प्रभु शाह अप्रत्याशित निर्णय गरेर चर्चामा आइरहन्छन् । नेकपा माओवादी केन्द्रमा रहँदा डा. बाबुराम भट्टराई समूहनिकट मानिने उनी पार्टी विभाजन हुँदा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै बसे ।
पछि माओवादी र नेकपा एमालेको एकतापछि बनेको नेकपा विभाजन हुँदा प्रचण्डलाई पनि छाडेर केपी ओलीतिर लागे । मधेसमा एमालेको लहरै ल्याए । तर, निर्वाचनकै मुखमा उनले एमाले पनि छाडे ।
रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका उनी विजयी बने । अहिले आम जनता पार्टी खोलेर त्यसको अध्यक्ष रहेका प्रभु साह आफू एमाले बन्नु आफ्नो जीवनकै सबैभन्दा ठुलो गल्ती भएको भन्छन् । उनै साहसँग समसामयिक विषयमा रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश–
मुलुकका दुई ठुला दल मिलेर सरकार बनाएपछि तपाईंहरूजस्ता साना दललाई कतिको डर लागेको छ ?
दुई ठुला दलको सरकार भनेको अहिलेको प्रणालीको असफलता हो । यसको कुनै नैतिक धरातल छैन । निर्वाचनमा कुनै कांग्रेस र एमालेले मिलेर सरकार बनाउँछौँ भनेर भोट मागेका थिएनन् । यो जनताको मतको अपमान हो ।
निर्वाचनमा जसलाई हराउन हिँडे, उनीहरू नै मिलेर सरकार बनाउनु अनुचित भयो भन्ने तपाईंको भनाई हो ?
यस्तै नाटक गर्नु थियो भने निर्वाचन किन गरेको ?
राजनीतिक स्थिरताका लागि त ठिकै हो नि त ।
अस्थिरताको कारक नै कांग्रेस, एमाले हुन् । यिनीहरूले कुर्सीको मोह नदेखाएको भए अस्थिरता आउँथ्यो त ?
साना दलको चलखेलले राजनीतिक अस्थिर भयो, संविधानले काम गर्न छाड्यो, व्यवस्थामाथि नै प्रशस्त प्रश्नहरू उठ्न थाले, सुशासन कायम हुन सकेन, विकासले गति लिन सकेन । यो यथार्थ होइन र ?
ठुला दलबिना अहिलेसम्म सरकार नै बनेको छैन । अनि अस्थिरताको कारक साना दल मात्र कसरी ? यदि व्यवस्थाका कारण अस्थिर हो भने यो ल्याउने पनि ठुला दलहरू नै हुन् । संविधान बनाउने पनि यिनै ठुला दल हुन् । अनि दोषी को ?
एउटा सांसद बटारिँदा सरकार नै ढल्ने स्थितिबाट देशले मुक्ति पाएको होइन त ?
३२, २१, १० सिटको व्यक्ति प्रधानमन्त्री हुन्छ र? बहुमत नपाइ कोही प्रधानमन्त्री बन्न सक्छ र यो देशमा ? गठबन्धनको राजनीति गरेपछि त्यसभित्रबाट जो कोही पनि प्रधानमन्त्री बन्न सक्छ ।
लोकतन्त्रमा त बढी जनताको समर्थन प्राप्त दलले सरकारको नेतृत्व गर्नुपर्ने होइन र ?
कांग्रेस र एमाले मिल्ने जनादेश हो र अहिले ? जे शर्त राखेर निर्वाचन जित्नुभयो, त्यसलाई क्रस गर्न मिल्दैन । एमालेले निर्वाचनमा गठबन्धन गरेका राप्रपा, राप्रपा नेपाल, उपेन्द्र यादवहरूसँग मिलेर सरकार बनाउने हो । कांग्रेसले माओवादी, समाजवादीहरूसँग मिलेर सरकार बनाउने हो । जनादेश त त्यो हो नि ।
निर्वाचन लगत्तै गठबन्धन छाडेर प्रधानमन्त्री माग्न प्रचण्डजी केपी ओलीका जाने बित्तिकै त्यो त सकिहाल्यो नि ।
केपी ओलीले अर्काको गठबन्धनमा खेल्ने इन्ट्रेस्ट नदेखाएको भए, नैतिक र इमानदार भएको भए प्रचण्डजीलाई कार्पेट ओछ्याउनुहुन्थ्यो ? त्यो नगरेको भए सायद देउवा त्यतिबेलै प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो । देशले फरक बाटो समात्न पनि सक्थ्यो । ओलीजीले नै हो नि प्रचण्डको इन्ट्रेस्ट जगाइदिएको ।
भनेपछि कांग्रेस, एमालेको यो गठबन्धनबाट पनि आशा गर्न सकिँदैन त ?
पहिलो कुरा त यो कांग्रेस–एमालेको गठबन्धन नै होइन । यो देउवा र ओलीबिचको गठबन्धन हो ।
कुरो एउटै हो नि, अध्यक्ष, सभापति मिल्नु भनेकै पार्टी मिल्नु होइन र ?
आज एमाले, कांग्रेस बनाउने मानिसहरू पाखा लागेका छन् । देउवा र ओलीजीको इतिहास हेर्नुस् । साठी, एकसट्ठी सालतिर उहाँहरू त राजतन्त्रलाई निरन्तरता दिन चाहिरहनुभएको थियो । देशमा परिवर्तनको आन्दोलन भएका बेला उहाँहरूको भूमिका बिर्सनुभयो ? साठी, एकसट्ठी सालको देउवा नेतृत्वको सरकार सफल भएको भए देशमा जनआन्दोलन सफल हुन्थ्यो ? गणतन्त्र आउँथ्यो ?
साना दलले वाक्क दिक्क पारेर हामी मिलेको भन्ने तर्कलाई बेठिक भन्न मिल्छ त ?
सङ्ख्या उहाँसँग हुने, शक्ति उहाँहरूसँग हुने अनि अस्थिरताचाहिँ साना दलले कसरी ल्याउने ?
१७–१८ महिना सरकारको नेतृत्व गर्दा प्रचण्डजीले कति वटा पार्टनर फेर्नुभयो, त्यसलाई स्थिरता दिएको भन्ने ?
देउवा र ओलीले प्रचण्डलाई काँध नथापेको भए यो हुन्थ्यो त ?
अनि आफ्नो मुख्य प्रतिस्पर्धीलाई कमजोर बनाउन लाग्नु राजनीतिको नियम नै होइन र ? एमालेले गरेको त्यही त हो नि ।
अनैतिक बाटो हिँड्ने हो त ? छिमेकीकी श्रीमती राम्री छ भन्दैमा लगिदिने त ? राम्री छौ, रानी बनिहाल्छु भन्न मिल्छ ? पार्टी फुटाइदिने ? लडाइदिने ? षडयन्त्र, धोखा दिएर जित्न खोज्ने ?
यो सरकार कसरी बन्यो त ?
निहित स्वार्थ र व्यक्तिगत फाइदाका लागि बनेको हो । कुन घटनामा उहाँहरूको नाम जोडिएको छैन ? यसले देशलाई उल्टो बाटोतर्फ लैजान्छ । यो गठबन्धन जति समय रहन्छ देश र जनताले त्यति नै दुःख पाउँछन् ।
सच्चिएर राम्रो काम गर्न पनि त सक्छन् नि ।
सुध्रिने त कुरै छाड्नुस् बरु ठुला पार्टीका ठुला नेताहरूले सन्न्यास लिनुपर्छ । जनताको अभिमत बुझेर बरु राजाले दरबार छाडिदिए तर यिनीहरूले त्यति नैतिकता पनि देखाएनन् ।
अब यो अन्तिम विकल्प हो नगरी सुखै छैन । नत्र देश असफल हुन्छ भनिरहनुभएको छ त ?
उहाँहरूको लागि त अन्तिम नै हो । र, अन्तिम प्रयास गरिरहनु भएको छ, जुन असफल प्रयास हो । यसअघि पनि पटकपटक मिल्नै भएको हो नि । सबै ठाउँमा असफल हुनुभएकै हो नि ।
संविधान संशोधन गर्ने कुराचाहिँ उहाँहरू र तपाईंको मिल्यो ?
देशलाई यत्तिका समय गुमराह बनाउने संविधान किन बनाएको ? यस्तो संविधान बनाउनेलाई त अब दण्डित गर्नुपर्छ । उनीहरूले माफी माग्नुपर्छ । र, यो संविधान खारेज गर्नुपर्छ ।
यो संविधानमा के पुगेन ? अनि तपाईंलाई के चाहिएको ?
यो संविधानमा सबैथोक छ, त्यसकारण केही छैन । लोकतन्त्र नभएर दलतन्त्र भयो । गणतन्त्र भन्नुहुन्छ लुटतन्त्र मच्चाउनुहुन्छ ।
यसमा संविधानको के दोष ? कार्यान्वयन गर्नेको पो दोषी होला त ?
फ्याक्ट्री नै खराब भएपछि त्यसबाट उत्पादन हुने सामान राम्रो हुन्छ र ?
भनेको यो संघीय लोकतान्त्रिक गणतन्त्र नै फ्याँकिदिने ?
अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र त हुँदै होइन । यसमा कोही कन्फ्युजन नभए हुन्छ । अहिले लोकतन्त्र होइन, दलतन्त्र छ । जनताबाट निर्वाचित संस्था र व्यक्ति होइन, दलहरूको सर्वोच्चता छ । यस्तो कहीँ हुन्छ ? सांसदलाई पार्टीले हटाउँछ । त्यो जनअभिमतको अपमान होइन ?
यही व्यवस्था ल्याउन तपाईं जनयुद्ध नै लड्नुभयो । कतिले बलिदान दिए । अहिले आएर यो व्यवस्था खारेज गर्नुपर्छ भन्दा तपाईंलाई अलि असजिलो लाग्दैन ?
समानुपातिकतर्फ एमालेबाट एकनाथ ढकाल र कांग्रेसबाट आरजु राणा सांसद बन्छन् । यही हो समानुपातिकको मर्म ? प्रदेशको हालत के छ ? यस्तै व्यवस्थाका लागि लडेको हो ? नेताहरूले धोका दिए । अनि यो व्यवस्था खारेज नगरेर हुन्छ ?
फेरि सोध्छु, संविधानको गल्ती कसरी भयो ?
प्रतिनिधि सभामा समानुपातिकतर्फ एक सय १० सिट छ । गएको निर्वाचनमा १ करोड पाँच लाख भोट खस्यो समानुपातिकमा । यसलाई हिसाब गर्दा एउटा सांसद हुन करिब ९६ हजार भोट चाहिन्छ । एमालेले पाएको २८ लाख भोट । यसको हिसाब गर्दा एमालेले २९ सिट पाउनुपर्ने हो तर अहिले समानुपातिकमा एमालेका ३४ सांसद छन् । पाँचवटा सांसद अरूको खोस्ने ? श्रम चोर काम भएन यो ? कांग्रेसको पनि त्यही हो । अनि यस्तै संविधानले चल्छ ?
तपाईं केपी ओलीसँग व्यक्तिगत इगो नै छ है । निर्वाचनताका धोका दिनुभयो भन्ने छ ओलीजीको ।
निर्वाचन जित्न पार्टीको टिकटले नपुगेर गठबन्धन गर्छन् । ओलीजीले नै सात पार्टीको गठबन्धन बनाउनुभएको थियो । त्यस्तो बेला पार्टीको टिकट नै छाडिदिएँ । त्यसलाई धोका भन्छ ? ओलीजीले निर्वाचनताका अनैतिक काम गर्नुभयो । अनि मैले एमाले छाडिदिएँ ।
मुलुक अब दुई दलीय प्रणालीमा लैजाने हो, त्यसका लागि थ्रेसहोल्ड बढाउने, अनि आउँदो निर्वाचनमा तपाईंहरूजस्ता साना पार्टीलाई नामेट पार्ने । यो कुरा पो आइरहेको छ । के भन्नुहुन्छ ?
विनाशकाले विपरीत बुद्धि । निर्वाचनको समयमा एमाले महासचिव शंकर पोखरेलले मेराविरुद्ध धेरै लेखे । तर प्रभु साहले जित्यो, उहाँ कहाँ पुग्नुभयो ? शंकर पोखरेल मदन भण्डारीको विचारबाट च्यूत हुँदै हुनुहुन्छ । अहिले भर्खरै शंकर पोखरेलले लुम्बिनीमा के गर्नुभयो ? दलको नेतालाई छाडेर अर्कैलाई मुख्यमन्त्री बनाउनुभयो । हो, यही हो उहाँको असली चरित्र । यो कानुनी शासनको उपहास हो ।
तपाईंको पार्टी आम जनता पार्टी कता छ ? के गर्दैछ ?
हामी तेस्रो जनआन्दोलनको तयारी गर्दैछौँ । अहिले देशमा लुटकारी भगौडावादी दलतन्त्र छ । आन्दोलनले यसलाई हटाउँछ ।
एमाले महासचिव र तपाईंको भनाई एउटै भयो नि त दलविरुद्ध दल ।
दलले शासन गर्ने होइन नि । यहाँ मतदाताको अपमान भयो । दल भनेको त निर्वाचनसम्म मात्र हो । देश त निर्वाचन जित्नेलाई चलाउन दिने हो नि । तर यहाँ पार्टीका हरूवा नेताले निर्वाचित व्यक्तिलाई फिर्ता बोलाउने कुनै व्यवस्थामा हुन्छ ?
तपाईंको पार्टी एक सिटे छ, तयारी जनआन्दोलनको ?
मेरो पार्टीले निर्वाचन लडेकै छैन । अनि कसरी भन्नुहुन्छ कि ठुलो वा सानो पार्टी । म पार्टी बनाएर लडेको भए थाहा हुन्थ्यो ओलीजीहरूलाई कि प्रभु साह के हो ? पार्टीको टिकट छाडेर निर्वाचन जित्न सक्नुहुन्छ ओलीजीहरू ? प्रभु साहले त जित्यो ।
संविधान पुनर्लेखनको विषयमा उपेन्द्र यादव र तपाईं एकै ठाउँमा हो ?
प्रभु साह र उपेन्द्र यादवको तुलना नगर्दा राम्रो । प्रभु साह स्पष्ट छ । जे हो त्यही इमान्दिराताका साथ राख्छ । प्रभु साह बहुरूपी होइन र अवसरवादीको प्रतिनिधि पात्र पनि होइन ।
उपेन्द्र यादवचाहिँ त्यस्तै हुन् ?
उपेन्द्र यादवजी अवसरवादी नेता हो । उहाँले मधेस आन्दोलनलाई बेच्नुभयो । उपेन्द्रजी पहिला नाकाबन्दी गर्न जानुभयो । संविधान जलाउनुभयो । अनि ताखमा लड्काउनुभयो । अहिले भन्दै हुनुहुन्छ संविधान बचाउनुपर्छ । जलाएको संविधान कसरी बच्छ ?
मधेसी जनतालाई अधिकार दिलाउन, मधेस प्रदेश बनाउन त उपेन्द्रजीकै उपलब्धि हो नि ।
२२ जिल्लाको मधेसलाई आठ जिल्लामा ल्याउनु उपलब्धि हो ? पहिला १४ अञ्चलका अधिकांश सदरमुकाम मधेसमा थिए । राज्यको राम्रो उपलब्धि थियो । त्यही नेपालगञ्ज आज उजाड बनेको छ । उपेन्द्रजी आफैँले राजनीति गर्ने राजविराज हिजो ११ वटा जिल्लाको सदरमुकाम थियो आज राजविराज उजाड बनाइदिनुभयो । यही हो उपलब्धि ?
मधेसी दलहरूमा तपाईंको मित्र शक्तिचाहिँ को हो त ?
अग्रगामी सोच भएका सबै जनता । जनताको शासन चाहने सबै पार्टीभित्रका सबैजना मेरा मित्र शक्ति हुन् ।
प्रचण्डजीबारे त तपाई मौन रहनुभयो नि त ?
उहाँ अवसरवादी र समर्पणवादी नेता हो । कांग्रेस र एमालेले बनाएको संविधानमा प्रचण्ड र बाबुराम हस्ताक्षर गर्न गएर आत्मसमर्पण गरे । अनि प्रधानमन्त्री पड्काउने काम मात्र गर्नुभयो ।
मधेसमा कमजोर एमालेलाई बलियो बनाउन लाग्नुभयो । तपाईंले छाडेपछि एमाले त मधेसमा पहिलो दल नै बन्यो । अहिले त्यहीविरुद्ध लड्नुपर्दा कस्तो लागिरहेको छ ?
कम्युनिस्टको जनमतलाई सम्मान गर्दै एमाले भएको थिएँ । एमालेलाई स्विकार्नु मेरो जीवनको सबैभन्दा ठुलो गल्ती थियो ।
समाजवादी मोर्चामा सहभागी हुने सम्भावना कति छ ?
अहिलेको व्यवस्था पनि ठिक भन्ने अनि समाजवादी क्रान्ति पनि गर्छु भन्नेजस्तो बेइमान कुरा केही होइन । यही व्यवस्था ठिक छ भने किन समाजवादमा जानुप¥यो ? देउवा, ओलीकैजस्तो कुरा भयो यो त ।
प्रतिक्रिया