शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

कर्णालीमा ५ महिनामै कांग्रेसको सत्तामा पुनरागमन : मन्त्री बनेकाहरू को–कस्तो ?

आइतबार, २० साउन २०८१, १५ : ०१
आइतबार, २० साउन २०८१

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस ५ महिनाको अवधिमै सत्तामा पुनरागमन भएको छ । यसअघि ०८० फागुन २२ सम्म सत्तामै रहेको कांग्रेसले केन्द्रमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको थियो ।

आइतबार पुनः कांग्रेस सरकारमा सहभागी बनेको छ । केन्द्रमा कांग्रेस–एमालेको सत्ता समीकरण बनेपछि कांग्रेसको सरकारमा पुनरागमन भएको हो ।  ८ सदस्यीय कर्णालीको मन्त्रिपरिषद्मा कांग्रेसबाट चार जना मन्त्री सहभागी बने । 

जसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी नियुक्त भएका छन् ।  नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाइसकेका छन् । अब कांग्रेस–एमालेको गठबन्धनको सरकार चल्नेछ । 

कांग्रेसबाट सहभागी मन्त्री को–कस्तो ?

देश, विदेश डुलेका र आर्थिक रूपमा सम्पन्न व्यक्ति हुन्, आर्थिक मामिला तथा योजना मन्त्री बनेका राजीवविक्रम शाह । ललितपुरमा जन्मेका शाहको अहिले स्थायी ठेगाना जाजरकोटको शिवालय गाउँपालिका–९ हो । यद्यपि उनको घर भने उतै छ । सहरमै जन्मेका शाह ५० को दशकमा मात्रै पुर्ख्यौली थलो जाजरकोटतिर पुगेका थिए । 

पछि विदेशतिरको पढाइ सकेर ०६२/६३ मा शाह जाजरकोट फर्केर समाज सेवामा लागे । त्यही बेलादेखि कांग्रेससँग नजिक भएका थिए, शाह । शाहलाई विशेषगरी समाजसेवीका रूपमा चिन्ने गरिन्छ । स्नातकसम्मको अध्ययन पुरा गरेका शाहीले १ दर्जनभन्दा बढी देशहरूमा भ्रमण गरेका छन् । उनको राजनीतिक पृष्ठभूमि खासै लामो भने छैन । उनी ०७० मा जाजरकोट जिल्ला निर्वाचन क्षेत्र–२ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । 

अहिले पार्टीको केन्द्रीय सदस्य रहेका उनी विशेषगरी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरुजुका व्यापारी साझेदार हुन्, विश्वास पात्र पनि । ०७९ मा कर्णालीको मुख्यमन्त्री बन्ने उद्देश्यसहित आएका शाह जाजरकोट (ख) बाट प्रदेशसभा सांसद निर्वाचित भएका थिए । यद्यपि उनले प्रदेशसभा संसदीय दलको नेतामा दाबी समेत गरेका थिए । पछि जीवनबहादुर शाहीलाई समर्थन गरेर पछि हटेका थिए । उनी खेलतर्फ पनि अग्रसर छन् । 

सामाजिक विकास मन्त्री बनेका घनश्याम भण्डारी पूर्व पत्रकार हुन् । दुल्लु नगरपालिका–८, मा ०४० असार १४ गते जन्मिएका भण्डारी ०५६ सालमा नेविसंघको रत्नराज्य लक्ष्मी क्याम्पसको इकाई सचिव भए । उनी कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियन दैलेखको संस्थापक सभापति समेत हुन् । यस्तै पत्रकार महासंघको जिल्ला सचिव समेत बनेका भण्डारी पछिल्लो समय दैलेखमा देउवा पक्षको लिड गरिरहेका छन् । 

१२ र १३ औँ महाधिवेशनमा कांग्रेसको दैलेख २ को क्षेत्रीय सभापति रहेका उनी ०७४ मा दुल्लु नगरपालिकाको मेयर बनेका थिए । ०७९ मा दैलेख २ (क) बाट प्रत्यक्षतर्फ चुनाव लडेर निर्वाचित भएका उनी अहिले पनि प्रदेशसभा सामाजिक विकास समितिका सभापति समेत छन् ।

एमएसी सम्मको अध्ययन गरेका उनले शोसेक नेपाल नामक संस्थामा जागिर समेत गरेका थिए । खार्पुनाथ गाउँपालिका–१, हुम्लामा ०३५ साउन ८ गते जन्मिएकी जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा २०५९ सालदेखि सक्रिय रूपमा कांग्रेसको राजनीतिमा लागेकी महिला नेतृ हुन् ।

०६३ सालमा तरुण दलको जिल्ला सचिव भएकी उनी ०६३ सालमा महिला सङ्घ हुम्लाको सचिव हुँदै ०६४ सालमा महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।  यस्तै तरुण दलको केन्द्रीय महिला विभाग सदस्य, १४ औँ महाधिवेशनमा पार्टीको जिल्ला सचिव, १२ औँ महाधिवेशन महासमिति सदस्य हुँदै १३ औँ महाधिवेशन प्रतिनिधि बनेकी उनी समानुपातिक कोटाबाट प्रदेशसभा सांसद बनेकी थिइन् ।

उनी विशेषगरी निलम्बित कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको ‘लबिङ’ मा मन्त्री बन्न सफल भएको चर्चा छ । शाही र बुढाको जिल्ला एउटै हो ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका सुरेश अधिकारी ०४६ को जनआन्दोलनका क्रममा हिरासत समेत बसेका थिए । उनको राजनीतिक यात्रा त्यहीँबाट औपचारिक रूपमा सुरु भएको हो । 

उनी नेपाल विद्यार्थी सङ्घको तर्फबाट सल्यान बहुमुखी क्याम्पसको संस्थापक स्ववियु सभापति, नेपाल निजामती कर्मचारी सङ्घको संस्थापक सल्यान जिल्ला अध्यक्ष, शारदा नगरपालिका सल्यानको प्रथम नगर प्रमुख समेत भइसकेका छन् । काङ्ग्रेसभित्र प्रदेश संस्थापन इतर पक्षका उनी अहिले कांग्रेस सल्यानको प्रदेशसभा २ (ख) को क्षेत्रीय सभापति छन् भने सोही क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लडेर सांसद बनेका हुन् ।

०२५ माघ १४ गते सल्यानको शारदा नगरपालिका–२ मा जन्मिएका उनले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप