बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

‘जोगिन्दर’ले ल्याए गाईजात्रे झटारो ‘ठग–ठाग कम्पनी’

आइतबार, २० साउन २०८१, ०८ : १७
आइतबार, २० साउन २०८१

काठमाडौँ । हास्य र व्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक वर्ष विभिन्न हास्यव्यङ्ग्य सामाग्री भित्रिने गर्दछ । यस्तैमा लोकप्रिय कलाकार शिव शङ्कर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाइजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कमेडी ‘ठग –ठाग कोसेली’ ल्याएका छन् । दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र विकृति विसङ्गतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले उनले ‘ठग –ठाग कोसेली’ ल्याएका हुन् ।

विगत २२ वर्षदेखि नियमित नियमित व्यङ्ग्यका कोसेली दिँदै आएका जोगिन्दरको ‘ठग –ठाग कोसेली’ ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मलाई उनले ‘ठग –ठाग कोसेली’मा व्यङ्ग्यको मसला बनाएका छन् ।

लेखन, निर्देशन, प्रस्तुति समेत ‘जोगिन्दर’कै रहेको ‘ठग–ठाग कोसेली’मा प्यारोडी पनि छ । यसपटक उनले ‘काले केटाले’ भन्ने  चर्चित गीतमा प्यारोडी बनाएका छन् । गीतमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई उतारेका छन् । रिजालको ‘ठग– ठाग कम्पनी’ २२औँ कोसेली हो । गत वर्ष उनले ‘लुछाचुँडी’ ल्याएका थिए ।

जोगिन्दरको ‘ठग– ठाग कम्पनी’मा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले , सुरेश तिमिल्सेना, सिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धिरेन्द्र सिंह, साबित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेल रहेका छन् । ‘ठग– ठाग कम्पनी’को पोष्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो ।

गाइजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए । ‘अहिले यस्ता कोसेलीको ब्यवसायिकता त छैन’, रिजालले भने ‘बर्सेनि दर्शक श्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ ।’ दर्शकको मायाले गर्दा पनि यो बर्षपनि गाईजात्रे कमेडीमा निरन्तरता दिएको रिजालको भनाई छ । ‘हरेक वर्ष झैँ यो वर्ष पनि दर्शकले माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले थपे ।

विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् ।  शिवशंकर अहिले ‘नाचघरमा आयोजना हुने ‘गाईजात्रा कार्यक्रम’को तयारी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप