आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
सिमलताल बस दुर्घटना

त्रिशूलीमा दुई वटा डिलक्स बसको खोजी किन सफल भएन ?

सोनार, अन्डर वाटर ड्रोन, चुम्बक र जेटबोट प्रयोग तर नतिजा शून्य
आइतबार, २० साउन २०८१, १८ : ५७
आइतबार, २० साउन २०८१

काठमाडौँ । त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका हुन् ।

दुवै बसमा सवार गरी २५ जनाको शव भेटिएको छ भने अन्य ४० यात्री र बस अझै बेपत्ता छन् ।

फेला परेका शवको भाग किनारमा देखिएपछि खनेर निकालेको बागमती प्रदेशका प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) विष्णु केसीले बताए । उनले भने, ‘भेटिएकामध्ये धेरै शव सुरक्षाकर्मीहरूले खनेर निकालेका हुन्, अन्य यात्रुलाई त्रिशूलीको भेलले बगाएर बालुवाले पुरेको हाम्रो आशङ्का छ ।’

दुर्घटना भएको २४ दिन पूरा हुँदा पनि नभेटिएपछि खोजीकार्यको तीव्रता घटेको छ । यद्यपि औपचारिक रूपमा खोज स्थगित नगरिएको डीआईजी केसीले बताए ।

सशस्त्र प्रहरीका गोताखोरहरूले डुङ्गाबाट दैनिक नियालिरहेका छन् । डीआईजी केसीले भने, ‘प्रहरीले आ–आफ्नो एरियामा बस फेला पर्न सक्नेबारे हेरिरहेका छन् । बेपत्ता बसको आकृत्ति देखिएमा उनीहरूले खबर गर्छन् अनि थप फौज पठाउँछौँ ।’

बेपत्ता बस खोज्न १७ जना गोताखोरले काम गरेका छन् । बसको खोजीमा सेनाका ८ जना गोताखोर घटनास्थलमा परिचालन गरिएको सैनिक प्रवक्ता (सहायक रथी) गौरव कुमार केसीले बताए । यस्तै सशस्त्रका ९ जना गोताखोर परिचालन गरिएको छ ।

त्रिशूलीको उच्च बहाव र चिसो पानीमा सुरक्षाकर्मीहरूले बस खोज्न नेपालमा उपलब्ध उच्च प्रविधिको प्रयोग गरेका छन् । भारतीय विशेषज्ञ र सशस्त्र प्रहरीका गोताखोरले सोनार प्रविधिको प्रयोग गरेर खोजी गरेका छन् । भारतीय विशेषज्ञले सोनारको अत्याधुनिक प्रविधि ल्याएर त्रिशूलीमा खोजी गरेका हुन् । धमिलो पानीले असर नगर्ने सोनार प्रविधिमार्फत पानीमा ट्रान्ससेन्डर पठाएपछि राडार सिस्टममा आकृति देखाउँछ । सोनारले स्क्रिनमा पठाउने आकृति यकिन गर्न सुरक्षा अधिकारीहरूले चुम्बकको प्रयोग गरेका छन् । खोजमा संलग्न एक जना अधिकृतले भने, ‘सोनारले आकृति देखाएर सङ्केत गरेको ठाउँमा सो आकृति फलाम हो कि होइन भनेर यकिन गर्न हामीले चुम्बक प्रयोग गरेका हौँ ।’

भारतीय विशेषज्ञले ल्याएको करिब २० केजीको चुम्बक नदीमा खसेर पुनः फेला परेको छ । सशस्त्र प्रहरीका गोतखोरले ‘अन्डर वाटर ड्रोन’ र ‘हुकिङ एङ्कर’ प्रयोग गरे । पाइप इन्फेक्सन क्यामेरा नदीको गहिराइमा पठाएर पनि खोजी गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए ।

न्यौपानेले भने, ‘सशस्त्रका गोताखोरले पाइप इन्फेक्सन क्यामेरालाई बाँस मार्फत नदीभित्र पठाएर बस खोज्न प्रयास गरे तर, फेला परेन ।’

सुरक्षाकर्मीहरूले खोजीमा मोटर डुङ्गा ‘जेट बोट’ र रबरको डुङ्गा प्रयोग गरे । नदी किनारको अवलोकनमा रबर डुङ्गा प्रयोग गरिएको खोजीमा संलग्न अधिकृत बताउँछन् ।

बस किन भेटिएन ?

त्रिशूलीको उच्च बहावका कारण खोजी असहज भएको खोजीमा संलग्न अधिकारी बताउँछन् । खाँेचका कारण सबै स्थानमा गोताखोर जान सक्ने अवस्था थिएन । चितवनस्थित सिमलताल, चनौली, देवघाट, गोलाघाट र पुल्चोक क्षेत्रमा सुरक्षाकर्मीहरूले अत्यधिक खोजी गरे । त्रिशूलीको छेउमा ५० फिटसम्म र अक्सिजन लगाएर नदीको बिचमा करिब २० फिटसम्म सशस्त्र र सेनाका गोताखोरले खोजी गरेका छन् ।

त्रिशूलीको संरचनाको अध्ययन अहिलेसम्म भएको छैन । यसको ‘ब्लेड’ (धार) परिवर्तन भइरहन्छ । उच्च बहावका कारण अडिएर सोनार प्रविधिको प्रभावकारी प्रयोग गर्न नसकिएको सशस्त्रका अधिकृत बताउँछन् ।

खोजमा संलग्न एक जना अधिकृतले भने, ‘तीव्र बेगमा सेनार प्रयोग गर्नुपर्छ अनि त्यसले स्टडी गर्नैै सक्दैन ।’

बस र यात्रु फेला नपर्नुमा त्रिशूलीको बहाव नै मुख्य कारण भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए । उनले भने, ‘गहिराइ र बेगको कारण बस र यात्रु फेला नपरेका हुन् ।’

दुर्घटना स्थलभन्दा तल काभ्रेघाट पुगेपछि त्रिशूलीको भङ्गाल बाँडिन्छन् । भङ्गाल बाडिने र निकुञ्ज क्षेत्रमा जङ्गली जनावरले आक्रमण गर्न सक्ने हुनाले सो क्षेत्रमा खोजी सहज हुँदैन ।

वर्षाको समयमा खसेका सवारी साधनका केही टुक्रा हिउँदमा भेटिन्छ तर, ती टुक्रा कुन सवारीको थियो भन्नेबारे पत्ता लगाउन कठिन हुन्छ । कवाड सङ्कलन गर्नेहरूले ती टुक्रा उठाएर लैजान्छन् ।

त्रिशूलीमा लामो समयदेखि उद्धारमा सक्रिय एक जना सशस्त्र प्रहरीका अधिकृत भन्छन्, ‘उच्च बहावका कारण ठोक्किँदा ठोक्किँदा सवारी साधन नदीको बेसमा पुग्छन्, ठुला ढुङ्गामा अड्किन्छन् ।’

उद्धारकर्ताहरू त्रिशूलीलाई ‘मिस्ट्री रिभर’ भन्छन् । ठुला ढुङ्गामा उच्च बहावले हान्दा सवारीसाधन टुक्रा भएर नासिने उद्धारकर्ता बताउँछन् । सशस्त्र प्रहरीका एक जना गोताखोर भन्छन्, ‘त्रिशूली सदाबहार तीव्र बेगमा बग्छ अनि सिटबाट धकेलेर शव निकाल्छ ।’

नारायणीको भँगालो हुँदै गण्डक नहर पुग्दा सवारीसाधन हराउने गरेको उद्धारकर्ताहरू सुनाउँछन् ।

उच्च बहाव र पानीको मात्रा अत्यधिक हुनाले दुर्घटना भएको बस र यात्रु फेला नपरेको बागमती प्रदेशका डीआईजी केसीले बताए । उनले भने, ‘पानीको बेगले बगाएर लैजाने र तलसम्म पुग्दा बालुवाले पुर्ने अवस्था बन्दोरहेछ ।’

कार्यदलको प्रतिवेदन तयार

सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन तयार गरेको छ । गृह मन्त्रालयले गठन गरेको सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले ‘प्राकृतिक प्रकोपको कारण दुर्घटना’ भएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदन तयार गरिएको अध्ययन कार्यदलका संयोजक रिजालले बताए । उनले भने, ‘गृहमन्त्रीज्यूको समय लिएर प्रतिवेदन बुझाउँछौँ ।’

हराएको बस र यात्रु फेला नपर्नुको कारणबारे पनि कार्यदलले अध्ययन गरेको छ । त्रिशूलीको गहिराइ र धमिलो पानीका कारण दुईवटा बस र यात्रु फेला नपरेको अध्ययन कार्यदलको निष्कर्ष छ । कार्यदलका संयोजक रिजाल भन्छन्, ‘त्रिशूलीको गहिराइ धेरै छ, धमिलो पानीको कारण खोज्न सहज देखिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप