बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

नुवाकोट : अपराधमा दोषी ठहरिएका सात सय ७३ जना फरार

शनिबार, १९ साउन २०८१, १८ : ३५
शनिबार, १९ साउन २०८१

नुवाकोट । नुवाकोटमा भएका विभिन्न अपराधका घटनामा संलग्न रहेको पुष्टि भएका सात सय ७३ जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विगतदेखि हालसम्म विभिन्न अपराधमा दोषी ठहर भएका ती व्यक्तिलाई फैसला कार्यान्वयनका लागि खोजतलास भइरहेको छ ।

नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार कार्यसम्पादन फरार अपराधीको सङ्ख्या नौ सय १३ जना रहेको थियो । हालै सम्पन्न आर्थिक वर्ष २०८०/८१ मा एक सय २७ जनालाई पक्राउ गरिएको र १३ जना आफैँ न्यायालयमा हाजिर भएका छन् ।

जिल्लाको विभिन्न न्यायिक निकायको अन्तिम फैसलाबाट दोषी ठहर भएर फैसला कार्यान्वयन गर्नुपर्ने अपराधीको सङ्ख्या सात सय ७३ जना रहेका छन् । “पछिल्लो एक वर्षमा एक सय २७ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि सम्बन्धित न्यायालयमा बुझाएसँगै उनीहरूबाट ६८ वर्ष तीन महिना १३ दिन कैद कट्टाको प्रक्रियामा गएको छ ,” प्रहरी प्रमुख कोइरालाले भने, ‘पक्राउ परेकामध्ये न्यायालयबाट दोषी ठहरिएर जरिवाना तोकिएकाबाट रु २४ लाख १९ हजारभन्दा बढी भुक्तान भएको छ ।”

नुवाकोटका न्यायालयबाट दोषी ठहर भएका तथा अदालतमा अभियोग लागेका प्रतिवादीलाई पछिल्लो समयमा खोजतलास तथा पक्राउ गर्ने क्रम तीव्र बनाएसँगै फैसला कार्यान्वयनमा निकै सुधार आएको प्रहरीको दाबी छ ।

लामो समयदेखि फरार रहेकालाई सम्बन्धित न्यायालयमा उपस्थित गराउन तथा आफैँ न्यायालयमा उपस्थित हुन प्रहरीले चलाएको अभियानअन्तर्गत अघिल्ला वर्षको तुलनामा हालै सम्पन्न आर्थिक वर्षमा निकै सुधार आएको छ । फरार व्यक्ति पक्राउमा १० प्रतिशत र जरिवाना असुलीमा ४३ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्याङ्क छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप