शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कोशी सरकारमा सहभागी हुन कांग्रेसको शेखर समूहमै मिलेन कुरा

मुख्यमन्त्री कार्यालय भन्छ– सोमबार मन्त्रीमण्डल विस्तार हुनसक्छ
आइतबार, २० साउन २०८१, १५ : ३०
आइतबार, २० साउन २०८१

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौँ गएर सोमबार मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाउने कांग्रेसकै कतिपय नेताले बताएका छन् ।

यद्यपि कांग्रेसभित्र डाक्टर शेखर कोइराला समूहले मन्त्रीको नाम पठाउन अझै सकेको छैन । कांग्रेस र एमालेबिच भएको सहमति अनुसार कोशी प्रदेश सरकारमा कांग्रेसले चार वटा मन्त्रालय पाउने छ ।

चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी छ ।

शेखर कोइरालालाई आफ्नो समूहबाटै मन्त्री बन्ने आकाङ्क्षीको व्यवस्थापन गर्न गाह्रो भइरहेको कारण न्यूनतम २ जना मन्त्रीको माग गरिरहेको बताइएको छ ।

तर शेखर कोइराला समूहले भने चार जनामध्ये २ जना आफूहरूले पाउनु पर्ने अडान राखेको छ । कोइराला समूहबाट मन्त्री बन्ने दौडमा रामकुमार खत्री, मानबहादुर लिम्बू, गोविन्द गिरी र इन्दिरा थापाले जोडबल गरिरहेको स्रोत बताउँछ ।

शेखर कोइरालालाई आफ्नो समूहबाटै मन्त्री बन्ने आकाङ्क्षीको व्यवस्थापन गर्न गाह्रो भइरहेको कारण न्यूनतम २ जना मन्त्रीको माग गरिरहेको बताइएको छ ।

‘हाम्रो पक्षबाट मुख्य रूपमा चार जना मन्त्रीको आकाङ्क्षी हुनुहुन्छ । त्यसमध्ये १ जना छान्न गाह्रो छ । हामीले न्यूनतम हाम्रो समूहबाट २ जना मन्त्री बनाउनु पर्ने अडान राखेका छौँ,’ कोइराला समूहका एक नेताले भने ।

उता, देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदीपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गाम मन्त्री बन्ने लाइनमा छन् । यसअघि ताप्लेजुङका प्रहरी प्रमुखलाई काटमारको धम्की दिएको घटनामा हाङ्गामको संलग्नता रहेको सार्वजनिक भएको थियो । कार्की अघिल्लो प्रदेश सभाको कार्यकालमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए भने सुनुवार प्रदेश सभाको यही कार्यकालमा तीन पटक मन्त्री भइसकेका छन् ।

कोइराला गुटबाट मन्त्री बन्ने लाइनमा रहेका लिम्बू कोइराला गुटको पनि सुनिल शर्मा समूहका नेता हुन् । उदयपुरका खत्री भने यसअघि दुई पटक मन्त्री बनेका छन् । केदार कार्की नेतृत्वको सरकारका पालामा उनी उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका थिए । इलामका गिरी भने नयाँ अनुहार हुन् । थापाले केदार कार्की नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको भूमिका निर्वाह गरेकी थिइन् ।

यस्तै नेता सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली र खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका भुपेन्द्र राई छन् । दुई जनामध्ये एक जनालाई सिटौलाले मन्त्री बनाउने चर्चा छ ।

कोशी प्रदेश कांग्रेसको कार्यसम्पादन समितिको बैठकले लैङ्गिक र समावेशीतालाई ख्याल गरेर मन्त्री बनाउने निर्णय गरिसके पनि महिलाको नाम चर्चामा छैन । यद्यपि कांग्रेसमा महिलाहरूको तर्फबाट सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङकी शोभा चेम्जोङ, पाँचथरकी मैया श्रेष्ठलगायतले मन्त्री बन्न लविङ गरेको बताइन्छ ।

कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले पनि सम्भवतः सोमबार मन्त्रीको नाम फाइनल हुने बताए ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार विस्तार हुन अझै केही दिन लाग्ने बताए । ‘तत्कालै सरकारमा गइहाल्ने अवस्था देखिँदैन । अन्य प्रदेशहरूको टुङ्गो लागिसकेपछि अन्तिममा मात्रै कोशी प्रदेशको टुङ्गो लाग्छ,’ उनले भने, ‘अझै ४–५ दिन लाग्न सक्छ ।’

उता, मुख्यमन्त्री कार्यालय स्रोतले भने सोमबार अबेरसम्ममा कांग्रेसले मन्त्रीको नाम टुङ्गो लगाउने सूचना प्राप्त भएको बताएको छ । ‘सोमबारसम्ममा नाम दिने कुरा भएको छ । कांग्रेसको आन्तरिक किचलो बढेन भने भोलि (सोमबार) सरकार विस्तार हुनसक्ने सम्भावना छ,’ उक्त स्रोतले भन्यो ।

कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले पनि सम्भवतः सोमबार मन्त्रीको नाम फाइनल हुने बताए । ‘दलका नेता भोलि काठमाडौँ जाने र त्यहीँ मन्त्रीको नामावली टुङ्गो लगाउने कुरा भएको छ । सम्भवतः भोलि बेलुकासम्ममा नयाँ समाचार आउँछ,’ उनले भने ।

नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक गत सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा बसेको थियो । उक्त बैठकले एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी हुनेलगायतका निर्णय गरिसकेको छ ।

सो बैठकले सरकार निर्माण गर्दा समावेशी हुनुपर्ने, लैङ्गिक सहभागिता हुनुपर्ने लगायतको निर्णय गरेको छ । स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसबाट ४ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

हाल मुख्यमन्त्री कार्कीको नेतृत्वमा रहेको सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा क्रमशः रामबहादुर मगर, एकराज कार्की, लिलाबल्लभ अधिकारी र पाँच कर्ण राई मन्त्री छन् । राज्यमन्त्रीमा सिर्जना राई कायम छिन् ।

संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेश सभाबाट मुख्यमन्त्री कार्की वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् । गत असार १७ गते नयाँ गठबन्धन (एमाले र कांग्रेस) बनेसँगै असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् । सोही अनुसार कोशी प्रदेश सरकारमा पनि कांग्रेस सहभागी हुने अन्तिम तयारीमा छ । कोशी प्रदेश सरकारबाट माओवादी भने साउन ११ गते नै बाहिरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप