शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

अमेरिका र क्यानडाका चर्चित विश्वविद्यालयको अध्ययन सामाग्रीमा छानियो ‘को–हजबेन्ड’

आइतबार, २० साउन २०८१, १६ : २५
आइतबार, २० साउन २०८१

काठमाडौँ । नेपालको बहुपति प्रथाका बारेमा गणेश पाण्डेले निर्माण गरेको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ अमेरिका र क्यानडाका चर्चित क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामाग्रीका रूपमा पठनपाठनमा सहभागी गराइदिने भएको छ । 

५६ वर्षअघि (सन १९६८ मा) अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र क्यानडाका विश्वविद्यालय र क्याम्पसहरुमा सन्दर्भ सामाग्रीका रूपमा पठनपाठनमा सहभागी गराउन लागेको खबर थाहा पाउँदा निकै खुसी लागेको को-हजबेण्डका निर्देशक पाण्डेले जानकारी दिए । ‘मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट सन्दर्भ सामाग्रीको रूपमा ‘को–हजबेण्ड’ रहनेछ’, उनले भने, ‘नेपालमा बनेको सामाग्री विश्वका चर्चित विश्वविद्यालयका लागि एजुकेशनल रिसोर्सेस हुनु देशका लागि पनि गर्वको कुरा हो ।’ यसबापत ‘को–हजबेण्ड’ टिमले रोयल्टी समेत प्राप्त गर्नेछ ।

को–हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ । यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।  

साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप