बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्री भट्टराईको सुमना लक्षित टिप्पणी : लोकप्रियतावादले मात्रै नेतृत्व गर्न सकिँदैन

आइतबार, २० साउन २०८१, १५ : ३१
आइतबार, २० साउन २०८१

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादले मात्रै समाजको नेतृत्व गर्न नसकिने बताएकी छिन् । पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले शिक्षकलाई अनावश्यक लाञ्छना लगाएर लोकप्रियता बटुले पनि समाजको नेतृत्व त्यसरी गर्न नसकिने बताएकी हुन् ।

पूर्वमन्त्री सुमना श्रेष्ठलक्षित गर्दै भट्टराईले भनिन्, ‘शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन् भन्ने, बेठिक हुन् भन्ने । तिनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने छ । लोकप्रियतावादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैन । हामी लोकप्रिय पनि हुनुपर्छ । व्यवहारिक पनि हुनुपर्छ ।’

उनले शिक्षामा राजनीतिकरण नभई दलीयकरण रहेको बताइन् । ‘शिक्षामा राजनीतिकरण होइन दलीयकरण छ । तपाईंले यो कुरा लेख्नुभयो भने मैले गाली खानुपर्छ । तर मैले भन्न खोजेको चाहिँ नीतिले त्यहाँ नेतृत्व गरेको छैन । कानुनले, संविधानले नेतृत्व गरेको छैन,’ उनले भनिन्, ‘नीतिले विश्वविद्यालय र विद्यालयको नेतृत्व नगर्दासम्म हाम्रो राज्यसँग शिक्षा क्षेत्र जोडिँदैन । राज्य र शिक्षा जोडिनुपर्‍यो । नेता र शिक्षा जोडिने होइन, दल र शिक्षा जोडिने होइन । त्यसपछि मात्रै शिक्षामा परिवर्तन सम्भव छ ।’

उनले शिक्षा क्षेत्रमा धेरै समस्या रहेको भन्दै ऐन मार्फत व्यवस्थित गर्दै लैजाने बताइन् । ‘शिक्षा क्षेत्रमा धेरै समस्याहरू छन् । पहिलो काम ऐन निर्माणलाई प्राथमिकता दिनुपर्छ । संसदीय समितिमा छलफलमा रहेका विधेयकहरू अगाडी बढाउन हामीले सहजीकरण गर्नुपर्छ,’ भट्टराई भन्छिन्, ‘हाम्रो उच्च शिक्षा राम्रो छैन । उच्च शिक्षामा पाठ्यक्रम समय सान्दर्भिक छैन । पाठ्यक्रम संशोधन गरेर लैजानुपर्छ । त्रिभुवन विश्वविद्यालयले ५ लाख विद्यार्थीलाई सेवा दिन्छ । यसलाई व्यवस्थित गरिएन भने विश्वविद्यालय प्रति आम मानिसमा फ्रस्ट्रेसन जान्छ । त्यसैले व्यवस्थित गर्नुपर्छ ।’ उनले उत्तरपुस्तिका हराएको घटनामा जो दोषी भए पनि कारबाही गर्ने चेतावनी दिइन् ।

एसइई र १२ कक्षाको नतिजामा आफू सन्तुष्ट नरहेको उनको भनाई छ । ‘एसईईको रिजल्ट होस् कि १२ कक्षाको रिजल्ट होस् हामी सन्तुष्ट छैनौँ । अब सिङ्गो परीक्षा प्रणालीलाई रिभ्यु गरेर लैजानुपर्छ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप