्रदेश प्रमुख बनाइएको छ । जोशीले शुक्रबारमात्रै पदभार ग्रहण गरे ।
सभामुख, उपसभामुख
७ वर्षको अवधिमा दुई जना सभामुख र दुई जना उपसभामुख बनेका छन् । पहिलो कार्यकालमा एमालेको तर्फबाट सभामुख राजबहादुर शाही बनेका थिए भने अहिले पनि एमालेकै तर्फबाट नन्दा गुरुङ सभामुख छिन् ।
यस्तै पहिलो कार्यकालमा माओवादीका तर्फबाट पुष्पा घर्ती (विष्ट) उपसभामुख थिइन् भने अहिले पनि माओवादीकै तर्फबाट यशोदा न्यौपाने उपसभामुख छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका जेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता