पेरिस ओलम्पिक : अमेरिकी जलपरी केटीको कीर्तिमानी प्रदर्शन
काठमाडौँ । चर्चित अमेरिकी पौडीबाज केटी लेडेकीले ओलम्पिक खेलकुदको इतिहासमा सर्वाधिक स्वर्ण पदक जित्ने महिला खेलाडीको कीर्तिमानसँग बराबरी गरेकी गरेकी छन् । उनले हाल फ्रान्सको राजधानी पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिकमा यस्तो कीर्तिमान बनाएकी हुन् ।
२७ वर्षीय अमेरिकी जलपरी केटीले महिला आठ सय मिटर फ्रिस्टायल स्पर्धामा स्वर्ण पदक चुम्दै यस्तो कीर्तिमान बनाएकी हुन् । जारी ओलम्पिकमै उनले यसअघि १५ सय मिटर फ्रिस्टायल स्पर्धामा पनि स्वर्ण पदक जितेकी थिइन् ।
आठ सय मिटर फ्रिस्टायल स्पर्धामा उनले निर्धारित दुरी पार गर्न आठ मिनेट ११.०४ सेकेन्ड समय खर्चिइन् । उनी लगातार चारवटा ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी पनि बनेकी छन् ।
ओलम्पिक खेलकुदको इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने उनी दोस्रो पौडी खेलाडी हुन् । यसअघि पुरुषतर्फ पनि हालसम्म अमेरिकी पौडीबाज माइकल फेलप्सले मात्र यस्तो उपलब्धि हासिल गर्न सकेका छन् ।
केटीले ओलम्पिक खेलकुदमा जितेको यो नवौँ स्वर्ण पदक हो । यसअघि तत्कालीन सोभियत सङ्घकी लारिसा लात्यनिनाले ओलम्पिकमा नौवटा स्वर्ण पदक जितेकी थिइन् । केटीले ओलम्पिकमा जितेको कुल पदक सङ्ख्या पनि १४ पुगेको छ ।
उनले सन् २०१२ को लन्डन ओलम्पिकमा आठ सय मिटर फ्रिस्टायल स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् । सन् २०१६ मा आयोजित रियो ओलम्पिकमा पनि उनले पाँचवटा पदक चुमेकी थिइन् । त्यो ओलम्पिकमा उनले दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर फ्रिस्टायल र चार गुना दुई सय मिटर फ्रिस्टायल रिलेमा स्वर्ण जितेकी थिइन् ।
त्यो ओलम्पिकमा उनले चार गुना एक सय मिटर फ्रिस्टायल स्पर्धामा रजत पदक पनि हात पारेकी थिइन् । उनले सन् २०२० को टोकियो ओलम्पिकमा पनि चारवटा पदक चुमेकी थिइन् । त्यो ओलम्पिकमा उनले आठ सय मिटर र १५ सय मिटर फ्रिस्टायल स्पर्धामा स्वर्ण जितेकी थिइन् ।
सोही ओलम्पिकमा उनले चार सय मिटर र चार गुना दुई सय मिटर फ्रिस्टायल रिलेमा रजत पदक पनि हात पारेकी थिइन् । जारी ओलम्पिकमा भने उनले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जितिसकेकी छन् ।
उनले आठ सय र १५ सय मिटर फ्रिस्टायल स्पर्धामा स्वर्ण, चार गुना दुई सय मिटर फ्रिस्टायल स्पर्धामा रजत र चार सय मिटर फ्रिस्टायल स्पर्धामा कांस्य पदक जितेकी छन् । ओलम्पिक खेलकुदमा सर्वाधिक पदक जित्ने खेलाडी भने अमेरिकी पौडीबाज फेलप्स हुन् । उनले ओलम्पिकमा २३ स्वर्णसहित कुल २८ पदक जितेका छन् ।
‘मेरा लागि यो महत्वपूर्ण उपलब्धि हो । यो सफलताले मेरो मनोबल पनि निकै उच्च बनाएको छ,’ जारी ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेपछि संक्षिप्त प्रतिक्रिया दिँदै केटीले भनेकी छन् ।