शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
हैजा

फैलिँदो हैजा नियन्त्रण गर्न व्यावसायिक पानीको नियमन कसको जिम्मेवारी ?

शनिबार, १९ साउन २०८१, १९ : ०७
शनिबार, १९ साउन २०८१

काठमाडौँ । पछिल्लो तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरसहित सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गरी जम्मा २५ जनामा हैजा देखिएको छ । हैजा पानीमा मिसिने दिसाजन्य पदार्थका कारणले हुने गर्दछ ।

बर्खा याममा खानेपानीको मुहानमा दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ ।

पानी उद्योगलाई नियमन गर्न प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ छ । सो निर्देशिका अनुसार पानीको नियमित गुणस्तर परीक्षण र अनुगमन भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दाबी गरेको छ ।

बर्खालाई मध्यनजर गर्दै विभागले प्रशोधित पिउने पानी (बोटल÷जार) उत्पादन तथा बिक्री वितरण गर्न प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधान पूरा गरेरमात्रै बिक्री वितरण गर्न आग्रह गरेर सूचना समेत जारी गरेको छ ।

विभाग वा मातहतका कार्यालयबाट अनिवार्य रूपमा खाद्य ऐन नियम अनुसार अनुज्ञापत्र लिई नवीकरण अद्यावधिक गराइमात्र उत्पादन तथा बिक्री वितरण गर्न प्रशोधित पिउने पानी उद्योगी, व्यवसायीहरूलाई आग्रह गरिएको छ ।

सो कार्य नगरे खाद्य ऐन अनुसार कारबाही हुने चेतावनी दिइएको छ । काठमाडौँ उपत्यकामा दैनिक २० लाख लिटरभन्दा बढी प्रशोधित पानी भनेर बिक्री गरिन्छ । सयभन्दा बढी पानीका उद्योग छन् ।  

waterjar_20220628143902

ललितपुरको गोदावारीबाट हैजा फैलिएको हुँदा त्यताका पानी उद्योगको अनुगमन नमुना सङ्कलन भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन् ।

पछिल्लो एक वर्ष यता हैजाका बिरामी प्रायः व्यावसायिक पानी खाएका भेटिएका छन् । स्कुल, सार्वजनिक स्थान, कार्यालयहरूमा किनेर पानी खाने प्रचलन छ । गर्मीमा खाने पानीको माग बढी हुन्छ । त्यसको माग बढी हुँदा पानीको सरसफाइ वा शुद्धीकरण हुन नसक्दा हैजाका बिरामी फेला पर्ने गरेको सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

‘सन् २०१५ मा पानीको जारबाट हैजा पत्ता लगाएको थिएँ । यद्यपि त्यो बेला खासै कसैले विश्वास गरेन । किनकि पानी किनेर खाँदा शुद्ध पानी हुन्छ भन्ने छ,’ उनले भने, ‘एक प्रकारले रेडी टु ड्रिङ्क हो । तर त्यो पानीको माग बढी हुँदा शुद्धीकरण नहुन सक्छ । त्यसकारण यो बेलामा खानेपानीमा व्यावसायिक रूपमा पानी बिक्री गर्नेहरूको अनुगमन गर्नुपर्ने देखिन्छ ।’

मनसुनमा खानेपानीको स्रोतहरूमा विभिन्न फोहोर मिसिने वा पानीको पाइपभित्रसमेत फोहोर मिसिन्छ । प्रयोग गर्ने भाँडा सफा हुन नसक्दा पानी फोहोर हुन्छ । अहिले काठमाडौँ उपत्यका लगायत कैलालीमा देखिएको हैजा देखिनुमा सरसफाइ अभाव नै मुख्य कारण रहेको विज्ञहरूले बताएका छन् ।

इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. मुकेश पौडेलका अनुसार हैजा नियन्त्रण गर्ने जिम्मेवारी सबैको हो । ‘हैजा नियन्त्रणमा सबैको उत्तिकै जिम्मेवारी हुन्छ । यहाँ सबैको समन्वय आवश्यक हुन्छ,’ उनले भने ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले बर्खामा सिधैँ इनारबाट खानेपानी प्रयोग गरेको पाइएको बताए । यसले हैजाको जोखिम निम्तिने उनको भनाइ छ ।

उनले भने, ‘हैजा फैलिन नदिन विभागबाट पानी परीक्षणको मोबाइल भ्यान, पानी निर्मलीकरण गर्ने पदार्थ जोखिम क्षेत्र वा सम्भावित क्षेत्रमा उपलब्ध गराइएको छ ।’

bottled-water-credit-CC-Myrtle-Beach-TheDigitel-viaFlickr-modified-1000

महानिर्देशक श्रेष्ठले विभाग अन्तर्गत व्यावसायिक पानीको निगरानी गर्ने अधिकार नरहेको सुनाए । खानेपानी मन्त्रालय अन्तर्गतका अन्य निकायले अनुगमन कार्य गरेको उनको भनाइ छ ।

  • कहाँ कति छन् हैजाका बिरामी ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा १६ जना, कैलालीमा ८ जना र काठमाडौँमा एक जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–१४ का १० जनालाई हैजा पुष्टि भएको हो । गोदावरीको एक पुनर्स्थापना केन्द्रका १६ वर्षीय युवालाई साउन ४ गते (जुलाई १९) टेकु अस्पताल ल्याइएको थियो । उनको परीक्षण गर्दा साउन ७ मा (जुलाई २२) गते हैजा पुष्टि भएको थियो । त्यसपछि पुनर्स्थापना केन्द्र बस्ने १० जनालाई हैजा देखिएको थियो । यस्तै, ललितपुरकै इमाडोल, ग्वार्को र चापागाउँका ४ जनामा हैजा पुष्टि भएको छ ।

यसैगरी, काठमाडौँको टोखा नगरपालिकाका १ जनाको दिसा परीक्षण गर्दा हैजा देखिएको छ । यता, कैलालीको धनगढी उपमहानगरपलिका–१ का ८ जनामा हैजा पुष्टि भएको छ । ललितपुर, काठमाडौँ र कैलालीमा देखिएको हैजा एक अर्कासँग सम्बन्धित नरहेको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. मुकेश पौडेलले बताए ।

  • हैजाबाट जोगिने उपाय

हैजा भनेको एक प्रकारको व्याक्टेरियाजन्य सरुवा रोग हो । जसले विशेष गरेर झाडापखाला गराउने गर्दछ । झाडापखाला पानीजन्य रोग अन्तर्गत पर्छ । यो रोग पानी र खाने कुराबाट फैलिन्छ । खासगरी सङ्क्रमित व्यक्तिको दिसा खानेकुरासम्म आइपुग्ने र पानी प्रदूषित भइसकेपछि मानिसले सेवन गर्दा हैजा रोग लाग्ने डा. पुनको भनाइ छ ।

डा. पुनका अनुसार हैजाको लक्षणमा चौलानी पानीजस्तो दिसा पटक–पटक निरन्तर आउँछ । मांसपेशी बाउँडिने, विशेष गरेर पैतालाको मांसपेशी र पेटको मांसपेशी बाउँडिने हुन्छ । योसँगै बान्ता हुन सक्छ । यो तीन वटा लक्षण हैजाका बिरामीलाई विशेष रूपमा देखा पर्दछ ।

पानी शुद्धीकरण गरेर पिउने, खानेकुरा राम्रोसँग पकाएर खान उनले सुझाएका छन् । व्यक्तिगत सरसफाइलाई ध्यान दिनुका साथै शौचालय व्यवस्थित बनाउनु पर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप