आवश्यकता गम्भीर आत्मसमीक्षाको
अहिलेको विश्व राजनीति, विज्ञान र प्रविधिको विकास, आम जनतामा प्रविधिको पहुँचलगायत सबै विषयलाई हेर्दा परम्परागत राजनीतिक दलको पक्षमा उभिने स्थिति छैन । एजेण्डा के छ ? व्यवहार के गरेको छ ? भन्ने कुरालाई जनताले मानक बनाउने भएकाले हिजोका राजनीतिक दलले नेतृत्व लिन सक्दैन ।
आजका जनता विचार वा उधारोको पक्षमा छैनन्, तत्कालीन मुद्दामा को खरो रूपमा उत्रिन्छ भन्ने विषय महत्त्वपूर्ण छ । उनीहरूमा राजनीतिक दल र नेतृत्व ठिक भएन भन्ने छ । त्यो चाहे कांग्रेस होस्, चाहे एमाले होस् वा चाहे माओवादीकै हकमा किन नहोस् ।
तर, देशको नेतृत्व गर्ने राजनीतिक दलले नै हो । सुशासन, सामाजिक न्याय, समृद्धि, ज्ञान, विज्ञान, रोजगारको पक्षमा दृढ रूपमा माओवादी उभिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको भ्रष्टाचार विरोधी आन्दोलनले आत्तिएर अनैतिक पृष्ठभूमिबाट नयाँ समीकरण बन्ने स्थिति बनेको जनताले विश्वास गरेका छन् । यसैलाई संगठित गरेर जाँदा ०८४ को निर्वाचनमा माओवादीप्रति जनता जाग्ने देखिन्छ ।
सरकारमा लामो समय बसियो तर पार्टी तेस्रो भयो । माओवादी नेतृत्वको सरकारले गरेको पछिल्लो कामले जनतामा सकारात्मक प्रभाव परेको छ । यसलाई नै संगठित गरेर ०८४ को निर्वाचनको तयारी गर्दा पार्टीलाई राम्रै हुन्छ ।
यसका लागि पार्टीलाई बलियो बनाउनुपर्यो । पार्टीभित्रका फरक विचारलाई एकताबद्ध गर्नुपर्यो । आन्तरिक अन्तर्विरोधलाई मसिनो गरी केलाएर हल गर्नुपर्यो । नेताहरूको योग्यता र क्षमता अनुसार जिम्मेवारी दिनुपर्यो । नेताहरूको कार्यविभाजन र कार्यविन्यास गर्नुपर्यो । एजेण्डा र मुद्दा मिल्नेहरू खासगरी समाजवादी मोर्चालाई कामकाजी बनाउनुपर्यो ।
मोर्चालाई बैठक बसेर समय कटाउने मात्र गर्नुभएन । मोर्चा गठनको औचित्य पुष्टि गर्न सक्नुपर्छ । ०८४ सम्म लम्बे अभियानमा हिँड्नु पर्यो । जनताले सुझाव दिन चाहेका छन्, गुनासा सुनाउन र आलोचना गर्न चाहेका छन् । पार्टीलाई बलियो बनाउन, संगठन विस्तार गर्न, हिमाल– पहाड र तराईमा अभियान चलाउनुपर्छ । यति भएमा माओवादी जाग्छ ।
- वैचारिक र एजेण्डाको हिसाबले माओवादी नै अग्रगामी
वैचारिक र एजेण्डाको हिसाबले पनि माओवादी अग्रगामी छ । आजको दिनमा एमाले वामपन्थी हो कि होइन भनेर सैद्धान्तिक बहस भएको छ । एमाले किन दलालसँग उभिएको छ ? वामपन्थी एलायन्सभन्दा विपरीत किन उभिएको छ ? यसबारे सैद्धान्तिक बहस खुलमखुला र मानिसले अनुभूति हुने ठाउँमा पुग्यो ।
अहिले बनेको केपी ओली नेतृत्वको सरकारबाट एमालेको वर्ग के हो भन्ने छर्लङ्ग देखिरहेको छ । मदन भण्डारीको जबज लुकाउने खालको समीकरण बनाएर त्यस प्रकारको वर्गको संरक्षणमा जाने, जुन वर्गीय धरातल हो त्यसलाई लत्त्याएर दलालहरूको क्याम्पमा उभिने–एमाले वामपन्थी हो कि होइन यसमा सैद्धान्तिक बहस गर्नुपर्ने देखिन्छ । माओवादी पनि वामपन्थी चरित्रको छ कि छैन बहस गर्नुपर्छ तर तुलनात्मक हिसाबमा एमालेभन्दा माओवादी नै वामपन्थी विचारको पक्षपोषक शक्ति हो भन्ने कुरा देखियो । माओवादी र एमालेभित्र पनि वामपन्थी विचारलाई रोक्नेसँग वैचारिक बहस चलाएर जाँदा ०८४ मा राजनीतिक, वैचारिक, सांगठनिक, एजेण्डागत तयारी पुग्छ ।
- माओवादीले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ
माओवादीले आफ्ना कमजोरीको गम्भीर समीक्षा, आत्मस्वीकारोक्तिसहित जनतामा जानुपर्छ । के कारण हामी कमजोरी भयौँ ? यद्यपि संसदीय राजनीतिको हामी कच्चा खेलाडी नै थियौँ, बुझेनौँ ।
पछिल्लो सबै घटनाक्रम जनताले बुझ्ने गरी परिवेश तयार भएको छ । आज यी सबै उपलब्धिहरू माओवादीले ल्याउँदा–ल्याउँदै पनि लाभ कांग्रेस र एमालेले लिए । कांग्रेस–एमाले समीकरण देशको हितमा छैन । यसले जनतालाई राम्रो शासन व्यवस्था दिन सक्दैन । जनताले सिधै देख्ने र हामीले बुझाउन सक्ने गरी अहिले राम्रो संयोग भएको छ । यी कुरा जनतालाई बुझाएर जान सकियो भने माओवादीलाई अवसर छ ।
भ्रष्टाचारविरोधी अभियान चलाउन सकियो भने राम्रो हुन्छ । जनताले सुशासन चाहेका छन् । समृद्धिको सुरुवात नै त्यहाँबाट हुन्छ । अहिले सत्य उठ्न नपाउँदै असत्यले सत्यको लुगा लगाएर संसार भ्रमण गरे जस्तो भयो ।
गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र नभई कांग्रेस र एमाले पनि जनतामा जान नसक्ने अवस्थामा छन् तर बाध्यात्मक रूपमा स्वीकारेका थिए भन्ने कुरा स्पष्ट भयो । यहाँसम्म आउँदा भ्रमको पर्दा च्यातिएको छ । यी सबै कुरा जनताले बुझेका छन् । तर हाम्रो पनि कतिपय कमिट्मेन्ट जनताले खोजिरहेका छन् ।
युवा विद्यार्थी, मजदुर, किसान लगायतका पेसागत जनवर्गीय संगठनहरुलाई एकताबद्ध गरेर संगठनात्मक स्वायत्तासहित परिचालन गर्ने, निर्देशन गर्ने, सिंगो पार्टी पङ्क्तिमा आशा जगाउने, सबैलाई अवसर दिलाउने, दुःख गरेकालाई संरक्षण गर्ने, सम्मानित हुने वातावरण बनाउने कुरामा हाम्रो कमजोरी भएका छन् ।
माओवादीको नेतृत्वमा सरकार हुँदा गरेका राम्रा कामका जनतासम्म लैजाने, सरकारको निरन्तर खबरदारी गर्ने र अघिल्ला कामको फलोअप गर्नुपर्छ । यसमा प्रचण्ड अझै पनि आशावादी छन् । सरकार छोड्नु परेकोमा उहाँमा कुनै निराशा देखिएको छैन । आजको समयका नेता प्रचण्ड नै हुन् । उहाँकै नेतृत्वमा पार्टीलाई गतिशील बनाएर लैजानुपर्छ ।
(रञ्जित तामाङ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । अध्यक्ष प्रचण्डसँगको भेटपछि कुराकानीमा आधारित सम्पादित विचार)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई अन्तर्गत ऋण सहायता लिन नहुने कांग्रेसको अडान छ : प्रवक्ता महत
-
अन्तर्राष्ट्रिय अदालतले पक्राउ पुर्जी जारी गरेपछि इजरायली प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया
-
एउटै शृंखलामा भिभियन रिचर्डसलाई पटक–पटक आउट गर्ने पाकिस्तानी क्रिकेटरको निधन
-
कमजोरी सच्याउन एमाले तयार छ : शङ्कर पोखरेल
-
सरकारमा रहेको पार्टीले सभा र र्याली गरेको भन्नेहरूलाई दरबारमार्गबाट फर्कायो एमालेले जवाफ
-
क्रेडिट रेटिङको प्रत्यक्ष फाइदा बैंकलाई, विदेशी ऋणमा डेढ प्रतिशतसम्म घट्ने