पेरिस ओलम्पिक : स्वर्ण पदकसँगै जीवनसाथी पनि पाइन् चीनकी हुआङले !
काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक चीनकी ब्याडमिन्टन खेलाडी हुआङ याक्वियोङका लागि अविष्मरणीय बन्न पुग्यो । उनले प्रतियोगितामा स्वर्ण पदक त जितिन् नै सँगसँगै जीवनसाथी पनि पाइन् ।
ब्याडमिन्टन खेलाडी हुआङले ब्याडमिन्टनको मिक्स डबल्स स्पर्धामा झेङ सिवेईसँग मिलेर स्वर्ण पदक जितेकी हुन् । उक्त जोडीले प्रतियोगिताको फाइनलमा दक्षिण कोरियाली खेलाडी किम वन हो र जोङ ना युनको जोडीलाई हराएको थियो ।
ओलम्पिकजस्तो ठुलो प्रतियोगितामा स्वर्ण जितेको खुसीयाली मनाउँदै गर्दा उनले अर्को अप्रत्याशित खुसी पनि प्राप्त गरिन् । पदक जितेपछि हुआङ खुसीयाली मनाउँदै थिइन् । त्यति नै बेला चीनकै ब्याडमिन्टन टोलीका अर्का खेलाडी लियु युचेन उनी नजिक आए ।
त्यसपछि लियु युचेनले घुँडा टेकेर हुआङसँग आफ्नो प्रेम पस्ताव राखे । लियु युचेनले घुँडा टेकर हुआङतर्फ औँठी पनि अगाडि बढाएका थिए । त्यतिबेला हजारौँ दर्शकले उनीहरुको गतिविधि नियाली रहेका थिए ।
खेलस्थलमै भएकाले टेलिभिजनमार्फत विश्वभर त्यो क्षणको प्रत्यक्ष प्रशारण पनि भइरहेको थियो । हुआङका लागि यो प्रस्ताव अप्रत्याशित थियो । त्यसैले सुरुमा उनी अक्क न बक्क भइन् । स्टेडियममा रहेका हजारौँ दर्शकले पनि उनीहरुको हौसला बढाइरहेका थिए ।
त्यसपछि निकै भावुक देखिएकी उनले लियु युचेनको प्रेम प्रस्ताव स्वीकार गरिन् । लियु युचेनले पेरिस ओलम्पिकमा पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । हुआङले आफ्ना लागि यो अप्रत्याशित क्षण भएको बताएकी छन् ।
‘मेरा लागि त्यो अप्रत्याशित क्षण थियो । म लामो समयदेखि ओलम्पिकको तयारीमा व्यस्त थिएँ । मैले अरू कुनै विषयमा सोच्ने समयसम्म पाएकी थिइन । मैले यो ओलम्पिकमा स्वर्ण पदक र जीवनसाथी दुवै पाएकी छु,’ उनले भनेकी छन् ।
Athletes took "The City of Love" too seriously✨ pic.twitter.com/JeWxdnL78H
— Ankita (@Ankinessss) August 3, 2024